गहुँ भनेर तस्करले ल्याए युरिया मल

हिमाल प्रेस २१ जेठ २०८० १८:०२
18
SHARES
गहुँ भनेर तस्करले ल्याए युरिया मल

काठमाडौँ- गहुँ भनेर युरिया मल भित्र्याउँदै गरेको अवस्थामा २ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। गहुँको बिल बनाएर युरिया मल ल्याउँदै गरेका २ सहित ४ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। आइतबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई पूर्वी नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दलदलेबाट खटिएको प्रहरीले नियन्त्रमा लिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बर्दघाटबाट काठमाडौँस्थित श्रेष्ठ किराना स्टोरको नाममा ४ सय २० बोरा गहुँको बील बनाएर ल्याउँदै गरेको युरिया मलसहित ना ६ ख ५२६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। यसअघि गत शुक्रबार पनि यसरी नै बील बनाएर अवैध रुपमा युरिया मल बोकेको ना ६ ख १८६४ नम्बरको ट्रकसमेत सोही बेसले नियन्त्रणमा लिइएको थियो।

यस्तै गत १९ गते शुक्रबार नै सशस्त्र प्रहरी बल नेपाल राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस पथलैयाले बच्चाको छाता बोकेको ट्रक नियन्त्रणमा लिएको थियो। राजश्व छलिको आशंकामा ना ७ ख ७२९० नम्बरको ट्रक बारास्थित पथलैयाबाट नियन्त्रणमा लिइएको हो। तीन वटै ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ।

यसैगरी गत १८ गते बिहीबार भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको ५५ लाख १२ हजार ९ सय ६२ रुपैयाँ बराबरको कपडा र मिनी ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालिनीमाई गण मोरङले नियन्त्रणमा लिएको थियो।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको ना ६ ख ६६६४ नम्बरको मिनी ट्रक आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्रले जानकारी दिएको छ।

प्रकाशित: २१ जेठ २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =