खोटाङमा कोभिडविरुद्धको बुस्टर खोप लगाइने

हिमाल प्रेस ३ जेठ २०८० ९:०८
2
SHARE
खोटाङमा कोभिडविरुद्धको बुस्टर खोप लगाइने

खोटाङ- यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ।

कोभिड-१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ।

दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय ४० जनालाई बुस्टर डोज लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

यसअघि बुस्टर डोज लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लगाइने छ।

गत वर्ष चैत २४ गतेदेखि वैशाख १९ गतेसम्म जिल्लाका छ हजार जनालाई बुस्टर डोज दिइएको थियो।

राष्ट्रिय जनगणना, २०७८ अनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको खोटाङमा एक लाख सात हजार ४२ जनाले यसअघि नै कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको सिग्देलले बताए।

कोरोना भाइरसको संक्रमणका कारण खोटाङमा १५ जनाको मृत्यु भएको थियो।

दश स्थानीय तह रहेको जिल्लामा एक थान भेन्टिलेटर, सात एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामै रहेको सिग्देलले जानकारी दिए।

प्रकाशित: ३ जेठ २०८० ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =