चितवनमा नहर नपुग्‍ने ठाउँमा पनि भूमिगत सिँचाइ सुविधा

हिमाल प्रेस १४ जेठ २०८० ८:५१
8
SHARES
चितवनमा नहर नपुग्‍ने ठाउँमा पनि भूमिगत सिँचाइ सुविधा फाइल तस्बिर।

चितवन– चितवनको ३ हजार ३ सय ६० बिघामा डीप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ। चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको ३ वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो।

सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डीप ट्युबेल र ३ सय ६० वटा स्यालो ट्युबेल जडान गरिएको आयोजना प्रमुख देव स्याङबोले बताए।

उनका अनुसार यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ। विशेष गरेर कुलो, नहर नभएको र भएर पनि नियमित पानी नआउने ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डीप र स्यालो ट्युबेल जडान गरिएको उनले जानकारी दिए।

पश्चिम चितवनका कतिपय ठाउँमा अहिले बाह्रै महिना सिँचाइमार्फत खेती गरिएको स्याङबोको भनाइ छ।

आयोजनाले स्यालो ट्युबेल पूर्ण अनुदानमा उपलब्ध गराउँदै आएको छ। डीप ट्युबेलका लागि ५ प्रतिशत जनसहभागिता आवश्यक पर्छ। यसका लागि किसानले श्रमदान पनि गर्न सक्नेछन्। ‘४ बिघासम्म जग्गा भएको क्षेत्रमा स्यालो ट्युबेल उपलब्ध गराइएको छ,’ उनले भने, ‘किसान सानो समूह बनाएर आउने गरेका छन्।’

यस्तै डीप ट्युबेलका करिब ४० बिघा जग्गा क्षेत्रफल भएमात्र उपलब्ध गराउन सकिने उनले बताए। ‘ट्युबेलमार्फत सिँचाइ गर्न किसानले रुचाएका छन्, कार्यालयले माग धान्न सक्ने अवस्था छैन,’ उनले भने।

धेरै जग्गा आवश्यक पर्ने भएका कारण पनि डीप ट्युबेलमा किसानको आकर्षण कम भएको उनको भनाइ छ। चितवनमा भूमिगत सिँचाइ लागू भएपछि बाह्रै महिना सिँचाइ गर्दा पनि पानीको सतह घटेको छैन।

नारायणी र राप्तीको दोभान भएका कारण यहाँ पानीको समस्या नभएको आयोजना प्रमुख स्याङबोले बताए।

बाह्रै महिना चाहेको समयमा सिँचाइ गर्न पाएपछि चितवनका किसान भूमिगत सिँचाइमा आकर्षिक छन्। भरतपुर महानगरपालिका २२ गर्भेटाँडीकी इन्दिरा बोटे सिँचाइमार्फत बाह्रै महिना खेती गर्न पाउँदा निकै खुसी छन्।

‘बोरिङ नहुँदा त खेती नै हुँदैन्थ्यो। जग्गा बाँझो राख्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘आकाशबाट पानी नपरे बाँझै हुन्थ्यो। डीपबोरिङ जोडेपछि निकै सहज भएको छ। पहिला एकपटक खेत रोपेपछि गाउँ मरुभूमिजस्तो हुने गर्‍थ्यो।’

५ कठ्ठा जमिनमा मकै लगाएकी सोही ठाउँकी कमला ढकाल विगतमा बाँझै हुने जमिनमा मकै फलेको देख्दा आफैँ दंग छन्। ‘अहिले तोरी पनि राम्रो भयो,’ ढकालले भनिन्, ‘मकै यति राम्रा भएका छन्।’ बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै बेमौसमी खेती लगाउन सकिने उनले बताइन्।

भरतपुर २२ का वडाध्यक्ष विष्णुराज महतोले आफ्नो वडाका सुक्खा ठाउँ अहिले हराभरा भएको बताए।

‘यहाँ किसानले खेती लगाएपछि मात्र पानी आउथ्यो। यहाँका किसानले जेनतेन धानखेती गर्थे। अहिले मकै र तरकारी हराभरा छ। कृषिको आधार प्रविधि भन्ने कुरा भूमिगत जल सिँचाइले पुष्टि गरेको छ,’ उनले भने।

भरतपुर महानगरपालिकाले भूमिगत सिँचाइलाई प्राथमिकता दिइरहेको बताएको छ। ५ वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको महानगरपालिका मेयर रेनु दाहालले बताइन्।

‘भूमिगत सिँचाइ, महानगर, कृषि ज्ञान केन्द्र चितवनबाट चितवनका सिँचाइका कार्यक्रम अगाडि बढेका छन्,’ उनले भनिन्, ‘भरतपुरमा सिँचाइमा कृषिक्रान्ति नै भएको छ।’

अबको चार वर्षभित्र महानगरपालिकाभित्रका सबै जमिनमा सिँचाइ पुग्ने उनले जनाइन्। भरतपुरमा ९ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकामा हालसम्म २ हजार १ सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनको भनाइ छ। -रासस

प्रकाशित: १४ जेठ २०८० ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =