‘अर्थतन्त्र सुधारका लागि एउटा बजेट पर्याप्त हुँदैन’

हिमाल प्रेस १७ जेठ २०८० १२:२९
6
SHARES
‘अर्थतन्त्र सुधारका लागि एउटा बजेट पर्याप्त हुँदैन’

काठमाडौँ–  लामो समयदेखि अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पर्दै आएकाले सुधारका लागि एउटा मात्रै बजेट पर्याप्त नहुने विज्ञहरूले औँल्याएका छन्।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्र ‘पोलिसी ट्रयाप’मा परेको बताएका हुन्।

यसको असर आगामी वर्षका लागि आएको बजेटमा प्रष्ट देखिएको उनीहरूको भनाइ छ। गलत शासकीय अभ्यास, पुँजीगतभन्दा ऋण भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालु खर्चको आकार धेरै भएकाले अर्थतन्त्रमा समस्या बहुआयामिक देखिएको उनीहरूको टिप्पणी छ।

अधिकारले संरचागत समस्याबाट उम्किनका लागि ठूलो नीतिगत फड्को आवश्यकता देखिएको बताए। ‘बजेटले यसमा केही कुरा संकेतचाहिँ गरेको छ,’ उनले भने।

खर्च कटौती घोषणा गरेको सरकारले पुँजीगत खर्च झन् धेरै घटाएर विनियोजनमा कुशलता नदेखाएको उनको भनाइ छ।

०६३ सालपछिको शासकीय अभ्यासका कारणले गर्दा अर्थतन्त्र ‘पोलिसी ट्रयाप’मा परेको र त्यसको असर अहिले झन् बढ्दै गएको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ छ। उत्पादनभन्दा पनि वितरणमूखी कार्यक्रममा प्रतिस्पर्धा भएकाले यस्तो अवस्था आएको उनको भनाइ छ।

‘द्वन्द्वको समस्या समाधान गर्नका लागि जे गर्दा समाधान हुन्छ त्यही गरियो। यसले नीतिलाई वितरणमूखी बनायो र उत्पादनमूलक नीति छायामा पर्‍यो। लोकप्रियताको होड पनि भयो। कतिपय विपतको समयमा लिएका नीतिले पनि समस्या ल्याए। भूकम्पपछिको निर्माणमा ऋण लिएर हामीले अनुदान दिने प्रतिस्पर्धा गर्‍यौं र पोलिसी ट्रयापमा परियो,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =