इन्जिनियर व्यवसायी दर्ता हुन पहिलोपटक लाइसेन्स परीक्षा

हिमाल प्रेस १२ चैत २०७९ १३:२९
4
SHARES
इन्जिनियर व्यवसायी दर्ता हुन पहिलोपटक लाइसेन्स परीक्षा इन्जिनियर व्यवसायीको लाइसेन्स परीक्षा दिन आएका परीक्षार्थीहरू।

काठमाडौँ- इन्जिनियरिङ काउन्सिलले पहिलोपटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको छ। इन्जिनियर उत्तीर्ण भएकाहरूले इन्जिनियर व्यवसायको लाइसेन्स लिन पहिलोपटक परीक्षा दिनु परेको हो।

आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको परीक्षामा २ हजार ६ जना इन्जिनियर सहभागी छन्। नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्ट्रार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तीर्ण भएकाहरूले इन्जिनियर व्यवसाय गर्न काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले परीक्षा सुरु गरेको बताए। उनले पहिलोपटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताए।

सदस्यसचिव गिरीका अनुसार परीक्षामा उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपालभर इन्जिनियरका रूपमा काम गर्न पाउने छैनन्। विगतमा इन्जिनियरको प्रमाणपत्र पाउनेहरूले भने परीक्षा दिनु नपर्ने उनको भनाइ छ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गरेका छन्। उनले परीक्षा निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै काउन्सिलले लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको बताए।

इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरूसँग परीक्षा लिने गरेको थिएन। काउन्सिलले विश्वविद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षाबिना लाइसेन्स दिएर इन्जिनियरको रूपमा काम गरिरहेका थिए। तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्न काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ।

प्रकाशित: १२ चैत २०७९ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =