खोटाङमा श्रमदानबाट बन्यो ७ किमि सडक

हिमाल प्रेस ८ साउन २०८० १२:१९
12
SHARES
खोटाङमा श्रमदानबाट बन्यो ७ किमि सडक फाइल तस्बिर।

खोटाङ– टेम्केमैयुङ गाउँपालिका-१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब ७ किलोमिटर सडक मर्मत गरेका छन्।

वडा कार्यालयको समन्वयमा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन्।

स्थानीय श्रमदान गरेर सेतीबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, ३ भंगाले, बाघखोर सडक खण्ड मर्मत गरेका हुन्।

बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरेर सडक मर्मतको काम गरिएको वडाध्यक्ष नर राईले जानकारी दिए।

वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयले स्वतस्फूर्त रूपमा सहयोग गरिरहेको उनको भनाइ छ।

‘वडाले श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत,सम्भार गरिरहेका छौं,’ उनले भने, ‘प्रायः सम्पूर्ण सडक बर्सातले बिग्रिएको अवस्था छ। जुन काम स्थानीय सरकारको बजेटले गर्न सम्भव छैन।’

वडाले थालेको कामलाई साथ दिँदै देश विदेशमा रहेका यहाँका स्थानीयलेसमेत आवश्यक सहयोग गरेको वडासदस्य राईले बताए।

साउन १ गतेबाट सुरु भएको श्रमदान अभियानमा १ सय ५५ जना बढी स्थानीयले श्रमदान गरेर सडक मर्मतमा योगदान गरेको उनको भनाइ छ।

‘आफ्नो ठाउँको विकासमा आफैं जुट्न आवश्यक छ,’ उनले भने, ‘बाटो बिग्रिएर जनजीवन प्रभावित भएपछि श्रमदान अभियानमार्फत सडक मर्मत गरेका हौं।’

वडा कार्यालयले ल्याएको अवधारणाअनुसार स्थानीय युवाहरू श्रमदानमा सक्रिय रूपमा खटेको स्थानीयवासी लगन राईले बताए।

आफ्नो ठाउँको लागि स्थानीय नागरिकले खेलेको सानो भूमिकाले राज्यको ठूलो बजेट खर्च हुनबाट बच्ने उनको भनाइ छ।

‘वडाले ल्याएको अभियानमा हामी युवा सक्रिय रूपमा जोडिएका छौं,’ उनले भने, ‘आफ्नो ठाउँको विकास आफैंले गर्ने हो। हामीले अहिले ७ किलोमिटर बढी सडक मर्मत गरेका छौं।’

श्रमदानमार्फत सडकको नाली कटाउने, खाल्डाखुल्डी पुर्ने, आसपासको झाँडी हटाउनेलगायतका काम भइरहेको स्थानीय युवा रामचन्द्र राईले बताए।

सडकको मर्मतमा स्थानीय सक्रिय भएर लागेपछि अहिले आवतजावतसँगै खाद्यान्न ढुवानीमा सहजता थपिएको उनको भनाइ छ।

‘स्थानीय आफैं मिलेर सडक मर्मत गरेपछि आवतजावतमा सहजता छ,’ उनले भने, ‘बिरामी हुँदा घरसम्म एम्बुलेन्स आउन सक्छ। आफ्नो ठाउँको विकासलाई दिगो बनाउन स्थानीय आफैँ अग्रसर हुन आवश्यक छ। श्रमदानमार्फत सडक मर्मत गरेपछि हामीलाई सहज भएको छ।’

झरीका कारण वडाभित्रका विभिन्न ठाउँका सडकमा क्षति पुगेकोपछि सहज आवतजावतको लागि सडक मर्मत गरिएको स्थानीय शिक्षक हर्कराज राईले बताए।

वडाले थालेको अभियानमा स्थानीयले उत्साहजनक रूपमा श्रमदान गरेको उनले सुनाए।

युवाको सक्रियतामा भएको श्रमदान अभियानमार्फत ७ दिनमा ५ लाख रुपैयाँ बढीको काम भएको स्थानीय सीताराम राईले बताए।

धेरै ठाउँमा सडक बिग्रेको कारण वडामा आएको बजेटले सडक मर्मत गर्न असम्भव भएपछि श्रमदानमार्फत काम गरिएको उनको भनाइ छ।

प्रकाशित: ८ साउन २०८० १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =