लाइसेन्स नवीकरण अब १० वर्षमा

हिमाल प्रेस १२ वैशाख २०८० १६:५९
2
SHARE
लाइसेन्स नवीकरण अब १० वर्षमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला।

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण अब हरेक १० वर्षमा गर्ने तयारीमा रहेको बताएका छन्। अहिले ५/५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ।

मन्त्रालयमा मंगलबार पूर्वाधार पत्रकार समूहसँगको भेटमा मन्त्री ज्वालाले भने, ‘स्मार्ट लाइसेन्स ५/५ वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार छ।’

सरकारको स्मार्ट लाइसेन्स वितरण सहज र सरल बनाउने काम प्राथमिकतामा रहेको जानकारी मन्त्री ज्वालाले दिए। मन्त्री ज्वालाले यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको जानकारी दिँदै लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको बताए।

उनले सरकारले सवारीचालक अनुमतिपत्रका लागि ट्रायल परीक्षा पास गरे लामो समयसम्म स्मार्ट लाइसेन्स कुरेर बसेकाहरूको समस्या एक महिनाभित्र अन्त्य गर्ने योजना बनाएको बताए।

उनले भने, ‘लाइसेन्स नवीकरण प्रत्येक पाँच वर्षमा गर्नुपर्ने तर लाइसेन्सको आयु २० वर्ष मात्रै भएकाले अब सरकारले १० वर्षमा नवीकरण गर्नेगरी ऐनमा व्यवस्था गरेर चाँडै लागू गर्न लागेको छ।’

उनले सवारीसाधनमा इम्बोस्ड नम्बरका विषयमा अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासो आएको भन्दै मन्त्रिपरिषद्‌बाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको पनि जानकारी दिए।

उनले भने, ‘सेवाग्राहीहरूलाई स्मार्ट लाइसेन्स सहज रूपमा उपलब्ध गराउने कुरा प्राथमिकतामा छ। सरकारले बनाएको योजनाअनुसार काम गरेर ७ महिनाभित्र लाइसेन्स लिन लामो समय कुर्नपर्ने अन्त्य गर्ने योजना बनाएका छौँ।’

मन्त्री ज्वालाले सडक वर्गीकरणको आधार तयार गरी संघ प्रदेश र स्थानीय तहले बनाउने गरी कानुनी रूपमै वर्गीकरण गर्ने बताए। उनले आगामी बजेटमा १ खर्ब १३ अर्ब रूपैयाँ मात्रै सिलिङ तोकिएको भन्दै खर्च नहुने योजनाको बजेट खर्च हुने ठाउँमा बजेट विनियोजन गरिने जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =