खुमलटारको प्रस्टोक्ति : रेलिगेसन क्षेत्रमा भएको टिममाथि फिक्सिङको आरोप लाग्छ, स्वाभाविक हो

हिमाल प्रेस ९ जेठ २०८० २२:४५
66
SHARES
खुमलटारको प्रस्टोक्ति : रेलिगेसन क्षेत्रमा भएको टिममाथि फिक्सिङको आरोप लाग्छ, स्वाभाविक हो

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले जितविहीन यात्रालाई नवौँ खेलसम्म पुर्‍याएको छ। थ्रीस्टार मंगलबार नेपाल पुलिस क्लबसँग १-० ले पराजित भयो। लिगमा थ्रीस्टारले छैटौँ हार व्यहोेरेको हो। दशरथ रंगशालामा थ्रीस्टारलाई हराउन पुलिसका एहमद हिजाजीले पहिलो हाफमा गरेको गोल पर्याप्त रह्यो।

थ्रीस्टारले जारी लिगमा पछिल्लो जित ११ औँ चरणमा हात पारेको थियो। सो खेलमा संकटा क्लबलाई ३-० ले हराएको थ्रीस्टार त्यसपछिका चार खेलमा पराजित भएको छ। अरु पाँच खेलमा भने बराबरी गरेको छ।

थ्रीस्टार निरन्तर ओरालो लाग्दा पुलिसले सुधारिएको प्रदर्शन गरिरहेको छ। १६ औँ चरणयता पाँच खेलबाट १० अंक बटुलेको पुलिस मंगलबार आठौँ स्थानमा पुग्यो। पुलिस अब छैटौँ स्थानको थीस्टारभन्दा मात्र एक अंकले पछाडि छ।

सुरुवाती ६ चरणसम्म एकै खेल नजितेको पुलिसलाई रेलिगेसनको दाबेदार मानिएको थियो। तर विदेशी खेलाडी भित्र्याएसँगै पुलिस बलियो बनेको हो। सातौँ चरणमा फ्रेन्ड्सलाई हराउँदा विदेशी खेलाडीलाई डेब्यु गराएको पुलिसले त्यसपछि १३ खेलबाट २१ अंक जम्मा गरिसकेको छ।

उता ललितपुरकै अर्को क्लब सातलदोबाटो युथ क्लबले पनि अस्थिर लयलाई जारी राखेको छ। पाँच खेलमा तेस्रो पराजय भोग्ने क्रममा सातदोबाटोले मंगलबार पुछारको एफसी खुमलटारसमक्ष १-० ले नतिजा सुम्पियो। खुमालटारको जितमा पियर जिन मारी मेसुके ओलौमौउले गोल गरे। जारी सिजन यो उनको १५ औँ गोल हो।

सुरुवातका १० खेलमध्ये सातमा अपराजित रहेपछि सातदोबाटोलाई उपाधि दाबेदार मानिन थालिएको थियो। तर पछिल्लो समय सातदोबाटोले एकनासको खेल देखाउन सकेको छैन। पछिल्ला सात खेलमा सात अंक मात्र बटुल्न सकेपछि सातदोबाटो शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडभन्दा आठ अंकले पछि परिसकेको छ। खुमलटारसँग हारे पनि चौथो स्थानमा यथावत् सातदोबाटोसँग हाल २९ अंक छ।

रेलिगेसन क्षेत्रमा रहेको टिमसँगको हारपछि सातदोबाटोका मुख्यप्रशिक्षक सनोज श्रेष्ठले आफ्नो टिमब उपाधि होडबाट बाहिरिएको प्रतिक्रिया दिए। ‘उपाधि जित्ने सम्भावना समाप्त भयो। आजको खेल महत्त्वपूर्ण थियो तर जित्न सकेनौँ। अब हाम्रो लक्ष्य शीर्ष चारमा पर्ने हो,’ सनोजले भने, ‘१३ औँ चरणसम्म हामीले ठिकठाक खेलेको हो। तर पछि प्रदर्शन खस्किँदै गयो। यसको कारण खेलाडी घाइते र थकित हुनु हो। पछिल्लो समय हामीले स्थिर खेल नै देखाउन सकिरहेका छैनौँ।’

पहिलो रोजाइका चार खेलाडी पहिलो एघारमा नपरेकाले खुमलटारसँग हार व्यहोर्नु परेको प्रतिक्रिया पनि सनोजले दिए। ‘पहिलो एघारमा चार मुख्य खेलाडी थिएनन्। उनीहरुको स्थान लिएका खेलाडीले चित्तबुझ्दो खेल देखाएनन्। बेन्चका खेलाडीले सोचेजस्तो खेल्न नसक्दा हामी समस्यामा परिरहेका छौँ,’ सनोजले भने।

कुर्कुच्चाको चोटले पीडित दीपक राज सिंह ठकुरी र निरज चौधरी दोस्रो हाफको सुरुवातमा मैदान प्रवेश गरेका थिए। रक्षक नरेन्द्र चौधरी भने अन्तिम १० मिनेट मात्र खेल्न सके। उज्वेक विंगर सार्दोरबेक माट्मुराटोभ लगातारको तीन पहेलो कार्डका कारण प्रतिबन्धमा परेकाले खेल्न पाएनन्।

‘पहिलो हाफको प्रदर्शन एकदम खराब थियो। पहिलो एघारका कैयौँ खेलाडी नभएकाले प्रदर्शनमा असर पुग्यो। दोस्रो हाफमा दीपक र निरज मैदान प्रवेश गरेसँगै सुधार भयो। तर गोल गर्न सकेनौँ,’ सनोजको भनाइ थियो। सनोजका अनुसार दीपकलाई एक साताको आरामको आवश्यकता छ। तर टिममा दीपकको अत्यधिक खाँचो रहेकाले ‘रिस्क’ लिएर पनि उनलाई खेलाएको सनोजको भनाइ थियो।

हाल मुख्य प्रशिक्षकविहीन खुमलटार सातदोबाटोलाई हराए पनि १४ औँ स्थानबाट माथि उक्लिन सकेन। पुछारको खुमलटार र फ्रेन्ड्सको समान २१ अंक छ। यी दुईभन्दा माथि एपीएफ फुटबल क्लब, न्युरोड टिम एनआरटी र संकटा क्लब छन्। उनीहरूसँग २३-२३ अंक छ।

याम प्रसाद गुरुङ २० वर्षमुनिको महिला टिमसँग व्यस्त रहने भएपछि खुमलटार मुख्य प्रशिक्षकविहीन बनेको हो। यसअघि प्राविधिक निर्देशक रहेका विष्णु गुरुङ पनि मनाङ मस्र्याङ्दी क्लबसँग आबद्ध भइसकेको छन्।

‘मुख्य प्रशिक्षक आउने जाने भइरहेको छ। हाल म र सहायक प्रशिक्षक मिलेर टिमलाई अभ्यास गराइरहेका छौँ। व्यवस्थापनदेखि खेलाडीसम्म, हामी सबै रेलिगेसनबाट बच्नेमा सकारात्मक छौँ। महेनत गरिरहेका छौँ,’ व्यवस्थापक अन्जन राणा क्षेत्रीले भने।

लिगका उच्च गोलकर्ता मेसुकेसम्मिलित खुमलटारले २० मध्ये ११ खेलमा पराजय भोगेको छ। यसबीचमा खुमलटारलाई फिक्सिङको आरोप पनि लागेको छ। ‘शीर्षस्थानमा भएको टिममाथि फिक्सिङको आरोप लाग्दैन। तर पुछारमा भएको टिमलाई यस्तो आरोप लगाइन्छ। यो स्वाभाविक हो। गत सिजन च्यासल युथ क्लबलाई लागेको थियो। खेलाडीले पर्याप्त आराम पाएका छैनन्। कैयौँ घाइते छन्। यसले गर्दा स्थिर प्रदर्शन गर्न नसकिएको हो। यसलाई फिक्सिङ भन्न मिल्दैन,’ अन्जनको भनाइ थियो।

प्रकाशित: ९ जेठ २०८० २२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =