सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा गुमाएका हरि, विश्व कीर्तिमान कायम

हिमाल प्रेस ७ जेठ २०८० ६:४९
8
SHARES
सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा गुमाएका हरि, विश्व कीर्तिमान कायम तस्बिरः हरि बुढामगरको फेसबुकबाट।

काठमाडौँ- पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त ऋतुको जारी आरोहण क्रममा बुढामगर जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्।  यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरे।

कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरे।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए। बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो।

सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौँ।’

बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए। ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपांगता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ,’ उनले भने।

सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्ला‌ंक, चुलु सुदूरपूर्व, किलिमन्जारो र मेरापिकलगायतका आरोहण गरेका थिए। साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा छ। रासस

प्रकाशित: ७ जेठ २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =