चीन र युरोप साझेदारीमा नयाँ आयाम

अजय अलौकिक १ जेठ २०८१ १८:२४
20
SHARES
चीन र युरोप साझेदारीमा नयाँ आयाम

गत साता चीनका राष्ट्रपति सी चिनफिङले युरोप भ्रमण गरेका छन्। सीले मे ५ देखि ११ सम्म फ्रान्स, सर्बिया र हंगेरी भ्रमण गरेका हुन्। यो उनको यस वर्षको पहिलो विदेश भ्रमण थियो। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले तीन देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग ३० भन्दा बढी कूटनीतिक भेटवार्ताहरूमा सहभागिता जनाएका थिए।
फ्रान्स भ्रमणका क्रममा दुवै पक्षले चारवटा संयुक्त घोषणापत्र जारी गरेका छन्। साथै हरित विकास, उड्ड्यन, कृषिखाद्य, वाणिज्य र जन-जनबीचको आदान-प्रदानजस्ता क्षेत्रहरूमा १८ वटा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।

चीन र हंगेरीले द्विपक्षीय सम्बन्धलाई ‘नयाँ युगका लागि सदाबहार व्यापक रणनीतिक साझेदारी’ मा परिणत गरेको घोषणा गरेका थिए। सीको भ्रमणकै बेला सर्बिया चीनसँग साझा भविष्यसहितको समुदाय निर्माणको पुष्टि गर्ने पहिलो युरोपेली देश बनेको छ। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले सीको युरोप भ्रमणले चीन तथा मध्य र पूर्वी युरोपेली देशबीचको सम्बन्धको महत्त्वलाई जोड दिएको स्पष्ट पारेका छन्।

परराष्ट्रमन्त्री वाङले भने,‘ग्रिष्म ऋतुको सुरुमा राष्ट्रपति सीले सन् २०२४ को पहिलो भ्रमण गर्नुभएको हो। उहाँले ३ देशका ४ क्षेत्रको भ्रमण गर्नुभयो। सो अवसरमा ३० भन्दा बढी कार्यक्रममार्फत द्विपक्षीय र बहुपक्षीय वार्ता भएका छन् जहाँ राजनीतिक तथा आर्थिक विषय समेटिएका छन्।’ औपचारिक तथा अनौपचारिक कार्यक्रममा हार्दिकतापूर्वक आदानप्रदान भएको जानकारी दिँदै वाङले भने,‘औपचारिक राजकीय कार्यक्रम पनि छ, टाई नलगाउने अनौपचारिक अवस्थाको हार्दिकता साटासाट पनि छ। व्यापक रणनीतिक वार्ता पनि छ, मन जोड्ने गफ पनि छ। तीनै देशले सीको भ्रमणलाई उच्च महत्त्व दिँदै विशेष खातिरदारी गरेका छन्।’

परराष्ट्रमन्त्री वाङले भ्रमणमा राष्ट्रपति सीले युरोपका नेतागणसँग युक्रेन संकट, प्यालेस्टाइन र इजरायल भिडन्तलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय तात्तातो मामिलाबारे गहिरो रूपमा वैचारिक आदानप्रदान गरिएको बताए। साथै श्रीमती कूटनीति पनि यो भ्रमणमा मुख्य आकर्षण बनेको उनी दाबी छ। सो भ्रमणलाई परराष्ट्रमन्त्री वाङले निम्न पाँच बुँदामा स्पष्ट पारेका छन्।

१. दौत्य सम्बन्ध स्थापनाको मूल आकांक्षाको पालना गरी चीन र फ्रान्सको सम्बन्धलाई अघि बढ्न र बढाउन प्रवर्द्धन गर्नेछ।

२. फलामले ढाकेको मित्रतालाई निरन्तरता दिँदै नयाँ युगमा चीन र सर्बिया भाग्य समुदायको निर्माण सुरु गरेको छ।

३. परम्परागत मित्रतालाई सबल बनाउँदै चीन र हङ्गेरीको सम्बन्धलाई स्वर्ण मार्गमा रूपान्तरण गर्न नेतृत्व गरेको छ।

४. सही धारणालाई आकार दिन चीन र युरोपबीच साझेदारी सम्बन्धको सही स्थितिको पालना गर्न नेतृत्व गरेको छ।

५. ठूलो मुलुकको जिम्मेवारी वहन गर्दै विश्वशान्तिका लागि चिनियाँ योजना प्रस्तुत गरेको छ।

फ्रान्स भ्रमण

अशान्त विश्वले स्थिरता र सकारात्मक ऊर्जाको आभास

चीन र फ्रान्सबीच दौत्य सम्बन्ध भएको ६०औँ वार्षिकोत्सव मनाइँदैछ। सोही कारण पनि चिनियाँ राष्ट्रपति सीले फ्रान्सलाई भ्रमणका लागि पहिलो मुलुक छनोट गरेका हुन्। यसअघि सन् २०१४ र २०१९ मा चीन र फ्रान्स बीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ र ५५औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राष्ट्रपति सीले फ्रान्स भ्रमण गरेका थिए। राष्ट्रपति इम्यान्युएल म्याक्रोँको निमन्त्रणामा फ्रान्सको तेस्रो राजकीय भ्रमण गरेका राष्ट्रपति सीले आफ्ना समकक्षीसँगको वार्तामा चीन-फ्रान्स सम्बन्धले विश्वलाई निश्चित दिशा दिनुका साथै ठूलो मुलुकको जिम्मेवारीबोध देखाएको बताएका थिए।

अर्को ६० वर्ष चीन र फ्रान्स दुवै पक्षले आपसी सम्बन्धको निरन्तर विकास गर्दै जाने प्रतिबद्धता सीको थियो। उनले यस्तो सम्बन्धले दुवै देशका जनताको हितकल्याण सिर्जना गर्नुबाहेक विश्वशान्ति र विकासलाई अघि बढाउन सक्ने औँल्याएका छन्। वर्तमान विश्व परिस्थिति नियाल्दा चीन-फ्रान्स सम्बन्धलाई थप विकास गर्दा चीन युरोप सहकार्यलाई प्रवर्द्धन हुन सक्ने तथा विश्वशान्ति र स्थिरता संरक्षणका लागि ज्यादै महत्त्वपूर्ण रहने उनको भनाइ छ।

६० वर्षअघि चीन र फ्रान्सले शीतयुद्ध तोडेर राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए। हालैका वर्षमा चीन-फ्रान्स सम्बन्धले उच्चस्तरको विकासलाई कायम राखेका छन्। यस क्रममा उड्ड्यन, अन्तरिक्ष, आणविक ऊर्जा, कृषिखाद्यलगायतका क्षेत्रको सहयोगले लगातार नयाँ उपलब्धि हासिल गरेको छ। दुवै देशले जलवायु परिवर्तनलाई सम्बोधन गर्न, जैविक विविधताको संरक्षण र विश्वव्यापी शासन सुधार गर्न घनिष्ट समन्वय र सहयोग गरेका छन्। चीन-फ्रान्स सांस्कृतिक तथा पर्यटन वर्षका विभिन्न गतिविधि तीव्र गतिमा भइरहेका छन्। चीन-फ्रान्स बीचको सम्बन्धको विकासले दुई देशका जनतालाई मात्र हित नभई अशान्त विश्वले स्थिरता र सकारात्मक ऊर्जाको आभास पाएको छ।

चीन र फ्रान्स बीचको कूटनीतिक सम्बन्ध स्थापनाले पूर्व र पश्चिमबीच पुल निर्माण गरेको छ र वार्ता तथा सहयोगको दिशामा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेको छ। सो भ्रमण अवधिमा दुवै पक्षले ‘मध्यपूर्वी परिस्थिति सम्बन्धी चीन फ्रान्स संयुक्त वक्तव्य’ जारी गरेका छन्। दुवै पक्षले प्यालेस्टाइन इजरायल भिडन्त, इरानी आणविक मामिला र लालसागर संकटलगायतका मध्यपूर्वी आपत्कालीन विषयका सम्बन्धमा एउटै धारणा लिई साझा आवाज पनि उठाएका छन्। भ्रमणले विश्वशान्ति र स्थिरताको संरक्षण गर्न चीन र फ्रान्स दुवैले ठूलो देशको जिम्मेवारीबोध गर्दै मध्यपूर्वको समस्या समाधानका लागि महत्त्वपूर्ण शक्ति पनि थपेको छ।

यसैगरी सी चिनफिङले फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेअरसँग त्रिपक्षीय वार्ता पनि गरेका थिए जसले पनि भ्रमणलाई थप अर्थपूर्ण बनाएको छ। यसबाहेक सीले राष्ट्रपति म्याक्रोँसँग चीन फ्रान्स उद्योग व्यवसायी परिषद्को छैटौँ सम्मेलनको समापन समारोहमा भाग लिँदै चीनले दूरसञ्चार, चिकित्साजस्ता सेवा व्यवसायहरूको बाह्य खुलापनलाई विस्तार गर्ने र बजार खोल्ने तथा फ्रान्स र युरोपका साथै विभिन्न मुलुकका उद्योगी व्यवसायीहरूका लागि बजारको अझै राम्रो मौकाको सिर्जना गर्ने कुरामा जोड दिएका छन्। सीले यसपटकको भ्रमणमार्फत राष्ट्रपति म्याक्रोँसँग दुई मुलुकको सम्बन्धको अर्को साठी वर्षको नयाँ प्रक्रिया सुरु गर्ने, विश्वशान्ति तथा स्थिरता र मानव विकास तथा प्रगतिकालागि नयाँ योगदान दिने आशा व्यक्त गरे।

सर्बिया भ्रमण

सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुसिकको निमन्त्रणामा चिनियाँ राष्ट्रपतिले मे ७ देखि ८ तारिखसम्म सर्बियाको राजकीय भ्रमण गरेका थिए। सो अवधिमा दुवै देशका राष्ट्रप्रमुखले चीन सर्बिया सम्बन्ध, दुई देशको चौतर्फी सहकार्य, संयुक्त बेल्ट एन्ड रोडको निर्माण, चीन मध्यपूर्वी युरोपेली मुलुक सहकार्य, चीन युरोप सम्बन्ध र साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गरी विस्तृत मतैक्य प्राप्त गरेका छन्।

दुवै पक्षले संयुक्त वक्तव्य जारी गरी स्वतन्त्र, एकले अर्काको सम्मान गर्ने, आपसी विश्वाससहित, सहकार्य र साझा जित, संयुक्त विकास तथा एकले अर्कालाई समर्थन गर्ने सिद्धान्तलाई कायम राख्दै चीन-सर्बिया सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्ध उकास्दै जाने अठोट लिएका छन्। साथै दुवै पक्षले नयाँ युगमा चीन सर्बिया एकरूपताको स्थापना गर्दै दुवै देशका जनताका लागि हितकल्याण सिर्जना गरी मानवजातिको शान्ति र प्रगतिका लागि नयाँ योगदान गर्दै जाने प्रतिबद्धता जनाएका छन्। भेट-वार्ताछि संयुक्त रूपमा पत्रकारहरूसँग भेटमा राष्ट्रपति सीले चीनले नयाँ युगमा चीन सर्बिया भाग्य एकरूपताको निर्माणलाई समर्थन गर्न ६ वटा वास्तविक कदमसमेत घोषणा गरे।

पहिलो, दुवै पक्षको साझा प्रयासमा चीन सर्बिया स्वतन्त्र व्यापारिक सन्धि चालु वर्षको जुलाई १ देखि औपचारिक रूपमा लागू गरिनेछ।

दोस्रो, चीनले सन् २०२७ पेसागत विश्व एक्स्पो आयोजना गर्न सर्बियालाई समर्थन गर्नेछ।

तेस्रो, सर्बियाका विशेषतायुक्त उत्कृष्ट कृषिवस्तुको निर्यात प्रवर्द्धन गर्न चीन इच्छुक छ।

चौथो, आगामी तीन वर्षभित्र चीनमा विज्ञान क्षेत्रमा आदानप्रदानका लागि चीनले ५० जना सर्बियाली युवा वैज्ञानिकलाई समर्थन गर्नेछ।

पाँचौँ, आगामी तीन वर्षमा चीनले तीन सय सर्बियाली किशोरकिशोरीलाई अध्ययनका लागि निमन्त्रणा दिनेछ।

छैटौँ, बेल्ग्रेड सांघाई सीधा उडान रुट बढाउन चीनले सर्बियालाई स्वागत गरेको छ। चीन सर्बिया सम्बन्धको भावी विकासबारे चर्चा गर्दै राष्ट्रपति सीले तीनवटा प्रस्ताव पनि प्रस्तुत गरेका छन्।

पहिलो, दुवै देशले सम्बन्धको रणनीतिक विशेषतालाई प्राथमिकतामा राखी द्विपक्षीय सम्बन्धको सही दिशालाई सुनिश्चित गर्दै जाने।

दोस्रो, दुवै देश सहकार्यको वास्तविकतालाई कायम राख्दै दुई देशका जनताकालागि हितकल्याणको सिर्जना गर्दैजाने।

र,तेस्रो, दुई देशबीचको सम्बन्धको सिर्जनशीलतालाई बढाएर सहकार्यको नयाँ अध्याय खोल्दै जाने। यसका अतिरिक्त, दुवै देशका राष्ट्रनायकले ‘चीन सर्बिया सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारी त्यसलाई उकासेर नयाँ युगमा चीन सर्बिया भाग्य एकरूपताको स्थापना गर्न संयुक्त वक्तव्य’ पनि जारी गरेका छन्।

आठ वर्षअघि राष्ट्रपति सीले सर्बियाको भ्रमण गर्दा दुई राष्ट्रप्रमुखले चीन र सर्बियाको सम्बन्धलाई चौतर्फी रणनीतिक साझेदारी सम्बन्धका रूपमा माथि उकास्ने निर्णय गरेका थिए भने यसपटकको भ्रमणमा चीन र सर्बियाको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई सबल पार्ने र उकास्ने तथा नयाँ युगमा चीन र सर्बियाको भाग्य समुदायको सिर्जना गर्ने घोषणा गर्दै दुई पक्षले वक्तव्य पनि प्रकाशित गरेका छन्।

हंगेरीमा सीलाई गदगद बनाएको क्षण

चिनियाँ राष्ट्रपति सीले पन्ध्र वर्षपछि हंगेरीको भ्रमण गरेका हुन्। यसअघि उनी उपराष्ट्रपति रहँदा सन् २००९ मा हंगेरीको भ्रमण गरेका थिए। हंगेरी नयाँ चीन स्थापनापछि मान्यता दिने पहिलो देशमध्येको एक हो। दौत्य सम्बन्ध स्थापनादेखि दुई देशले सधैँ आपसी सम्मान, समान सहअस्तित्व र हितकर तथा साझा जितको भावना कायम राखेका छन्।

चालु वर्ष चीन र हङ्गेरीबीच दौत्य सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव हो। राष्ट्रपति सी चिनफिङलाई बुडापेस्ट विमानस्थलमा स्वागत गर्दै हंगेरी चीन भाषा विश्वविद्यालयकी एक विद्यार्थीले पुष्षगुच्छा दिएकी थिइन्। कुरा के हो भने सन् २००९ मा चीनका उपराष्ट्रपतिको हैसियतमा हंगेरी भ्रमण क्रममा उनलाई तीनै किशोरीले पुष्पगुच्छा दिएकी थिइन्। १५ वर्षपछि उही किशोरीबाट स्वागत फूल पाएको थाहा पाएपछि सी चिनफिङले आफूलाई गदगद तथा न्यानो लागेको बताएका थिए।

भ्रमणका क्रममा सीले हंगेरीका राष्ट्रपति सुल्योक र प्रधानमन्त्री भिक्टोर ओर्बानसँग भेटवार्ता गर्दै दुवै पक्षले चीन हंगेरीबीचको दृढ सम्बन्ध र परम्परागत मित्रताअनुसार दुई पक्षीय सम्बन्ध तथा साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयबारे गहन रूपमा आदानप्रदान गरिएपछि विस्तृत सहमति प्राप्त गरेका छन्।

सन् २०१७ मा सम्पूर्ण रणनीतिक साझेदार सम्बन्ध स्थापनापछि सहकार्यहरूबाट फलदायी नतिजाहरू प्राप्त भएको तथा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सम्पूर्ण रणनीतिक साझेदार सम्बन्धबाट नयाँ युगमा चीन हंगेरी सम्बन्धलाई ‘अल वेदर’ सदाबहार सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्ध बनाउने निर्णय गरिएको छ।

नयाँ युगमा चीन-हंगेरी ‘अल वेदर’ सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको संयुक्त घोषणाअनुसार नयाँ युगमा चीन हंगेरी सदाबहार सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको संयुक्त घोषणा अगाडि बढाउनका लागि दुवै पक्षले संयुक्त रूपमा निर्माण गर्ने ‘बेल्ट एन्ड रोड’ पहलमा र हंगेरीको ‘पूर्वतिरको विकासको खुलापन’ नीतिमा विकासको रणनीतिक पक्षको आदानप्रदान थप्नेछन्।

उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ सहकार्य अघि बढाउनेछन्। सहकार्यका परियोजनाको संरक्षण सफलतासाथ गरिनेछन्। आधारभूत पूर्वाधारको कनेक्टिभिटी र दुई देशबीचका अर्थतन्त्र सहकार्यको विकासका लागि दुई देशका सरकारहरूबीच चीन युरोप रेल सहकार्य संस्थाको स्थापना गर्ने सहमति भएको छ। दुवै पक्षले चीन युरोपबीचको भूमि तथा समुद्र राजमार्गको भन्सार सुविधाका सहकार्यलाई अगाडि बढाउने सहमति गरेको छ।

राष्ट्रपति सीले चालु वर्षको पहिलो विदेश भ्रमणको रूपमा गरिएको यो फ्रान्स, सर्बिया र हङ्गेरीको भ्रमणमा परम्परागत मित्रताको प्रसार, राजनीतिक विश्वासलाई गहन तथा आपसी हितकर सहकार्यलाई सबल पार्ने र देशदेशबीचको सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा राखेका छन्।

संयुक्त बेल्ट एन्ड रोडको निर्माण, अर्थतन्त्र, व्यापार, लगानी, विज्ञान तथा प्रविधि, कृषि, संस्कृतिलगायतका विविध विषयमा द्विपक्षीय सहयोग सम्बन्धमा चर्चा गरेका छन्। भ्रमणका क्रममा उनले आजको विश्व र समग्र परिस्थितिको चर्चा गर्दै देखिएका समस्या र यसका समाधानकालागि वैचारिक आदान प्रदान गरेका छन्। संसार आज धेरै अस्थिर रहेको र फेरि एकपटक धेरै जोखिमको सामना गर्नुपरेको फ्रान्सेली सञ्चारमाध्यममा प्रकाशित उनको हस्ताक्षरसहितको एउटा लेखमा उल्लेख छ। इतिहास सर्वोत्तम शिक्षक रहेको चिनियाँ राष्ट्रपति सीको भनाइ छ।

विश्वले इतिहासलाई पढेर, बुझेर अघि बढ्नुपर्छ। जिम्मेवारीबोध गरेका विश्वका नेताहरूको भ्रमण, वार्ता तथा सहकार्यले विश्वमा शान्ति, भ्रातृत्व तथा विश्व विकास र मानवजातिको प्रगतिका लागि नयाँ योगदान गर्न सक्छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको यस युरोप भ्रमणबाट विश्वले यस्तै आशा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =