जलहरी प्रकरण : संसद्‌मा यसरी गरे प्रचण्डले ओलीको बचाउ

हिमाल प्रेस १३ जेठ २०८० १७:४८
14
SHARES
जलहरी प्रकरण : संसद्‌मा यसरी गरे प्रचण्डले ओलीको बचाउ प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा हात मिलाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर : चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा उनकै दलले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्।

पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्विकारोक्ति छ। तीन दलबीच शनिबार बिहान प्रधानमन्त्री निवासमा भएको सहमतिअनुसार नै प्रचण्डले ओलीको बचाउ गरेका हुन्।

शनिबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिएका थिए।

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गराएका छन्। उनले सो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानबिन हुने आश्वासनसमेत दिएका छन्।

प्रधानमन्त्री दाहालले भने, ‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ। पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो। सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन।’

प्रधानमन्त्री प्रचण्डले जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानबिन भइरहेको बताउँदै भने, ‘यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने नै छ। यसमा सरकारको सहयोग रहनेछ।’

पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धि विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नभएको उनको भनाइ छ। उनले भने, ‘यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ।’

जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा सांसद लेखनाथ दाहालले केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए। संसद्भित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधिसभा बैठक अवरोध गरेको थियो। सोही विषयलाई टुंग्याई सदन सञ्चालन गर्न शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र का शीर्ष नेताहरूबीच शनिबार छलफल भएको थियो।

प्रकाशित: १३ जेठ २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =