उदयपुरमा पाठ्यपुस्तक अभाव

हिमाल प्रेस २३ वैशाख २०८० १७:०२
2
SHARE
उदयपुरमा पाठ्यपुस्तक अभाव

उदयपुर- नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना पुग्नै लाग्दा पनि उदयपुरमा पाठ्यपुस्तक अभाव भएको छ। जिल्ला सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई सबै विषयका पाठ्यपुस्तक वितरण गर्न सकेका छैनन्। विद्यार्थीले पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउँछन्।

पुस्तक पसल सञ्चालकले विद्यार्थीलाई रित्तै फर्काउने गुनासो विद्यार्थीहरूले गरेका छन्। त्रियुगा नगरपालिका-१६ सुकौराकी कक्षा १० मा अध्ययनरत पुर्णाकुमारी मगरले पुस्तक नपाएको बताइन्। ‘वैशाखको पहिलो हप्तादेखि पठनपाठन सुरु भइसकेको छ,’ उनले भनिन्, ‘गाईघाटका पुस्तक पसलमा पटक–पटक पुस्तक किन्न गए, सामाजिक अध्ययन, अंग्रेजी र नेपाली विषयका पुस्तक अझै पाएकी छैन।’

त्रियुगा नगरपालिका–५ जलजलेस्थित उदयसी स्कुलका कक्षा ९ का विद्यार्थी पंकज साहको पनि गुनासो उस्तै छ। ‘विद्यालयमा पठनपाठन सुरु भएको दुई हप्ता बितिसक्यो,’ उनले भने, ‘सबै पुस्तक नहुँदा पढ्न समस्या छ, पटक–पटक पुस्तक किन्न जाँँदा भोलि वा पर्सी आइपुग्छ भन्नुहुन्छ।’

सधैँ पुस्तक किन्न जाँदा दुःख मात्रै पाइरहेको उनको भनाइ छ। सरकारले पाठ्यपुस्तकको कुनै समस्या नहुने बताए पनि समयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीले समस्या भोग्नु परेको त्रियुगा नमूना मावि गाईघाटका शिक्षक सञ्जय दत्तले बताए। समयमा पुस्तक वितरण हुन नसक्दा विद्यार्थीले समस्या भोग्नु परेको चौदण्डी नगरपालिका-९ जनता मावि हँडियाका अभिभावक दीपेन्द्र चौधरीले बताए।

पुस्तक पसल सञ्चालकले समयमा पुस्तक उपलब्ध गराउन नसकेको भन्दै अहिले अभिभावक तथा विद्यार्थीहरूले गुनासो गर्न थालेका छन्। नयाँ शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्न लाग्दा पनि पुस्तक पसल सञ्चालकले सबै विषयका पुस्तक विद्यार्थीलाई वितरण गर्न सकेका छैनन्।

न्यौपाने पुस्तक पसल गाईघाटका सञ्चालक विष्णु न्यौपानेले विराटनगरबाट वितरण केन्द्रले सबै पुस्तक समयमा नै पठाउन ढिलाइ गरेका कारण पुस्तकको अभाव भएको छ।

श्याम पुस्तक पसल गाईघाटका सञ्चालक श्याम साहका अनुसार वितरण केन्द्रको कारण नै सबै पुस्तक प्राप्त गर्न नसक्दा वितरणमा समस्या आएको छ। उदयपुरको कटारी, बेल्टार, गाईघाट क्षेत्रका विद्यार्थीले समयमा पुस्तक प्राप्त नभएको गुनासो गरेका छन्। रासस

प्रकाशित: २३ वैशाख २०८० १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =