विपत्‌को जोखिम

विपद् प्रतिकार्यका लागि जुट्यो सुर्खेत

रमा केसी १४ जेठ २०८० १७:३५
40
SHARES
विपद् प्रतिकार्यका लागि जुट्यो सुर्खेत वीरेन्द्रनगर–९ लाटीकाइलीमा जमिन जोगाउन बनाइएको तटबन्ध। तस्बिर : सिर्जना बुढाथोकी

सुर्खेतमा विभिन्न गैरसरकारी संघसंस्थासँग समन्वय गरी विपद् जोखिम व्यवस्थापनका लागि तयारी थालिएको छ। जिल्ला प्रशासन कार्यालयले शिक्षा, स्वास्थ्य, खानेपानीसँग सम्बन्धित विषयगत कार्यालय र विपद् प्रतिकार्यका लागि काम गर्ने सुन्दर नेपाल संस्था, समाज जागरण केन्द्र (स्याक), रेडक्रसलगायत संघसंस्थासँग मिलेर विपद् प्रतिकार्यका लागि कार्ययोजना बनाउने काम सुरु गरेको छ।

‘विपद व्यवस्थापनका लागि हामीले तयारी थालिरहेका छौँ,’ जिल्ला प्रशासनका कार्यालयका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले भने, ‘अहिले वन, प्रहरीलगायतसँग मिलेर वनमा लागिरहेको आगलागी नियन्त्रणको काम गरिरहेका छौँ।’

विपद् प्रतिकार्य योजना पहिलो चरणको तयारीमात्रै थालिएको जिल्ला विपद् व्यवस्थापन समितिका विपद् फोकल पर्सनसमेत रहेका देवकोटाले बताए। वर्षाको समयमा किसानले लगाएको बालीनाली नष्ट पार्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले तटबन्ध गर्नेलगायत काम गरिरहेको उनको भनाइ छ।

विपद् जोखिम व्यवस्थापनमा काम गर्ने गैरसरकारी संघसंस्थालाई विपद्को समयमा आइपर्ने जोखिम नियन्त्रणका लागि तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिकाले विपद् ऐन बनाएर काम गरेको छ। नगरप्रमुख मोहनमाया ढकालका अनुसार विभिन्न विपद् व्यवस्थापन समिति गठन गरेर तयारी अवस्थामा राखिएको छ। ‘हामीले विपद् जोखिम व्यवस्थापन सामग्री तयारी अवस्थामा राखेका छौँ,’ उनले भनिन्, ‘नगरपालिकाका खोला क्षेत्र विशेषगरी जोखियुक्त छ। हामीले आइपर्ने विपद् नियन्त्रणका लागि काम गरिरहेका छौँ।’

नगरपालिकामा वर्षाको समयमा बाढी र पहिरोको जोखिम भएको भन्दै नगरप्रमुख ढकालले यसका लागि विपद् प्रतिकार्य योजना बनाएर काम गरिरहेको बताइन्।

प्रदेश राजधानी कायम भएसँगै वीरेन्द्रनगरमा आवास निर्माण क्रम पनि बढ्दो छ। पानी सोस्ने खाली जमिनमा घर निर्माण हुनु र खोला क्षेत्र अतिक्रमणमा पर्नुले पानीलाई सहज बग्न अवरोध हुने गरेको छ। इत्राम, नेवारे, खोर्केखोला उपत्यकाका मुख्य खोला हुन्।

उपत्यकाबाट पानी बाहिरिने द्वारलाई ‘निकास’ खोला भनिन्छ। जुन द्वार निकै साँघुरो छ। ‘निकास खोला सानो हुँदा लगातारको वर्षालाई थेग्न गाह्रो हुन्छ,’ वीरेन्द्रनगर– ९ का वडाध्यक्ष ऋषि गिरीले भने, ‘निकास क्षेत्रलाई फराकिलो बनाउन सकेको भए जोखिम कम हुन्थ्यो।’

उपत्यकाभित्रबाट बग्ने इत्राम, नेवारे र खोर्केखोला आसपासका बासिन्दा कटानको उच्च जोखिममा छन्। भीषण वर्षा आएमा यी खोलाले कटान क्षेत्र बढाउने गरेका छन्। ‘अतिक्रमणकारीले खोला क्षेत्रमा बाँस रोप्ने, साँघुरो पार्नेलगायत काम गरिरहेका छन्,’ पर्सेनीका पूर्णबहादुर शाहीले भने, ‘खोला क्षेत्र सबैको साझा हो। तत्कालीन र दीर्घकालीन समाधानका लागि नगरपालिकाले योजना बनाउन आवश्यक छ।’

२०७३ सालमा तत्कालीन भूसंरक्षण कार्यालयले सुब्बा कुनामा गरेको परीक्षणले सुर्खेतबाट बर्सेनि २७ हजार ९२.९४ मेट्रिक टन माटो बगेर बाहिर जाने देखाएको थियो। सुर्खेत चुरे र महाभारत शृंखला बीचमा अवस्थित कमजोर धरातल भएको भूभागले बनेको जिल्ला हो। भूगर्भविद्का अनुसार महाभारत र चुरे पर्वतको बीचको कमजोर चट्टान भएको धेरै क्षेत्र भएकाले सुर्खेत पहिराको उच्च जोखिममा रहेको छ। यहाँको करिब ४३ प्रतिशत भूभाग महाभारत शृंखलाले ओगटेको छ।

विपद् पचाउने समाज

झस्काइरहने कोशी, तर्सिरहने स्थानीय

विपत्‌सँग लड्न तयार पोखरा

त्रसित जनता, अलमलमा सरकार

 

प्रकाशित: १४ जेठ २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =