बदलिरहने जनमत

कसैको हुँदैन मत

विजय नेपाल १७ वैशाख २०८० १२:२८
58
SHARES
कसैको हुँदैन मत तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि जनतामाझ खुसी साट्दै रास्वपाका स्वर्णिम वाग्ले। तस्बिर स्रोत : रास्वपाको फेसबुक।

रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनाएका तनहुँ-१ का मतदाता कांग्रेसको पकडमा रहेनन् नै पूर्व प्रहरी महानिरीक्षकसमेत भइसकेका सर्वेन्द्र खनालको संसद् छिर्ने दोस्रो प्रयास पनि विफल भयो।

पोखरा- गत स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिका प्रमुख र उपप्रमुख  कांग्रेसले जितेको थियो। १३ वडामध्ये कांग्रेसले ९ तथा एमाले र स्वतन्त्र उम्मेदवारले दुई-दुई वडा जितेका थिए। वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ती वडामा सबैभन्दा बढी मत ल्याए।

आबुँखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद गठबन्धनको अर्को दल माओवादी केन्द्रले जितेकोमा अहिले स्वर्णिमले नै बढी मत ल्याए। व्यास, भानु, बन्दीपुर, आँबुखैरेनी, देवघाटका अधिकांश वडामा स्वर्णिमलाई जनताले मत खन्याउँदा करिब १५ हजार मतान्तरसहित चुनाव जितेर प्रतिनिधिसभाको दैलो उघार्न सफल भएका छन्।

स्वर्णिमले ३४ हजार ९१९ मत प्राप्त गर्दा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याए। एमाले तेस्रो स्थानमा रह्यो। आमनिर्वाचनमा काठमाडौँ-६ बाट पराजित एमालेका सर्वेन्द्र खनाल आफ्नै गृहजिल्लामा पनि सफल हुन सकेनन्। खनालले ८ हजार ४८८ मात्र मत ल्याए। कुल मतदाता १ लाख २३ हजार ३०५ मध्ये ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ सदर भएको थियो।

कांग्रेसका रामचन्द्र पौडेलले २०७४ सालको आमनिर्वाचनबाहेक २०४८ सालयताका सबै चुनाव जितेको क्षेत्रमा चुनावको केही दिनअघिमात्र कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका स्वर्णिमको जितले नेपाली राजनीतिमा नयाँ तरंग छाएको छ।

कांग्रेसलाई लगातार जिताए पनि आमजनताका लागि खासै काम नगरेको भन्दै रुष्ट मतदाता नयाँ दलतिर आकर्षित भएका हुन्। अर्थतन्त्र राम्ररी बुझेका स्वर्णिम वाग्ले घरदैलोमा आइपुगेपछि उनलाई अवसर दिएको बताउँछन् मतदाता।

चुनावमा कांग्रेस, एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने पूर्व अनुमान थियो। कांग्रेसले सरल व्यक्तित्व र जनतासँग भिजेका भनेर गोविन्द भट्टराईलाई टिकट थमाएको थियो।

गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गोविन्दलाई जिताउन सिंगो सत्ता पक्ष मरिमेटेर लागेको थियो। चुनाव प्रचारप्रसार समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ३ पूर्वप्रधानमन्त्रीलाई चुनावी सभामै उतारेको थियो। शेरबहादुर देउवा, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले मतदाता फकाउने कोसिस गरे। डुम्रेमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै शीर्ष नेताहरूले भट्टराईलाई जिताएमा मन्त्री बनाइदिने आश्वासन दिए। तर त्यही भाषण गठबन्धनका लागि अभिसाप बन्न पुग्यो। प्रतिस्पर्धामा रहेको एमालेका शीर्षनेताहरू पनि पटकपटक तनहुँ आएर मिठा भाषण गर्दै मतदाता रिझाउन नखोजेका होइनन्।

तनहुँका कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्लेले हिमालप्रेससँगको कुराकानीमा रास्वपाप्रति टिप्पणी गर्दै यतिसम्म भनेका थिए कि ‘पहिले ६ हजार मत ल्याएको थियो। अहिले खुब ल्याए १२ हजार ल्याउला। जित त कांग्रेसकै सुनिश्चित छ।’

वाग्लेको त्यो टिप्पणीविपरीत स्वर्णिम वाग्लेले झण्डै तेब्बर बढी मत ल्याएर चुनाव जिते। कांग्रेस उम्मेदवार भट्टराईलाई १५ हजार मतान्तरले हराएर स्वर्णिमयुग सुरु भएको कतिपयको विश्लेषण छ। रास्वपाको यो मतले देखाउँछ- कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका पुराना दलप्रतिको वितृष्णा कति छ।

स्वर्णिमले घरदैलो जाँदा मतदातालाई पुरानो तरिकाले गरिने गरिएको राजनीतिलाई भत्काउनै खोजेको बताउने गर्थे। २०४६ सालमा एसएलसी बोर्ड दोस्रो स्वर्णिम देश विदेशको अर्थतन्त्र बुझेका युवा नेता हुन्।

राजनीतिक विश्लेषक नीलकण्ठ शर्मा तनहुँ-१ को निर्वाचन परिणामले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा महत्त्वपूर्ण छाप छोडेको बताउँछन्। ‘अब तनहुँ १ का रास्वपा सांसद वाग्ले राष्ट्रिय एवम् चुनावी क्षेत्रका मुद्दामा कसरी प्रस्तुत हुनेछन्, त्यो त हेर्न बाँकी नै छ,’ उनी भन्छन्, ‘तर हार्ने कांग्रेस-एमाले लगायतका दलका निम्ति सुधारको मौका हो।’

विशेष गरी कांग्रेसको निम्ति आफ्नो दल कति कमजोर रहेछ सिकाएको र देखाएको हुँदा सुध्रिने मौका मिल्ने उनको भनाइ छ। ‘यो इभोलुसन हो। यसलाई केही पनि होइन भनियो र पाठ सिकिएन भने रिभोलुसन हुन्छ,’ उनी भन्छन्।

शर्माको झैँ समान विश्लेषण छ, वरिष्ठ अधिवक्ता तिलक पराजुलीको पनि। पराजुली भन्छन्, ‘रास्वपाका पक्षमा मत जानु भनेको पुराना दलप्रति आक्रोश पनि हो। त्यहीअनुसार मत प्रकट भएको छ। रास्वपा वा यसका सभापति रवि लामिछानेले ठूलो तरक्की गर्छन् भनेर जनताले दिएका त होइनन् तर जसरी मुलुकमा कुशासन, भ्रष्टाचार, राज्य दोहन व्याप्त थियो, त्यसको चेतावनी हो।’

कांग्रेस-एमालेले जसरी जनताताई मुठीमा राखेका थिए, जमिनदारी ठानेका थिए, त्यो अब नचल्ने राजनीतिक विश्लेषकसमेत रहेका पराजुलीको निष्कर्ष छ।

मंसिरको आमनिर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल २५ हजार ३६१ मतसहित निर्वाचित भएका थिए। निकटतम् प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१, कांग्रेसविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८८६, रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए। राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ ल्याए। चुनावी प्रतिस्पर्धामा कुल १५ उम्मेदवारमध्ये अन्यले साढे ३ सयभन्दा कम मत प्राप्त गरेका थिए।

प्रकाशित: १७ वैशाख २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =