ए डिभिजन लिगमा दर्शकको खोजी

हिमाल प्रेस १३ वैशाख २०८० २३:०७
278
SHARES
ए डिभिजन लिगमा दर्शकको खोजी

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा उपाधि होडले आकार लिने प्रयत्न गर्दैछ। लगभग आधा खेल सकिएकाले अब लिग जित्ने टिमबारे अनुमान हुन थाल्नु स्वाभाविक हो। यस्तोमा दोस्रो स्थानको थ्रीस्टार क्लब र च्याम्पियन मछिन्द्र क्लब बुधबार आमनेसामने भए।

दशरथ रंगशालामा भएको यो खेल गोलरहित बराबरीमा सकियो। घरेलु फुटबलमा चर्चित क्लब थ्रीस्टार र गएका दुई सिजन लिग जितेको मछिन्द्र भिड्दा खेल रोमाञ्चक हुनुपर्ने हो। तर दुवै टिमको प्रदर्शन फिक्का रह्यो। मछिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले पनि खेल खल्लो भएको स्वीकार गरे।

खेल खल्लो हुनुका कारण के? दुई टिमका खेलाडीहरुको प्रदर्शन त छँदैछ, त्योबाहेक दर्शकको न्यून उपस्थिति। किशोरको जवाफ यही थियो।

हुन पनि घरेलु फुटबलका ठूलामध्येका दुई टिम आमनेसामने हुँदा रंगशाला दर्शकका आवाजले रंगशाला गुञ्जिनु पर्ने हो। तर बुधबार दशरथ रंगशालाको सामान्य पारापेट लगभग खाली थियो। भलै अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन हजार दर्शक थ्रीस्टार र मछिन्द्रबीचको खेल हेर्न दशरथ रंगशालामा उपस्थित भएको दाबी गरेको छ।

‘यस्ता ठूला खेलमा दर्शकको उपस्थिति उल्लेखनीय हुनुपर्छ। अनि पो खेलाडी पनि जोसिएर खेल्छन्। दर्शक थोरै भए, खेलाडी कम उत्तप्रेरित हुन्छन्। खेल खल्लो हुन्छ,’ किशोरले भने।

कुनै समय थियो, लिगका ठूला टिम आपसमा भिड्दा रंगशाला भरिन्थ्यो। तर पछिल्लो समय लिग हेर्न रंगशाला पुग्ने दर्शकको संख्या ओरालो लागिरहेको छ। यसपालि थ्रीस्टार, मछिन्द्र, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब लगायतका क्लब पनि क्राउड पुलर बन्न सकेका छैनन्।

उसो त यसपालि सर्वाधिक दर्शक पाउने भाग्यमानी क्लब थीस्टार नै हो। थ्रीस्टार र नेपाल एपीएफ क्लबबीचको खेल हेर्न ३५ सय दर्शक दशरथ रंगशाला पुगेका थिए। थ्रीस्टार र मनाङ भिड्दा २८ सय ३५ दर्शक दशरथ रंगशालामा थिए। तर अन्य खेलमा थ्रीस्टार, मनाङ र एपीएफले दुई हजारभन्दा बढी दर्शक पाएका छैनन्।

लिग दाबेदार भिड्दा पनि दर्शकले रंगशालामा पुग्ने जाँगर नचलाउनुका कारण के? दोष कसको? जबकि दर्शकलाई रंगशाला पुगौँ पुगौँ बनाउने काम क्लबहरुको हो। ‘हो, रंगशालामा दर्शक पुर्‍याउने काम क्लबहरुको पनि हो। तर यसमा क्लबहरु सफल भइरहेका छैनन्। किन हो थाहा छैन,’ किशोरको जवाफ थियो।

फितलो आक्रमण
मछिन्द्रसँगको बराबरीका कारण थ्रीस्टारले शीर्षस्थानको जावलाखेलसँग अंक बराबर गर्ने मौका गुमायो। १२ औँ चरण सकिँदा यी दुई टिमको क्रमशः २३ र २२ अंक छ। बुधबार साँझ जावलाखेलले रेलिगेसन क्षेत्रको हिमालयन शेर्पा क्लबसँग २-१ को पराजय भोग्यो। तर यो नतिजाको फाइदा थ्रीस्टारलाई भएन।

थ्रीस्टारलाई पन्छाएको भए मछिन्द्र छैटौँ स्थानमा पुग्ने थियो। मछिन्द्र हाल १७ अंकसहित सातौँ स्थानमा छ। छैटौँ स्थानको एपीएफको पनि १७ अंक नै छ।

मछिन्द्र, मनाङ, आर्मी जस्ता टिम उपाधि होडमा पछि परिरहेका बेला थ्रीस्टारले भने क्रमशः अंक तालिकामा सुधार गरिरहेको छ। सात खेलको अपराजित यात्रालाई कायम राख्ने क्रममा थ्रीस्टारले आर्मी र संकटा क्लबलाई पराजित गरेको थियो। मछिन्द्रलाई पन्छाउन सकेको भए थ्रीस्टारको उपाधि दाबेदारिताको विश्वसनीयता बढ्ने थियो।

यद्यपि लिगमा चौथो बराबरीले थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीलाई निराश बनाएको छैन। ‘बलियो विपक्षीलाई जित्न नदिनु पनि सफलता नै हो। विशेषगरी अहिलेको परिस्थितिमा। यसकारण बराबरी र एक अंकमा असन्तुष्ट छैनौँ,’ मेघराजले भने, ‘फेरि हामीले गोल गर्ने मौका नपाएको पनि होइन। तर ती मौकालाई सदुपयोग गर्न सकिएन।’

सुरुवाती दुई खेल हारेपछि दबाबमा परेको मछिन्द्र सम्हालिने प्रयास गरिरहेको छ। मछिन्द्र तेस्रोदेखि नवौँ चरणसम्म अपराजित रह्यो। त्यसबीचमा मछिन्द्रले तीन खेल जितेको थियो। अपराजित यात्राका कारण विस्तारै अंक तालिकामा माथि उक्लिँदै गएको मछिन्द्रले पछिल्ला दुई खेलमा भने पराजय भोग्न पुग्यो।

थ्रीस्टारविरुद्ध मछिन्द्रले आक्रमण नबुनेको होइन। तर उसका अधिकांश आक्रमणले थ्रीस्टारको बक्समा कुनै किसिमको खतरा पैदा गर्न सकेनन्। ‘हामीले आज निकै मौका पायौँ। तर हाम्रा कुनै पनि प्रहार टार्गेटमा थिएनन्। जसकारण तीन अंक बटुल्ने योजना सफल भएन,’ किशोरले भने।

उपाधि दाबेदारमाथि रेलिगेसन दाबेदारको धावा

यसपल्टको लिगमा ‘सप्राइज प्याकेज’ बनेको छ, जावालाखेल। नवौँ चरणबाट शीर्षस्थानमाथि ढुक्कले कब्जा जमाएको जावलाखेलले मछिन्द्रलाई हराउँदै लिगको सुरुवात गरेको थियो। थ्रीस्टार, सातदोबाटो, मनाङ र चर्च ब्वाइज जस्ता बलिया टिमलाई पन्छाएको जावलाखेलले बुधबार तेस्रो हारको सामना गर्‍यो।

दशरथ रंगशालामा जावलाखेललाई स्तब्ध बनाउन हिमालयन शेर्पाका पिस्टोने मुटाम्बाले पहिलो हाफको १० र १९ औँ मिनेटमा गोल गरेका थिए। जावलाखेल दोस्रो हाफमा खेलमा फर्कने कोसिस गरेको थियो। एन्कोटो सिनोस मासोअबीले गोल गरेपछि जावलाखेलले हार टार्ने संकेत गरेको पनि हो।

तर पाएका थप मौकामा गोल गर्न नसकेपछि जावलाखेल पराजय भोग्न बाध्य भयो। त्यो पनि यस्तो विपक्षीसँग जो रेलिगेसन क्षेत्रमा छ। उसो त जावलाखेल तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिरहेको टिमसँग हारेको यो पहिलो पटक होइन। जावलाखेललाई चौथो चरणमा फ्रेन्ड्सले २-१ ले पराजित गरेको थियो।

‘जितका लागि हरसम्भव प्रयास गरेको हो। तर अन्ततः असफल भइयो। अंक तालिकामा तल रहेको टिमसँग फेरि एकपल्ट हारेका छौँ। समयमै गोल गर्न नसक्नु नै हारको कारण बन्यो,’ जावलाखेलका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठको प्रतिक्रिया थियो।

यो हारले जावलाखेलको उपाधि जित्ने लक्ष्यमा कत्तिको असर पर्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘हामीले अहिलेसम्म उपाधिबारे सोचेकै छैनौँ। यसकारण यो हारले त्यसमा असर गर्छ भन्ने कुरै आएन। लिगमा धेरै खेल बाँकी नै छन्। हामी मेहनतका साथ अघि बढ्नेछौँ,’ सुनिलले भने।

उता हिमालयन शेर्पाका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिम अप्ठ्यारो स्थितिमा पुगेकोले जितबाहेकको नतिजा नसोचेको बताए। ‘हामीलाई यो खेल जित्नै पर्ने थियो। अब पनि हामी हारिरह्यौँ भने अझ खराब स्थितिमा पुग्छौँ। आजको खेलमा खेलाडीहरूले रणनीतिको पालना गरे। यद्यपि टिमले अझ लय भेट्न सकेको छैन,’ सुमनले भने।

हिमालयन शेर्पाका लागि यो तेस्रो जित थियो। १३ अंकका साथ १३ औँ स्थानमा यथावत् हिमालयन शेर्पाले १२ खेलमध्ये चारमा बराबरी गरेको छ भने पाँच खेल हारेको छ। पुछारको नेपाल पुलिस क्लबसँग नौ अंक छ।

बुधबार च्यासल रंगशालामा सातदोटोले संकटा क्लबलाई ४-० ले पन्छायो। पछिल्ला दुई खेलमा ६ गोल खाएर हारेको संकटाको संकट बढाउन सातदोबाटोका विलियाम ओपोकु एसिडेउ र दीपक राजसिंह ठकुरीले दुई-दुई गोल गरे।

लिगमा छैटौँ जित हात पारेपछि सातदोबाटो २१ अंकका साथ पाँचौँ स्थानमा छ। छैटौँ चरणमा जावलाखेलसँग हारेयता सातदोबाटोले एकपल्ट मात्र पराजित भएको छ। गत बिहीबार चर्च ब्वाइजसँग हारेको सातदोबाटोले १२ औँ खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको थियो।

संकटाले भने लगातार तेस्रो पटक पराजय भोगेको हो। यसअघिका दुई खेलमा संकटालाई थ्रीस्टार र फ्रेन्ड्सले पन्छाएका थिए। लिगमा १२ औँ चरण सकिँदा संकटा १५ अंकसहित नवौँ स्थानमा छ।

प्रकाशित: १३ वैशाख २०८० २३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =