आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् : अर्थमन्त्री महत

हिमाल प्रेस २७ मंसिर २०८० १४:५८
14
SHARES
आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका हरेक सूचक सकारात्मक हुँदै गएको बताएका छन्। अर्थ मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताएका हुन्।

‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन्। कोभिडका बेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएकाे असर व्यवस्थापनमा कसिलो नीति लिनुपर्दा केही समस्या सिर्जना भएका थिए,’ अर्थमन्त्री महतले भने, ‘सेयर बजारले सकारात्मक लय समातेको छ र जग्गा कारोबार पनि बढ्ने क्रममा छ।’

उनले उत्पादन वृद्धि र रोजगार वृद्धिका लागि केही समय लाग्ने बताए। मौद्रिक नीतिबारे अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग निरन्तर छलफलपछि अहिले केही निर्णय आएको र यसले बैंक वित्तीय संस्थामा ब्याजदर घटाउन मद्दत पुर्‍याएको अर्थमन्त्री महतको भनाइ छ।

राष्ट्र बैंकले नीतिगत दर घटाएपछि बैंकको ब्याजदर पनि घट्दो क्रममा छ। वित्त नीतिले अवलम्बन गरेका सुधारका कार्यक्रमले पनि बिस्तारै नतिजा देखाउँदै गएको अर्थमन्त्री महतको भनाइ थियाे।

‘वित्त नीति कार्यान्वयनका लागि विभिन्न कार्यविधि बनेका छन्। केही बन्ने क्रममा छन्। ठेक्का प्रक्रिया छिटोछरितो रूपमा अघि बढिरहेका छन्। यसबाट पनि बजारमा प्रशस्त पुँजी प्रवाह हुने हाम्रो अपेक्षा छ। विदेशी सहायताका क्षेत्रमा पनि हाम्रो नीति र प्राथमिकता बदलिएको छ,’ महतले भने।

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्र सुधारका थप कार्यक्रम ल्याउने गरी सरकारले आन्तरिक तयारी गरिरहेको पनि अर्थमन्त्री महतले बताए।

महतले वर्षौंदेखि थपिँदै र बढ्दै आएका समस्याबाट एकैपटक पार पाउन नसकिएको धारणा राखे। ‘त्यसलाई एकैपटक हल गर्छु भन्नु सम्भव थिएन। तर समस्या बिस्तारै हट्दैछन्। अहिलेका उपलब्धिबाट हामी सन्तुष्ट छौँ भन्ने होइन, तर अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ,’ उनले भने।

चालु खर्चलाई सीमामा राखेको र पुँजीगत खर्च बढाउनतर्फ लागेको मन्त्री महतको भनाइ छ। चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा राजस्व संकलन पनि बढेको अर्थमन्त्री महतले बताए। यो अवधिसम्ममा राजस्व संकलन ७.५७ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ। त्यस्तै भन्सार राजस्व १३ प्रतिशतले, मूल्य अभिवृद्धि कर ७. १९ प्रतिशत र आयकरतर्फ १२ प्रतिशत बढेको उनले बताए।

सरकारले सुरू गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरी सरकार र निजी क्षेत्रबीच उच्चस्तरको समन्वय कायम गर्ने गरी काम गरिरहेको महतको भनाइ छ।

सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ। लगानी सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइने मन्त्री महतले बताए। लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागिपरेको महतले बताए।

‘दीर्घकालमा आर्थिक सुधारसँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गरिनेछ। जलविद्युतको विकास, पर्यटन, कृषिको व्यावसायिकीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर सम्भावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिनेछ,’ उनले भने।

एनसेल खरिदबिक्रीमा नेपालको कानुनभन्दा बाहिर गएर कुनै पनि गतिविधि हुन नदिने अर्थमन्त्री डा. महतले बताए। उनले भने, ‘कानुन मान्छु भनेर आएको कम्पनीले अहिले मान्दिनँ भन्न पाउँदैन। नियामकले यस विषयलाई गम्भीर रूपमा हेर्छ। कानुनअनुसार उठाउनुपर्ने कर एनसेलबाट उठाउँछौँ।’

प्रकाशित: २७ मंसिर २०८० १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =