नेतृत्वप्रतिको वितृष्णा हटाउन कांग्रेसको रूपान्तरण अभियान : नेता केसी

हिमाल प्रेस २० जेठ २०८० २०:४४
2
SHARE
नेतृत्वप्रतिको वितृष्णा हटाउन कांग्रेसको रूपान्तरण अभियान : नेता केसी

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले पार्टी शुद्धीकरणका लागि रूपान्तरण अभियान तीव्र पारेका छन्। मधेश प्रदेशको जनकपुरबाट सुरु भएको अभियान बागमती प्रदेशको काठमाडौँमा सम्पन्न भइसकेको छ।

रूपान्तरण अभियान शनिबार पोखरामा आयोजना गरिएको छ। पोखरामा आयोजित कार्यक्रममा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले अभियानले नेतृत्वप्रतिको वितृष्णा सम्बोधन गर्ने बताए।

नेतृत्वले सबैलाई समान व्यवहार नगर्दा विद्रोह गरेर परिवर्तित कांग्रेसको रूप देखाउन आफूहरू देशभरका वडावडा तहसम्म पुग्ने प्रतिबद्धता केसीले गरेका छन्। उनले भने, ‘हामीप्रति आस्थावान् साथीहरुको उच्चतम सहभागिता देख्दा अभियानले सार्थकता प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।’

नेता केसीले समुन्नत नेपाल र सम्मानित नेपाली, समयानुकूल नीतिका साथै नीतिअनुरूप रणनीति, भ्रातृ संस्थाहरूको पुनर्जीवन, अवसरको समानता, सन्तुलित विदेश नीति, सेवामुखी राजनीति, उद्यमशील पार्टी सदस्यलगायतका उद्देश्यसहित अभियान सञ्चालन गरिएको बताए।

उनले नेतृत्वप्रतिको वितृष्णाका कारण कार्यकर्ता आएको विचलनलाई सम्बोधन गर्नु आफूहरूको प्रमुख जिम्मेवारी रहेको बताएका छन्।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले भने, ‘जुन चरित्रबाट पार्टी चलिरहेको छ, त्यसबाट कार्यकर्ता तहमा उत्साह छाएन, चाल, चेहरा र चरित्र फेर्न जरुरी छ, यसैका लागि हो अभियान।’ नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नका लागि मात्र अभियान थालेको नभई संगठन जोगाएर पार्टीको साख माथि पुर्‍याउने प्रयासमा जुटेको उनको भनाइ थियो।

नेतृत्वका लागि खबरदारी हो भन्दै उनले भने, ‘आफैँ सच्चिए राम्रो, नत्र विधान अनुसार नै अविश्वास ल्याउने वा विशेष महाधिवेशन बोलाउने काम पनि हुन्छ।’

पूर्वकेन्द्रीय सदस्य गुरु घिमिरेले पार्टीमा विचारको पुनरव्याख्या र संगठन पुनर्गठन जरुरी रहेको बताए। अरु पार्टीका नेताभन्दा रामचन्द्र पौडेल र शेरबहादुर देउवाको उचाइ अब्बल रहनु पार्टीको उज्यालो पक्ष रहे पनि केन्द्रीय समितिको बैठक नै नबस्ने, कार्यकर्ताको भावना नसमेट्ने जस्ता विषय अँध्यारो पक्ष रहेको उनको भनाइ थियो।

अभियानका गण्डकी संयोजक देवराज चालिसेले पार्टीले लिएको यथास्थितिको नीति र थितिबाट पार्टी र मुलुक अगाडि बढ्न नसक्ने भनाइ राखे।

चालिसेले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नै मानव तस्करीका आरोपित छन्, डामिएका व्यक्तिले नेतृत्व गरेको आयोगबाट केही हुँदैन, भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र र शक्तिशाली संयन्त्र चाहिन्छ।’

कार्यक्रममा सहभागी वक्ताहरुले नेतृत्व बदलिन तयार नभए कार्यकर्ताहरु नेतृत्व बदल्न बाध्य हुने चेतावनी दिएका थिए। कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, नेताहरु कृष्ण केसी, विष्णुदेवी पाण्डे, रघुनाथ पौडेल, खगेन्द्रराज रेग्मी, वैकुण्ठ न्यौपाने, भोजराज अर्याल, वसन्त सिके, केबी भण्डारी, नारायणमणि लामिछाने, झल विक, नवीन श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, भेषबहादुर पौडेलले सुझाव दिएका थिए।

प्रकाशित: २० जेठ २०८० २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =