विश्वकपमा सन्दीपलाई खेलाउने सम्बन्धमा क्यानले निर्णय गर्ने

हिमाल प्रेस २ जेठ २०८१ १८:३८
76
SHARES
विश्वकपमा सन्दीपलाई खेलाउने सम्बन्धमा क्यानले निर्णय गर्ने

काठमाडौँ- बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएसँगै उनलाई विश्वकप टोलीमा समावेश गर्ने निर्णय गर्न नेपाल क्रिकेट संघ (क्यान) को बैठक बस्ने भएको छ।

क्यानले छिटै बोर्डको बैठक राखेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने जनाइएको हो। नवौँ संस्करणको आईसीसी टी–२० विश्वकप आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजले संयुक्त रुपमा आयोजना गर्दै छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यस पटकको विश्वकपका लागि खेलाडीहरुको अन्तिम नामावली घोषणा गर्न मे १ तारिखसम्म समय दिएको थियो।

क्यानले पनि सो समयभित्रै १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ‚ जसमा सन्दीप बलात्कार मुद्दामा मुछिएका कारण परेका छैनन्। अदालतबाट सफाइ पाएपछि सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना देखिएको छ।

विश्वकपमा सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न भने सकिन्छ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ। उक्त अवधिभित्र विश्वकप खेल्ने कुनै पनि राष्ट्रले आफ्नो टोलीका खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ।

तर मुद्दा सरकारवादी भएकाले उच्च अदालतबाट सफाइ पाएका सन्दीपविरुद्ध सरकारी वकिलले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बाटो खुला छ।

प्रकाशित: २ जेठ २०८१ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =