एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान

हिमाल प्रेस १४ जेठ २०८० १४:३८
2
SHARE
एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान

काठमाडौँ– नेकपा (एमाले) ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालमा एक कार्यक्रम आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल बुढामगरलाई पुष्पगुच्छासहित सम्मान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए। मान्छेले साहस, संकल्प गर्‍यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण बुढामगरले विश्वमै पेस गरेकाले पार्टीले सम्मान गरेको पनि ओलीले स्पष्ट पारे।

अध्यक्ष ओलीले बुढामगरको सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि बताए।

ओलीले भने, ‘वास्तवमा हरि बुढामगरजीको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ। मानिसले साहस गयो भने मानिसले संकल्प गयो भने असम्भव देखिएका चिजहरु पनि सम्भव हुन्छ।’

कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपांगता भएका व्यक्तिमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोहण गरेको बताए। बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथाभन्दा उँचो राख्न सहयोग पुगेको होला भन्ने आशा राखेको पनि बताए। उनले भने, ‘मैले यो थ्रू एउटा कुरा मात्रै भन्न चाहन्छु जति पनि तपाईँहरूको परिवारमा, कम्युनिटिजमा र तपाईँहरूको छरछिमेकमा जेजति अपांगता भएका व्यक्तिहरु हुनुहुन्छ। उहाँहरूलाई सपोर्ट र अपरच्युनिटी दिनुहोला।’

प्रकाशित: १४ जेठ २०८० १४:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =