नवलपरासीमा सामसङको कारखाना, टेलिभिजन उत्पादन सुरु

हिमाल प्रेस १३ वैशाख २०८० १७:५८
76
SHARES
नवलपरासीमा सामसङको कारखाना, टेलिभिजन उत्पादन सुरु लुम्बिनीको नवलपरासीमा गत वैशाख १३ गते सामसङको टेलिभिजन कारखाना उद्घाटन गरिँदै।

काठमाडौँ- बहुराष्ट्रिय कम्पनी सामसुङले नवलरासीमा टेलिभिजन उत्पादन सुरु गरेको छ। विभिन्न देशमा स्मार्टफोन, टेलिभिजनलगायतका इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्दै सामसुङले बुधबारदेखि नेपालमा पनि उत्पादन थालेको हो।

सामसङको नेपाली साझेदार कम्पनी हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा टेलिभिजन कारखानाको उद्घाटन गरिएको हो।

स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्न थालेको यो नै पहिलो उदाहरण रहेको सामसङ दक्षिण–पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेबी पार्कले बताए।

बुधबार सामसङको उक्त टेलिभिजन कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र पार्कले संयुक्त रूपमा गरे।

 उद्घाटन समारोहमा गोल्छा समुहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्कलगायत स्थानीय अधिकारीहरूको पनि उपस्थिति थियो।

सो क्रममा सीईओ पार्कले सामसुङ ब्राण्डले नेपाली सर्वसाधारणसँग बलियो सम्बन्ध गाँसेको बताए। ‘नेपालमा २ दशकभन्दा बढी समयदेखि रहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको छ,’ सीईओ पार्कले भने, ‘टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई थप बलियो बनाउनेछ।’

सामसङले नेपाली जनतालाई रोजगारीका अवसरहरू पनि उपलब्ध गराउने उनको भनाइ थियो। कम्पनीले दक्ष जनशक्ति निर्माण गर्नमा पनि उल्लेख्य भूमिका निर्वाह गर्ने उनले बताए।

त्यस्तै गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले सामसुङसँगको सहकार्यले नेपालमा व्याप्त सम्भावना देखाएको बताए। ‘सामसङसँगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउँछ। विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुची देखाउनु महत्वपूर्ण हो,’ उनले भने, ‘यस क्षेत्रलाई प्रवर्द्धन गर्ने उपयुक्त नीतिहरूसँगै यसले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने विश्वास लिएका छौँ।’

साथै रोजगारी, मूल्य अभिवृद्धि र देशको सीमापारीका अवसरहरूका रूपमा पनि धेरै योगदान पुग्ने विश्वास रहेको गोल्छाले बताए।

उक्त टेलिभिजन कारखानाको शिलान्यास गत अगस्टमा गरिएको थियो। उक्त कारखाना नेपालको उत्पादनको यात्रामा कोसेढुंगा हुने विश्वास लिइएको छ।

साथै स्थानीय उद्यम, नयाँ सीपहरू, खोजहरू र रोजगारका क्षेत्रमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। सामसङले नेपालमा २ दशकभन्दा बढीदेखि आफ्ना ब्राण्ड बिक्री गर्दै आएको छ।

सामसुङ कम्पनीले नेपाली बजारमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्रीवितरण गर्दै आएको छ। ५ सय वटा इलेक्ट्रोनिक्स रिटेल पसल तथा ग्राहक सेवा केन्द्रहरूमार्फत कम्पनीले कारोबार गर्दै आएको छ।

प्रकाशित: १३ वैशाख २०८० १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =