गाँठो पार्ने होइन फुकाउने राष्ट्रपति पाएका छौं : प्रचण्ड

हिमाल प्रेस ७ वैशाख २०८० १७:०८
8
SHARES
गाँठो पार्ने होइन फुकाउने राष्ट्रपति पाएका छौं : प्रचण्ड

बारा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारास्थित निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन्। गढीमाईमा बिहीबार आयोजित जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष एवम् आसन्न उपनिर्वाचनमा बारा २ का उम्मेदवार उपेन्द्र यादवको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं भनेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ। म तपाईंहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ,’ उनले भने।

यहाँको खेतीयोग्य जमिनमा विद्युतीय सिंचाइ प्रणालीबाट सिंचाइ व्यवस्था गरिने, गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गरिने, कोभिड महामारीको समयमा बन्द गरिएका नाका सुचारू गर्ने उनले बताए।

‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं’ प्रधानमन्त्रीले भन्नुभयो, ‘नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ,’ उनले भने।

यसअघि राजस्व घटेको र चोरीपैठारी बढेको भन्दै उनले सरकारले अहिले अर्थतन्त्र सुधारका लागि धेरै काम गरेको दाबी गरे।

‘उपेन्द्र यादव देशको नेता हो, संसदका लागि चाहिने नेता हो’ उनले भने, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो। मधेशले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो। समग्र परिवर्तनका मुद्दाले जित्नु हो। संविधान र लोकतन्त्रको रक्षा एवम् समृद्धिका लागि यो गठबन्धन बनेको हो। त्यसैले उपेन्द्रजीले जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पारौं।’

उक्त सभामा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का नेता जीतेन्द्र सोनाललगायतले सम्बोधन गरेका छन्।

प्रकाशित: ७ वैशाख २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =