गलकोट दरबार संरक्षणपछि हरिचौर बजारमा पर्यटक बढे

हिमाल प्रेस १९ जेठ २०८० ७:२६
12
SHARES
गलकोट दरबार संरक्षणपछि हरिचौर बजारमा पर्यटक बढे

गलकोट– बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार यतिबेला पर्यटकीय हब बनेको छ। हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो।

पुरानो सदरमुकाम, गलकोट दरबार र अहिलेमात्रै पर्यटकीय गन्तव्यका रूपमा थपिएको टेउवाको खुला मूर्तिकला संग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ।

हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ। अहिले गलकोट दरबारमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ।

दरबार अवलोकन गर्ने पर्यटकको संख्यामा वृद्धि भएसँगै दरबार संरक्षण गर्न थालिएको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेशबम मल्लले बताए।

जीर्ण बन्दै गएको बागलुङको गलकोट दरबारका यस वर्ष पाँच झ्याल पुरानै शैलीमा फेरिएको मल्लको भनाइ छ। दरबारको वरपर फैलिएको बगैँचामा अहिले सुन्तलाका बोटसमेत हुर्किरहेका छन्।

‘दरबार १ सय २ वर्ष पुरानो हो, यहाँ सिमेन्टको प्रयोग गरिएको छैन, नितान्त स्थानीय कच्चा सामग्रीको प्रयोग गरेर बनाइएको छ, बगैँचालाई व्यवस्थित गराउन सुन्तलासमेत रोपिएको छ,’ मल्लले भने, ‘दरबार संरक्षण गर्नका लागि यहाँ सिसौको काठ खोजिरहेको छु, पुरानै शैलीमा झ्याल तथा ढोका फेर्न आवश्यक छ, अहिले पाँचवटा मात्रै झ्याल फेर्न सके पुरानै शैलीमा निर्माण गर्दा झ्याल तथा ढोका निकै खर्चिलो रहेछ।’

दरबार हेर्न आउनेहरूले इतिहासको विषयमा खोजी गर्ने भएकाले दरबारको विषय समेटिएको सूचना पार्टी राख्ने, पुरानो पोखरी पुनःनिर्माण गर्ने र दरबार क्षेत्रमा भएको फलफूलको बोटलाई व्यवस्थित गराने योजना रहेको उनको भनाइ छ।

बिदाको समयमा दरबार घुम्न आउने पर्यटकको संख्या सबैभन्दा बढी भएको उनले जनाए। हजुरबाले राज्य गरेको स्थानलाई पर्यटकीय केन्द्र बनाउने गरी आफूले माछापोखरी बनाएर विभिन्न प्रजातिका माछासमेत पालेको बताए।

‘दरबारनजिकै माछापोखरी थियो रे, यसैले अहिले बाबुबाजेको सम्झनाका लागि माछापोखरी बनाएको हुँ, यहाँ रंगीन माछा छन्, जुन खानका लागि भन्दा पर्यटक आकर्षित गर्नका लागि हो,’ मल्लले भने, ‘दरबारको रेखदेख गर्ने जिम्मा मेरै काँधमा छ, मैले दरबारलाई पुरानै अवस्थामा राख्न व्यक्तिगत खर्चमा काम गरिरहेको छु, दरबार पुनःनिर्माणका लागि काठको खोजीसमेत भइरहेको छ।’

उक्त गलकोट दरबार र जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ। ०३९ सालमा राजा भरतबमको निधन भएको थियो। राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधवबम मल्लको काँधमा आएको थियो। परिवारसहित दरबारमा बस्दै आएका मल्लको सशस्त्र द्वन्द्वका समयमा ०५९ वैशाखमा हत्या भएको थियो।

यसपछि मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गए पनि संरक्षणका लागि राजाका नाति मञ्जेशबम मल्ल समय–समयमा दरबारमा आएर बस्ने गरेका थिए। कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएकाले उक्त दरबार अध्ययन गर्ने थलोका रूपमा समेत विकसित भइरहेको छ।

१९७९ सालमा ढुंगा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडौँ र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन्। तस्बिरमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्दा फरक अनुभूति भएको बागलुङ बजारबाट गलकोट दरबार हेर्न पहिलो पटक पुगेका दिलीप प्रतेलले जानकारी दिए।

‘टिकटक र सामाजिक सञ्जालमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो। यसको पुनःनिर्माण गर्न आवश्यक छ। केही कामको थालनी भएको रहेछ, दरबार संरक्षण र प्रचार गर्न सके धेरै पर्यटक बोलाउन सकिने सम्भावना छ,’ उनले भने।

दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार घुम्दा आनन्दित भएको उहाँको भनाइ छ। बाबुको हत्यापछि विस्थापित परिवार नफर्कंदा दरबारको विभिन्न संरचना लथालिंग भए पनि पछि नाति मन्जेशबम मल्ल आएर दरबारलाई संरक्षण गर्न थालेका हुन्।

०१७ सालसम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालनसमेत भएको स्थानमा पछि बागलुङको जिल्ला सदरमुकाम रहेको थियो। ०१९ सालमा बागलुङ सदरमुकाम हरिचौर बजारबाट बागलुङ बजार सारिएको हो।

पर्यटकीयस्थल घुम्टेपहाडको काँधमा रहेको गलकोट दरबार, हरिचौर बजार, गाईघाट झरना र गलकोटकै सहस्राधारा झरनाले गलकोटमा पर्यटकलाई आकर्षित गरिरहेको गलकोट नगरपालिकाका प्रवक्त हेमन्त भण्डारीको भनाइ छ। -रासस

प्रकाशित: १९ जेठ २०८० ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =