हलेसी पुग्यो सुनकोशीको पानी

हिमाल प्रेस २६ जेठ २०८० १३:१९
46
SHARES
हलेसी पुग्यो सुनकोशीको पानी फाइल तस्बिर।

खोटाङ– सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दुधकोशीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ। हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा २ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पुर्‍याइएको हो।

दुधकोशीबाट १ सय ५० एमएमको फलामे पाइपमार्फत ४ हजार ५ सय मिटरमाथि रहेको भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख इन्जिनियर हिराकाजी महर्जनले जानकारी दिए।

‘दुधकोशीबाट छ लिफ्ट ट्यांकी हुँदै भुम्जुडाँडामा बनाइएको सातौं ट्यांकीमा पानी पुर्‍याउने सफल भइएको छ। भुम्जुडाँडामा पानी निकाल्ने प्रयासको सफल परीक्षण भएसँगै स्थानीयमा उत्साह जगाएको छ,’ उनले भने।

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाका लागि नदी किनारमा ३ लाख लिटर क्षमताको एउटा र भुम्जुडाँडामा ४ लाख लिटर क्षमताको३वटा ट्यांकी बनाइएका छन्।

त्यसबीचमा पर्ने विभिन्न ५ ठाउँमा एक-एक लाख लिटर क्षमताका लिफ्ट ट्यांकी निर्माण गरिएको जनाइएको छ।

दुधकोशीको पानीलाई डिकुवाको भुम्जुडाँडा र वडा ७ महादेवस्थानको काभ्रेडाँडामा पुर्‍याएर वितरण गर्ने लक्ष्यका साथ ०७४ देखि लिफ्टिङ खानेपानी आयोजनाको काम अघि बढाइएको थियो। दुधकोशीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेंशीबाट काभ्रेडाँडामा लिफ्ट गरेर पानी पुर्‍याएर मेनलाईनको ठेक्का दिवा-महादेव-खिम्ती जेभीले धमाधम गरिरहेको छ।

महादेवबेंशीबाट काभ्रेडाँडामा पानी पुर्‍याउनका लागि पम्प जडानको काममात्र बाँकी रहेको आयोजना प्रमुख महर्जनको भनाइ छ। भुम्जुडाँडामा पुर्‍याइएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाइनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन-सगरमाथा-घिमिरे जेभीले लिएको छ।

हलेसी बृहत् पम्पिङ खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा ट्रिटमेन्ट प्लान्टको स्कीम छुट भएकाले पुनः स्टीमेट गरेर मन्त्रालय पठाइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख महर्जनका अनुसार ट्रिटमेन्ट प्लान्टका लागि जग्गा व्यवस्था गरेर १९ करोड ९५ लाख रुपैयाँको लागत अनुमान पेश गरिएको हो।

दुधकोशीको पानी तानेर सिधै उपभोग गर्न उपयुक्त नहुने भएकाले लागत अनुमान अनिवार्य गर्नुपर्ने अवस्था आएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईको भनाइ छ।

‘लागत अनुमान प्लान्ट स्थापनाका लागि लिलिमाबेंशी र महादेवबेंशीमा नौ÷नौ रोपनी जग्गा व्यवस्था गरिएको छ,’ हलेसी तुवाचुङ नगरपालिकाका पूर्वमेयरसमेत रहेका अध्यक्ष राईले भने, ‘हाम्रो नगरपालिकाका ११ वटै वडाका स्थानीय बासिन्दाले खानेपानीको समस्या भोग्दै आएका छन्। ढिलै भए पनि दुधकोशीको पानी पम्पिङ गरेर पाइप लाइनमार्फत स्थानीय बासिन्दाको घरघरमा वितरण गर्नेगरी बृहत् खानेपानी आयोजनाको काम सफल हुँदै जाँदा उनीहरूसमेत हर्षित छन्।’

सरकार, संघीय खानेपानी मन्त्रालयको ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्ने गरी ५ वर्षअघि निर्माण सुरु गरिएको उक्त बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम ९० प्रतिशत पूरा भएको जनाइएको छ। पाइपलाइनको काम उपभोक्ता आफैले गर्नुपर्ने भएकाले मेनलाइनको पानी सफलतापूर्व निस्किएपछि स्थानीय बासिन्दा आ-आफ्नो क्षेत्रमा पाइपलाइनको काम गरिरहेका छन्।

बर्सातको समयमा घरको छानामा पाइप जडान गरेर जम्मा भएको पानी उपभोग गर्ने हलेसी क्षेत्रका स्थानीय बासिन्दा हिउँदको समयमा घटौं लगाएर दुधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन्। कतिपय स्थानीय बासिन्दाले ट्र्याक्टर तथा ट्रकमार्फत ड्रममा भरेर दुधकोशीकै पानी ल्याएर उपभोग गर्ने गरेका छन्।

बाङखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज

षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला र नखुवा दोभान बाङखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। कोशी प्रदेश सरकारको रु३करोड १९ लाखको लागतमा गत फागुनमा पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

वडा १२ र १४ जोड्ने यो खोलामा २०७६ सालबाट पुल निर्माण सुरु गरिएको थियो। पुल तोकिएको मापदण्डानुसार निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोको भनाइ छ।

‘बाङखुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ,’ प्रमुख महतोले भने, ‘तोकिएको मापदण्डानुसार गुणस्तरीय ढंगले निर्माण भएको छ, यसले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुगेको छ।’ पच्चीस मिटर लामो उक्त पुल गोल्डेन गुड शेर्पा निर्माण कम्पनीले बनाएको कार्यालयले जनाएको छ।

यस्तै सोही स्थान जनिकै बनिरहेको याकुवा खोला, नखुवा दोभान गंखुवा पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ। उक्त पुल प्रदेश सरकारको ५ करोड ४१ लाख लागतमा निर्माण भइरहेको प्रमुख महतोको भनाइ छ।

५० मिटर लम्बाइ रहेको २ स्पानमा बन्ने पुलको एउटा स्पानको ढलान सम्पन्न भएको महतोको भनाइ छ। ‘यी २ पुलको काम एउटै निर्माण कम्पनीले गरिरहेको छ,’ उनले भने, ‘यो पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ, आगामी असोज महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ।’

अरुण गाउँपालिका क्षेत्रमा जग्गा विवाद भएको कारण काममा केही ढिला भएको उनले जानकारी दिए।

गंखुवा खोला पुल तोकिएको अवधिमा सम्पन्न गर्ने निर्माण कम्पनी गोल्डेन गुड शेर्पाका प्रोजेन्ट म्यानेजर पेम्बा शेर्पाको भनाइ छ। पुल आगमी असोजसम्म सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ। ‘यो पुललाई तोकिएको अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य छ,’ शेर्पाले भने, ‘आगामी असोजसम्म सम्पन्न गर्ने हाम्रो योजना छ।’ -रासस

प्रकाशित: २६ जेठ २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =