तनहुँ १ मा २५ प्रतिशत मतदान, पृथ्वी राजमार्ग बन्द

विजय नेपाल १० वैशाख २०८० ११:०५
10
SHARES
तनहुँ १ मा २५ प्रतिशत मतदान, पृथ्वी राजमार्ग बन्द बन्दीपुर वडा ४ चन्द्रोदय आधारभूत विद्यालयमा मतदान हुँदै। तस्बिरः इन्द्रप्रसाद पौडेल

पोखरा- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र १ मा मतदान जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म (११ बजे) २५ प्रतिशत मत खसिसकेको अनुमान छ ।

तनहुँ क्षेत्र १ का ६९ मतदानस्थलका १ सय ५२ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

उनले भने, ‘सबै मतदान केन्द्रमा शान्तिपूर्वक तरिकाले मतदान भइरहेको छ। अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको अनुमान छ।’ साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ।

वैशाखको धूपमा दिउँसो गर्मी हुने भएकोले मतदाता सकेसम्म बिहानै मतदानस्थलमा पुग्ने कोसिस गरिरहेका छन्। तनहुँ १ मध्ये ३ वटा मतदानस्थल अतिसंवेदनशील र २४ वटा संवेदनशील तोकिएको छ । त्यसको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी ३ घेरामा सुरक्षा दिइएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रोमा नेपाली सेनाका सुरक्षाकर्मी गरी २ हजार ५ सय जना तैनाथ छन्। चुनावका लागि १ हजार ३ सय ६८ कर्मचारी खटिएका छन्।

निर्वाचन सुरक्षाका लागि पृथ्वी राजमार्गअन्तर्गत तनहुँ १ आसपासको सडकखण्ड पूर्ण रुपमा बन्द छ। मुग्लिन पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेंसीसहर सडकखण्ड, गोरखा आँबुखैरेनी सडकखण्ड र दमौलीको दुईपिप्ले सडकखण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताए।

तनहुँ १ अन्तर्गत पाँच पालिकाका ४२ वटा वडा पर्दछन्। व्यास नगरपालिकाको वडा १ देखि १४ मध्ये ५ र ६ बाहेकका वडा, भानु नगरपालिका, बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकाका सबै वडा पर्दछन्।

तनहुँ १ मा कुल १ लाख २३ हजार ३ सय ५० मतदाता छन्। गत ४ मंसिरको निर्वाचनको तुलनामा अहिले १ सय ८५ मतदाता घटेका हुन्।

यसअघि निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्र रिक्त भएको हो। उपनिर्वाचनमा ९ जना प्रतिस्पर्धामा रहे पनि खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान छ।

कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेबीचको त्रिपक्षीय भिडन्त रोचक छ। तीमध्ये खनाल र वाग्लेको यहाँ मतदाता नामावलीमा नाम नभएकोले भोट खसाल्न भने पाएनन्।

मतदान सकिएलगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने मतगणनामा तारजाली र सिसी क्यामेरा जडान गरिएको छ।

प्रकाशित: १० वैशाख २०८० ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =