उँभौलीमा पनि कोशी प्रदेशको विरोध [फोटो फिचर]

दिपेश श्रेष्ठ २२ वैशाख २०८० १६:२५
14
SHARES
उँभौलीमा पनि कोशी प्रदेशको विरोध [फोटो फिचर]

काठमाडौँ- उँभौली पर्व पनि कोशी प्रदेश नामकरणको विरोध गर्दै मनाइएको छ। किराँत समुदायले मनाउने उँभौली पर्व शुक्रबार देशभरका किराँत समुदायले मनाएका छन्।  प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत समुदायले प्रकृति र भूमि पूजा गरेर मनाएका हुन्।

यस वर्ष भने पर्व मनाए सँगसँगै किराँत समुदायले कोशी प्रदेश नामकरण गरेकोमा विरोध पनि जनाएको छ।  काठमाडौँको बानेश्वरमा भेला भएका किराँती समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजासहित प्रदेश नामकरणको विरोध गरेका हुन्। सबैले आफ्नो सांस्कृतिक पोसाकसहित ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।

किराँत राई याक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरुको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको बताए। उनले संघीयताको मर्मविपरीत कोशी प्रदेश नामकरण गरिएको भन्दै त्यसमा आफूहरु विगत दुई महिनादेखि आन्दोलित भएका कारण खुसीसाथ उँभौली पर्व मान्न नसकेको बताए।

उनले भने, ‘राज्यले हाम्रो सांस्कृतिक पहिचानलाई, हाम्रो चाडहरुलाई बहिष्करण गर्‍यो। यसको पहिचानलाई स्वीकारेन। प्रदेशमा संघीयताको मर्मअनुसार प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा नामकरण गरियोस् भनेर हामीले लामो समयदेखि आन्दोलन गरिराखेका थियौँ।’

उनले राजा महेन्द्रले राखेको नदीनालाको नाम ‘कपीपेस्ट’ गरेको आरोप लगाए। उनले भने, ‘१ नम्बर प्रदेशमा पहिचानका आधारमा नाम हुन्छ भन्ने कल्पना गरेका थियौँ तर त्यहाँ रातारात केन्द्रको ठूला दलका शीर्ष नेताले सामान्य प्रक्रिया पनि पूरा नगरी रातारात डकैती शैलीमा कोशी प्रदेश ल्याइयो।’

पहिचानविरुद्धमा भएको कारणले गर्दा आफूहरू सडकमा आउनुपरेको उनले बताए। राईले भने, ‘दुई महिनादेखि सडकमा छौँ। हाम्रो चाडपर्व खुसीसाथ मनाउनुभन्दा पनि खबरदारी, आक्रोश, पीडा व्यक्त गर्नेगरी देशभरका विभिन्न चोकमा विरोध गरेर उँभौली मनाएका छौँ।’ उनले कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानका आधारमा पुनः नामकरण गर्न माग गरेका छन्।

प्रकाशित: २२ वैशाख २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =