चर्च ब्वाइज शीर्षस्थानमा अडिग; विभागीय क्लबहरू खराब लयमा

हिमाल प्रेस ५ जेठ २०८० २२:३१
48
SHARES
चर्च ब्वाइज शीर्षस्थानमा अडिग; विभागीय क्लबहरू खराब लयमा

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा दुई तिहाइ खेल सकिँदा चर्च ब्वाइज युनाइटेडले शीर्षस्थानमाथिको पकड बलियो बनाउँदै लगेको छ। शुक्रबार नेपाल पुलिस क्लबमाथि १-० को साँघुरो जित दर्ता गरेसँगै चर्च ब्वाइज र जावलाखेल युथ क्लबबीच अब चार अंकको दूरी कायम भयो।

दशरथ रंगशालामा विभागीय क्लबलाई हराउन चर्च ब्वाइजका मिलन राईले पहिलो हाफको उत्तरार्द्धमा गरेको गोल निर्णायक साबित भयो। खेलेका १९ मध्ये १० खेल जितेको चर्च ब्वाइजले ३६ अंक बटुलेको छ। दोस्रो स्थानको जावलाखेलको ३२ अंक छ। त्यसैगरी तेस्रो स्थानमा रहेको मछिन्द्र फुटबल क्लबको ३१ अंक छ।

दोस्रो स्थानको जावलाखेल लगातार दोस्रो खेलमा बराबरी रोकिँदाको फाइदा चर्च ब्वाइजले भरपूर उठाइरहेको छ। जावलाखेल गत आइतबार मनाङ मर्स्याङ्दी क्लब र बिहीबार न्युरोड टिम (एनआरटी)सँग अंक बाँड्न बाध्य भएको थियो। चर्च ब्वाइजले भने आफ्नो पछिल्लो खेलमा बलियो मानिएको सातदोबाटो युथ क्लबलाई पराजित गरेको थियो।

गत शनिबार त्रिभुवन आर्मी फुटबल क्लबसँग हारे पनि चर्च ब्वाइजले त्यसअघिका चार खेल लगातार जितेको थियो। ‘सातदोबाटोलाई जितेपछि नै भनेको थिएँ, खेलाडीमा आत्मविश्वास बढेको छ। खेल र अभ्यासमा खेलाडीहरु उत्तिकै ऊर्जावान् देखिन्छन्। रमाएर खेलिरहेका छन्,’ जितपछि चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘उनीहरू प्रतिबद्धता देखिन्छ। बल पोसेसन, सेट पिस सबै कुरामा ध्यान दिएका छन्। फेरि टिममा खेलाडीबीच प्रतिस्पर्धा पनि छ। जसले गर्दा समग्र टिमलाई फाइदा पुगेको छ।’

हुरीसँगै आएको वर्षाका कारण पहिलो हाफमै केहीबेर खेल रोकिएको थियो। ओसिलो मैदानमा फर्किएको खेलमा पुलिसको रक्षापंक्तिले एकाग्रता कायम राख्न नसक्दा गोल खान पुग्यो। कमल श्रेष्ठले प्रहार गरेको कर्नरमा मिलनले हेडर गोल गरेका थिए। कमललाई पुलिसका रक्षक अजित भण्डारीले बक्समा मार्क त गरेका थिए तर हेडर गर्नबाट रोक्न सकेनन्।

‘पहिलो हाफ सकिनै लाग्दा गोल खाइयो। गोलको कारण हाम्रा खेलाडीमा एकाग्रताको कमी हो। उनीहरुले न त बललाई न त विपक्षी खेलाडीलाई राम्रोसँग निगरानीमा राख्न सके,’ हारपछि पुलिसका मुख्यप्रशिक्षक चेतन घिमिरेले भने।

गोल खाए पनि बाँकी समय आफ्ना खेलाडीले राम्रो प्रदर्शन गर्न सकेको चेतनको भनाइ थियो। ‘यो खेल हाम्रा लागि धेरै महत्त्वपूर्ण थियो। अंक तालिकामा माथि उक्लिनु थियो, त्यसकारण जितको दबाबमा थियौँ। गोलका धेरै मौका सिर्जना गरेको पनि हो। तर ती अवसर खेर गए। सात खेल बाँकी छन्। ती खेलमा पर्याप्त अंक ल्याउन सकिन्छ जस्तो लाग्छ,’ आशावादी चेतनले भने।

हारपछि पुलिस १२ औँ स्थानमा छ। पुलिसले हालसम्म २२ अंक जम्मा गरेको छ। जुन १३ औँ स्थानको फ्रेन्ड्स क्लबको भन्दा एक अंकले मात्र बढी हो। रेलिगेसनबाट बच्ने प्रतिस्पर्धा कडा बन्दै गइरहेका बेला अंक तालिकाको तल्लो भागमा रहेका क्लबहरुबीच दूरी घट्दो छ। पुलिससँगै नेपाल एपीएफ क्लब र संकटा क्लबको पनि २२-२२ अंक छ।

एपीएफ शुक्रबारकै खेलमा हिमालयन शेर्पा क्लबसँग ३-२ ले पराजित भयो। उत्तराद्र्धको पाँच मिनेटभित्र दुई गोल फर्काए पनि एपीएफले हार टार्न सकेन। लिगमा एपीएफको यो लगातार तेस्रो र समग्रमा नवौँ हार हो। हिमालयन शेर्पाले भने छैटौँ जित हात पारेको हो। १९ खेलबाट २५ अंक बटुलेको हिमालयन शेर्पा सातौँ स्थानमा उक्लिएको छ।

एन्फा कम्पलेक्सको मैदानमा हिमालयन शेर्पाले पहिलो हाफको १० औँ मिनेटमै अग्रता लिएको थियो। खामिर गिल्सान कन्दङ्वाको गोलबाट अघि बढेको हिमालयन शेर्पाका लागि अरु दुई गोल पिस्टोने मुटाम्बा र अबायोमी फाकुन्लेले गरे। फराकिलो हारतिर अघि बढेको एपीएफका सनिस श्रेष्ठले ८७ औँ मिनेट र युवराज खड्काले थपिएको समयमा गोल फर्काएका थिए।

शुक्रबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लब रेलिगेसन क्षेत्रको खुमलटार एफसीसँग २-२ को बराबरीमा रोकियो। स्टिफन समिर बिनोङले ७५ औँ मिनेटमा बराबरी गोल गरेपछि आर्मी अंक बाँड्न बाध्य भएको थियो।

पहिलो हाफको १४ औँ मिनेटमा जगजित श्रेष्ठले गोल गरेपछि आर्मीले अग्रता लिएको थियो। जगजितले फ्रिकिकमा गोल गरेका थिए। खुमलटारका गोलरक्षक आशिष मोक्तानले समातिसकेको बल खसालेपछि जगजितको नामाम पहिलो गोल दर्ज भयो। रेजिन सुब्बाले भरत खवासलाई फाउल गरेपछि आर्मीले फ्रिकिक पाएको थियो।

पियर जिन मारी मेुुुसुके ओलोमौउले ३५ औँ मिनेटमा गोल गरेपछि खुमलटार पहिलो हाफमै खेलमा फर्कियो। राजीव लोप्चनले बिनोङका लागि क्रस उपलब्ध गराएका थिए। त्यस क्रसलाई आर्मीका गोलरक्षक विकेश कुथुले पन्च गर्दै क्लियर गर्ने प्रयास गरे। तर उनको प्रयासले खतरा टारेन। बल मेसुकेले भेटे र जाली चुमाए।

आर्मीले दोस्रो हाफको ५१ औँ मिनेटमा अग्रता पुनः स्थापित ग¥यो। दिनेश हेम्जनले दिएको सटिक पासमा नवयुग श्रेष्ठले वान टचमै गोल गरेका थिए। तर आर्मीको खुसीयाली अन्तिमसम्म टिक्न सकेन। दीपक गुरुङले खुमलटारको क्षेत्रमा मिसपास गरेपछि काउन्टर अट्याकको सामना गर्नुपरेको थियो। लामो पास पाएका बिनोङले १८ यार्ड बक्सबाहिरबाटै गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो।

बराबरीका कारण आर्मीले चौथो स्थान कब्जा गर्ने मौका गुमायो। लगातार दोस्रो खेलमा बराबरी गरेको आर्मी हाल २६ अंकसहित छैटौँ स्थानमा छ। चौथो स्थानको सातदोबाटो र पाँचौँ स्थानको थ्रीस्टारको पनि २६-२६ अंक नै छ। यद्यपि यी दुई टिमले आर्मीभन्दा एक-एक खेल कम खेलेका छन्।

प्रकाशित: ५ जेठ २०८० २२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =