कोशी प्रदेश : सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई कांग्रेसको पत्र

हिमाल प्रेस ९ जेठ २०८० २०:५८
4
SHARES
कोशी प्रदेश : सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई कांग्रेसको पत्र

इटहरी- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई पत्र पठाएको छ। कांग्रेस संसदीय दलको बैठकबाट  निर्णय गरेर माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन पत्र पठाइएको हो।

कांग्रेस संसदीय दलका नेता उद्वव थापाले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई पत्र लेख्दै गठबन्धन दलहरूको सरकार निर्माण गर्ने वातावरण तयार गर्न आग्रह गरेका छन्।

उक्त पत्र जेठ ५ गते पठाइए पनि माओवादीको हातमा मंगलबार मात्रै पुगेको हो। सरकार छाड्न मौखिक आग्रह गर्दा माओवादी र जसपाले नमानेपछि कांग्रेसले लिखित पत्र पठाएको हो।

‘संघीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धनअनुसार नै सरकार गठन भैसकेको अवस्थामा गठबन्धन दलहरूको मर्म र भावना अनुरूप कोशी प्रदेशमा संघीय गठबन्धन अनुरूप नै सरकार गठन गर्नको लागि गठबन्धन दलहरूबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन अनुरोध गर्ने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको निर्णय बमोजिम तपाईहरूको दलबाट हालको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरूको सरकार निर्माण गर्ने वातावरण तय गर्नुहुन आग्रह गर्दछु,’ पत्रमा भनिएको छ।

संघीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धनअनुसार नै सरकार गठन भएको छ। गठबन्धन दलहरूको मर्म र भावना अनुरूप कोशी प्रदेशमा संघीय गठबन्धन अनुरूप नै सरकार गठन गर्नका लागि गठबन्धन दलहरूबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन अनुरोध गरिएको छ।

माओवादी केन्द्र दलका नेता आङ्बोले उक्त पत्रबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराउने बताएका छन्। ‘काँग्रेस संसदीय दलबाट आएको पत्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई जानकारी गराउँछु,’ उनले भने, ‘गठबन्धनको शीर्ष तहमा हुने सहमति र समझदारीलाई माओवादी प्रदेश संसदीय दलले कार्यान्वयन गर्नेछ।’

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। कोशी प्रदेशमा एमालेको ४० सिट, कांग्रेसको २९ सिट, माओवादी केन्द्रको १३ (सभामुखसहित), राप्रपाको ६ सिट, नेकपा एकीकृत समाजवादीको ४ सिट र जसपाको १ सिट छ। सभामुखबाहेक सत्तारुढ गठबन्धन र एमाले, राप्रपा गठबन्धनसँग समान ४६ सांसद छन्।

प्रकाशित: ९ जेठ २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =