सशस्त्रका एआइजीहरूले गरे सीमानाकाको छड्के निरीक्षण

हिमाल प्रेस ४ जेठ २०८० १८:२४
8
SHARES
सशस्त्रका एआइजीहरूले गरे सीमानाकाको छड्के निरीक्षण

काठमाडौँ– सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले सीमा क्षेत्रमा छड्के निरीक्षणलाई तीव्रता दिएका छन्। अनुगमनका क्रममा कमिकमजोरी भेटिए टोली परिवर्तन गर्नेदेखि कमान्डरहरूलाई कमान्डबाट हटाउनेसम्मको जिम्मेवारीसहित उनीहरूले सीमानाका अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लुम्बिनि प्रदेशअन्तर्गत बाँके जिल्लास्थित बीओपी बढैया, जयसपुर, गंगापुर जमुनाह तथा कपिलवस्तु जिल्लास्थित चाकडचौडा, मर्यादपुर, हथिहवा, हर्दौना, भिल्मी बर्दिया, रूपन्देही, नवलपरासी लगायतका सीमानाका अनुगमन गरेका छन्।

बाँके र कपिलवस्तुस्थित सीमानामा रहेका युनिट अनुगमन तथा निरीक्षणका क्रममा उनले सीमामा हुनसक्ने चोरीपैठारी नियन्त्रणमा निर्मम रूपमा प्रस्तुत हुन र कुनै पनि प्रकारको सम्झौता नगर्न निर्देशन दिए।

अवैध क्रियाकलाप रोक्नका साथसाथै सीमामा सरोकारवाला निकायसँगको समन्वयमा सीमास्तम्भको अनुगमन, रेखदेख तथा वर्षातको समयमा विशेष गरी सानाखालका सीमास्तम्भ बगाउने तथा पुरिनसक्ने भएकोले त्यसलाईसमेत विशेष प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

यसअघि कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले गत चैत तथा वैशाख महिनामा कोशी प्रदेश तथा सूदुरपश्चिम प्रदेशअन्तर्गतका जिल्लाका सिमानाका अनुगमन गरेका थिए।

कोशी प्रदेशअन्तर्गत इलाम, झापा, मोरङ, सुनसरी जिल्लाका सीमा क्षेत्रमा रहेका गण तथा बीओपी अनुगमनका क्रममा उनले विशेष गरी भन्सार इलाकामा कडाइकासाथ कर्तव्यपालना गर्न र राजश्व संकलनमा गम्भीर भएर लाग्न निर्देशन दिएका थिए।

यस्तै सूदुरपश्चिम प्रदेशका सिमानाकासमेत उनले अनुगमन गरेका छन्। सिमानाकामा आवतजावत गर्ने नागरिकलाई सहज र सजिलो वातावरण बनाउनका साथै विभिन्न आवरणमा हुनसक्ने चोरीपैठारी नियन्त्रणका साथसाथै लागूपदार्थ ओसार पसारमासमेत उच्च निगरानी गर्न उनले निर्देशन दिए।

यसैगरी सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले वैशाख अन्तिम हप्ता बाग्मति प्रदेशअन्तर्गत रसुवा, सिन्धुपाल्चोक तथा दोलखा जिल्लाको सीमा युनिटहरूको आकस्मिक निरीक्षण तथा अनुगमन गरी चोरीपैठारी नियन्त्रण र वन्यजन्तुका अंगहरूको हुनसक्ने तस्करी नियन्त्रणमा परिणाम देखिने गरी कार्यगर्न निर्देशन दिएका थिए।

एआइजीहरूले सीमानाका अनुगमन गरेका कारण राजश्व संकलन र चोरीपैठारी नियन्त्रणमा संगठनको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ४ जेठ २०८० १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =