जोटाले जगाए लिभरपुलको आशा

हिमाल प्रेस १८ वैशाख २०८० ११:४१
16
SHARES
जोटाले जगाए लिभरपुलको आशा

काठमाडौँ- टोटनहमलाई ४-३ ले हराउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने झिनो आशालाई जीवित राखेको छ। एनफिल्डमा आइतबार राति दुवै टिमले आतिरिक्त समयमा एक-एक गोल गरे। रिचारलिसनको गोलले खेल ३-३ को बराबरीमा पुगेको थियो। तर डिएगो जोटाले खेलको अन्तिम गोल गरेपछि लिभरपुल विजयी भयो।

यो जितले लिभरपुललाई पाँचौँ स्थानमा पुर्‍याएको छ। लिभरपुलले ३३ खेलबाट ५६ अंक बटुलेको छ। जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा सात अंक कम हो। लिभरपुलभन्दा एक खेल बढी खेलेको टोटनहम भने ५४ अंकका साथ छैटौँ स्थानमा छ। एस्टन भिल्ला र ब्राइटन क्रमशः सातौँ र आठौँ स्थानमा छन्। भिल्लासँग ५४ र ब्राइटनसँग ५२ अंक छ। यद्यपि ब्राइटनले लिभरपुलभन्दा दुई खेल कम खेलेको छ।

लिभरपुलले सुरुवाती १५ मिनेटभित्र तीन गोल गरेको थियो। कर्टिस जोन्सले तेस्रो, लुइस डियाजले पाँचौँ र मोहमम्म सलाहले १५ औँ मिनेटमा गोल गरेका थिए। जोन्सले ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको लामो पासलाई सदुपयोग गरी लिभरपुललाई अग्रता दिलाएका थिए।

अक्टोबरयता पहिलो पटक पहिलो एघारमा परेका कोलम्बियाली फरवार्ड डियाजले कोडी गाक्पोको पासमा गोल गरे। गाक्पोलाई क्रिस्टियन रोमेरोले लडाएपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो। जसलाई सदुपयोग गर्दै सलाहले व्यक्तिगत १७ औँ लिग गोल गरे।

तीन गोल गरेपछि केही सुस्ताएको लिभरपुलले पहिलो हाफ नसकिँदै गोल खायो। टोटनहमको कप्तानी गरिरहेको ह्यारी केनले भान पेरिसिकको क्रसमा गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्‍याएका थिए। प्रिमियर लिगमा केनका लागि यो २०८ औँ गोल थियो।

यही गोलले केनलाई प्रिमियर लिगको उच्च गोलकर्ताको दोस्रो स्थानमा पुर्‍याएको छ। जहाँ वायन रुनी पनि छन्। शीर्षस्थानमा भने एलन शियरर छन्। उनले ब्लाकबर्न रोभर्स र न्युकासल युनाइटेडमा १४ सिजन खेलेर कुल २६० गोल गरेका थिए।

सन ह्युङ मिनले ७७ औँ मिनेटमा गोल गर्दै टोटनहमलाई ३-२ को स्थितिमा पुर्‍याए। त्यसपछि थपिएको तेस्रो मिनेटमा रिचारलिसनले टोटनहमको तेस्रो गोल गरेका थिए। यो गोल सनकै पासका कारण सम्भव भएको थियो।

जोटाको गोलसँगै जित निश्चित भएपछि लिभरपुलका प्रशिक्षक योगर्न क्लपले मनाएको खुसीयाली हेर्नलायकको थियो। खुसीयाली मनाउँदा उनले ‘ह्यास्ट्रिङ’ को चोट त भोगे नै पहेलो कार्डसमेत पाए। ‘फोर्थ अफिसियल’ जोन ब्रुक्सको सामुन्ने पुगेर खुसीयाली मनाएका क्लपले पत्रकार सम्मेलनमा रेफ्री पउल टिर्नेको आलोचना गरेका थिए।

‘टिर्नेसँगको हाम्रो विगत राम्रो छैन। के कारणले हो, उनी सधैँ लिभरपुलविरुद्ध देखिन्छन्। उनले लिभरपुलसँग आफ्नोे केही समस्या नरहेको त बताएका छन् तर यो सत्य होइन जस्तो लाग्छ,’ क्पले भनेका छन्, ‘हो मैले त्यसरी खुसीयाली मनाउन आवश्यक थिएन। तर उनले मलाई जे भनेर पहेलो कार्ड दिए, त्यो सही थिएन।’

टिर्नेले के भने भन्नेबारे क्पपले खुलाउज खुलाउन मानेनन्। गत सिजन पनि लिभरपुल र टोटनहमबीचको खेलको रेफ्री रहेका टिर्नेलक्षित अभिव्यक्तिलाई लिएर क्लपमाथि कारबाही हुने बताइएको छ।

टोटनहमलाई हराएसँगै लिभरपुलले अपराजित यात्रालाई ६ खेलमा पुर्‍यायो। लगातार चार खेलमा जित हात पारेको लिभरपुलको शीर्ष चारमा पर्ने सम्भावना जीवित छ। तर यो लक्ष्य पार गर्न सजिलो छैन।

‘यो जितपछि लिभरपुलका सबै समर्थक उत्साहित भएर घर फर्किएका छन्। यो जोटाका कारण सम्भव भयो। उनलाई धन्यवाद दिनुपर्छ। हुन त प्रशिक्षकका रुपमा मैले जितको सबैलाई दिनैपर्छ,’ अन्तरिम प्रशिक्षक रायन मेसोनको नेतृत्वमा खेलिरहेको टोटनहममाथि रोमाञ्चक जित हात पारेपछि क्लपले भने।

यो सिजन लिभरपुलसँग दोस्रो पटक हारेपछि टोटनहम भने थप अप्ठ्यारोमा परेको छ। लगातार चार खेलमा जितविहीन रहेको टोटनहम चार खेल खेल्न बाँकी छँदा चौथो स्थानबाट नौ अंकले पछि परिसकेको छ।

‘यो खेलमा हामीले लिभरपुलभन्दा राम्रो प्रदर्शन गरेको हो। तर पनि जित्न सकेनौँ। यसकारण हामी दुःखी छौँ। खासमा भन्दा लिभरपुल १० खेलाडीमा सीमित हुनुपर्ने थियो। किनभने जोटाले ओलिभर स्किपमाथि गरेको फाउल रातो कार्ड पाउन लायकको थियो,’ जारी सिजन टोटनहमले नियुक्त गरेको तेस्रो प्रशिक्षक मेसनले भने।

प्रकाशित: १८ वैशाख २०८० ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =