यसपटक चितवन प्रयोगशाला बन्‍ने छैन : जितनारायण श्रेष्ठ [अन्तर्वार्ता]

हिमाल प्रेस ७ वैशाख २०८० २१:५१
26
SHARES
यसपटक चितवन प्रयोगशाला बन्‍ने छैन : जितनारायण श्रेष्ठ [अन्तर्वार्ता]

नेपाली कांग्रेस, चितवनको राजनीतिमा नेपाल विद्यार्थी संघबाट उदाएका हुन् जितनारायण श्रेष्ठ।  उनले माओवादी द्वन्द्वकालमा विद्यार्थी नेताको पहिचान बनाएका हुन्। त्यति बेला माओवादी कार्यकर्तासँग प्रत्यक्ष रूपमा  संघर्ष गरेका उनी चितवनको विकटमध्येको शक्तिखोरमा जन्मिएका हुन्। उनका बुवा स्व.बलबहादुर श्रेष्ठ लामो समय शक्तिखोर गाउँ विकास (हाल कालिका नगरपालिका) समितिका अध्यक्ष थिए। उनकी आमा तिलकुमारी श्रेष्ठ साबिक शक्तिखोर गाविसमा नेपाल महिला संघकी संस्थापक अध्यक्ष  हुन्। राजनीतिक  परिवारिक पृष्ठभूमिमा हुर्किएकाले उनमा सानैदेखि राजनीतिप्रति झुकाव थियो। त्यसैले उनलाई धेरैले बालकांग्रेस भनेर पनि चिन्छन्।

नेपाल विद्यार्थी संघ चितवनको अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य र सचिव हुँदै १३ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित श्रेष्ठ नेपाल राज्यभरमै ‘कान्छो जिल्ला सभापति’ का रूपमा चिनिन्छन्। हक्की स्वभावका श्रेष्ठ भाषणमा पनि निपुण छन्। त्यसैले कतिपयले उनलाई ‘चितवनको गगन थापा’ पनि भन्छन्। पटकपटक अरूलाई जिताएर पठाएका श्रेष्ठ  चितवन क्षेत्र नम्बर २ मा  १० गते हुन लागेको उपनिर्वाचन कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्। उपनिर्वाचनको मौनअवधि सुरु हुनुअघि उनै श्रेष्ठसँग हिमाल प्रेसले गरेको संक्षिप्त कुराकानी :

निर्वाचनको मौनअवधि आउन लागिसक्यो अझै घरदैलो सकिएको छैन?

आजको बल्ल सकेँ। अब भोलि (बिहीबार) एक दिन छ। त्यसपछि मौनअवधि लागू हुनाले भोट माग्न पाइँदैन। सबैलाई भेटेको छु। म यही माटोमा जन्मेको यही राजनीति गरेको र यहाँबाट धेरैलाई जिताएर पठाएको तर अहिले आफैँ मैदानमा उभिँदा सबैको सद्भाव पाएको महसुस गरेको छु।

माहोल मेरो पक्षमा पनि छ। सबैले नयाँ माहोललाई कम आकलन नगर्न भनिरहेका छन्। नयाँ पनि कस्ता हुन् भन्ने बुझिसकेका चितवनवासीले मलाई पुरानो कसरी भन्लान् र? म पनि पहिलोपटक प्रत्यक्ष सांसदमा प्रतिस्पर्धा गरिरहेको छु। यसअघि पार्टीभित्र प्रतिस्पर्धा गरेको हुँ। मेरो बुझाइमा र आममतदाताको आशीर्वाद सुन्दा जित्ने निश्चित छ। केही मिडियाले आफ्नो आचारसंहिता भुलेर समेत नतिजा निकालेको पाएको छु। त्यसको जबाफ आमनागरिकले दिनेछन्।

आमनागरिकसामु अन्य नेता लिएर जानु र आफूलाई भोट माग्नुमा कस्तो महसुस भइरहेको छ?

रमाइलोको साथै निकै बढी जिम्मेवार अनुभूति गरिरहेको छु। यो क्षेत्रको विकासदेखि यहाँका समस्या समाधानमा आफूले अहिले दिएको वचन पूरा गराउन अहिलेदेखि नै सोच्ने बानीले पनि मलाई जिम्मेवार बनाएको छ। मैले घरदैलो र भाषणमा भनेको कुरा पूरा गर्ने बाचा पनि गरेको छु। अरूलाई भाेट माग्दा भाषण गर्ने रणनीति बनाउने, मानिस भेट्ने नै हो। अहिले पनि त्यही गरिरहेको छु। तर आफैँ उम्मेदवार हुँदाचाहिँ आममतदातासँग गरेको बाचा कसरी पूरा गरौँ भन्ने हुँदोरहेछ।

सानैदेखि भोट माग्ने र निर्वाचनमा होमिने गरेको स्मरण होला नि?

१२ वर्षको उमेरमा कक्षा ६ मा पढ्दै गर्दा ०४८ सालको आमनिर्वाचनमा पार्टी तर्फबाट उम्मेदवार भएका स्व. डा. गंगाधर लम्साल र नेपाली कांग्रेसका पक्षमा मत माग्न र मतदाताका लागि नेपाली कांग्रेसको पक्षमा प्रभावित पार्ने सन्दर्भमा कम्युनिस्टहरूलाई वैचारिक र समसामयिक रूपमा तेजोबध गर्ने काममा आफू लागेको स्मरण कहिलेकाहीँ हुन्छ। बाल अवस्थामा नै राजनीतिक यात्रा सुरु भएकाले पनि सबैसँग बोल्ने हिँड्डुल गर्ने गफिने समस्याको समाधान खोज्ने गरेको छु। मेरो उम्मेदवारी घोषणमा नै सबै अग्रज, समकक्षी, राजनीतिक अभिभावक र मेरो पछिल्लो पुस्ताले देखाउनुभएको सद्भाव साँच्चै लोभलाग्दो थियो। अहिले घरदैलोमा पनि यही दृश्य छ।

चुनाव प्रचारमा जाँदा कोणसभा गर्दा पनि घरदैलोमा पुगेको पाइयो नि?

हो, कोणसभामा अन्य वक्ता साथीहरू, अग्रजहरू बोलिरहँदा म एकछिन भए पनि समयको सदुपयोग गर्दै घर-घरमा पुग्ने गरेको छु। किनकि यसरी घरमा पुग्दा यही माटोको मानिसलाई भेट्दा उहाँहरूको मन पहिला जता भए पनि अहिले जितनारायणतिर रहनेछ। चितवनमा धेरै समस्या रहेका कारण पनि कतै लालपुर्जा दिनुपर्ने अवस्थालाई समाधान गर्ने भनेको छु। कतै खानेपानी। कतै के, कतै के। सबै समस्या समाधानमा पूर्ण रूपमा इमानदार भएर लाग्ने बाचा गरेको छु। त्यो बाचा पूरा गर्छु भन्ने कुरा मेरो विगतले पनि बताउँछ। मेरो लामो विगत नभए पनि छोटो समयमा गरेका कार्य यहाँको मतदाताले बुझेका छन्।

अनि सञ्चारमाध्यममा त चुनाव अर्कैले जितेको सर्वेक्षण आइरहेको छ नि?

सर्वेक्षण केकसरी गर्नु भयो त्यो थाहा भएन तर निष्पक्ष भनेको सञ्चारमाध्यमले नेपालको ऐन कानुन नहेर्ने अनि जथाभावी पोल गर्न मिल्दैन। त्यसमा पनि आमनागरिकले सूचनाको हक उनीहरूलाई नै सोधेको खण्डमा त्यहीँ प्रयोग भएको भाषा यहाँ भेटेकाले भनेका होलान् त? त्यो पनि रहस्यमय छ। यस्तो कार्यमा मिडिया लाग्ने र मिडियालाई नियमन गर्ने निकाय मौन बस्ने कार्यले मुलुकमा लोकरिझ्याइँ बढेको हो। यो लोकरिझ्याइँले विश्वलाई खत्तम पारिसकेको कुरा यहाँको आमनागरिकले बुझ्न आवश्यक छ। हामीले बुझाउने प्रयास पनि गरिरहेका छौँ। पहिला पनि यस्तै अनेकन फन्डा गरेर जितेको र अहिले पनि त्यही प्रयासहरू भइरहेको हो। त्यो सम्भव छैन यतिबेला।

भनेपछि यसपटक तपाईँको जित निश्चित छ?

यसमा शंका छ र? विपक्षीले पहिले जति फन्डा गर्नु थियो गरे। अहिले त्यो फन्डा रहन्न। सबैले बुझिसके। विदेशमा के गरेर आएको, यहाँ के गरिरहेको र निर्वाचन कसरी जितेको भन्ने विषय पनि रहेको छ। अब पुराना फन्डा खेर जानेछन्। अहिले त उहाँहरू पुरानो पहिचान बचाउन लडेको हो। यसैले म जितको नजिक छु र जित्नेछु। त्यसको आधार दिन सक्छु। यहाँको आग्रजहरूले मलाई समर्थन गर्नुभएको छ। बाआमा सबैले जितनारायण अघि बढ्नुपर्छ भनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नै मैदानमा छन् नि ?

राष्ट्रिय स्वतन्त्र पार्टी एकल निर्णयमा चलिरहेको छ। जसका कारण अहिले नै पार्टी अस्थिर बन्दै गएको छ। यसअघि सरकारलाई दिएको विश्वासको मतको कारणहरू जनतालाई खुलाउन आवश्यक नठान्नेजस्ता कार्यले मलाई सजिलो बनाएको छ। म विर्नाचन राम्रै अंकले जित्नेछु। पहिलेको भन्दा उल्टो नतिजा लिएर जित्नेछु। सबैको साथ र समर्थन मेरोमा छ। चितवन २ बाट निर्वाचित सांसद (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने) को सांसद पद खारेज भएपछि यो चुनाव मेरा लागि नै हुन लागेको आभास पाएको थिएँ। त्यतिबेला उमेश श्रेष्ठको उम्मेवदारी थियो। उहाँलाई जिताउन लागियो तर सफल हुन सकेनौँ। सायद ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसद्‌मा पुगोस् भन्न चाहनाले नै उपचुनाव हुन लागेको हो।

यसपटक ठूला दललाई चुनाव जित्न कठिन भन्ने सुनिन्छ नि?

केही नयाँहरूले चितवनलाई प्रयोगशाला बनाउन लागेका थिए। केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन खोजे। अब चितवनका जनताले बुझिसकेकाले प्रयोगशाला बनाउन दिँदैनन्। आफ्नै माटोमा लडेर आएकालाई जिताउँछन्। चितवन पर्यटकीय नगरी हो। यहाँ पर्यटक आउन सक्छ तर पर्यटक उम्मेदवारलाई मतले जवाफ दिँदै विकासका लागि अघि बढ्नुपर्छ। चितवनवासीले अतिथिलाई स्वागत गर्छन् तर चितवनको समस्या समाधानमा अतिथिलाई नै राखेर हुँदैन भन्ने बुझेका छन्। अतिथिलाई स्वागत गरेको विषयलाई भ्रम सम्झेर जुन होटलमा बस्यो, त्यही होटल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउन जानेका छन्।

चितवन कांग्रेसको सभापति हुँदा काम गर्न नसकेको आरोप छ। अनि कसरी जित निकाल्नु हुन्छ?

मैले इमानदार भएर काम गरेको हुँ। तर केही ‘डिफेम’ गर्ने काम भइरहेको छ। मैले गरेको काम अहिले नै पनि कार्यालयमा हेर्न सकिन्छ। घरघर पुगेर काम गरेको मानिस हुँ म। यहाँ सभापति रहँदा मैले धेरै काम गरेको थिएँ। यहाँबाट दुई सांसद सजिलै जाने तर लोकरिझ्याइँले सखाप पारेको हो। अब त्यसले काम गर्दैन। मैले कतिपय निर्णय सीधा गरिदिने हुनाले रिस उठेर पनि त्यसो भनेका हुन सक्छन्। तर आमनागारिकले जवाफ दिनु नै हुनेछ।

प्रकाशित: ७ वैशाख २०८० २१:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =