अलौकिक एर्लिङ हालान्ड

हिमाल प्रेस ७ वैशाख २०८० ९:३३
20
SHARES
अलौकिक एर्लिङ हालान्ड

काठमाडौँ- गल्ती मान्छेबाटै हुने हो। एर्लिङ हालान्ड पनि मान्छे हुन्। उनले गल्ती गरे, पेनाल्टी खेर फाले। तर उनी मान्छे हुन् भन्ने र्तक र गल्ती धेरै समय टिक्न पाएनन्। किनभने उनले २० मिनेटपछि नै गोल गरिहाले। गोल पनि यस्तो कि बयान गरी साध्य छैन। आखिरमा यही गोलले म्यानचेस्टर सिटीलाई आलियान्ज ऐरिनामा अंक दिलायो।

आलियान्ज ऐरिनामा १-१ को बराबरीमा रोकिए पनि सिटी च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बायर्न म्युनिखभन्दा ४-१ ले अघि रह्यो। बुधबार रातिको यो बराबरीसँगै ६ पटकको विजेता बायर्न च्याम्पियन्स लिगबाट बाहिरियो। बाहिरिनुको मुख्य कारण, पहिलो लेगको हार थियो। सिटीको मैदानमा बायर्न ३-० ले हारेको थियो।

पहिलो लेग हारे पनि बायर्नले सेमिफाइनलमा पुग्ने आशा मारेको थिएन। तर उसको यो आशामा त्यतिबेला धक्का लाग्यो, जतिबेला डेयोट उपमेकानाले ह्यान्ड गरे। एल्काई गुन्डोवानको प्रहार उनको हातमा लागेको थियो। त्यसपछि पेनाल्टी प्रहार गर्न हालान्ड अघि बढे। उनको प्रहार पोस्टमाथिबाट बाहिरियो।

पेनाल्टीमा असफल भए पनि हालान्ड गोल गर्ने प्रतिबद्धताबाट पछि हटेका थिएनन्। केभिन डे ब्रुएनासँग मिलेर काउन्टर अट्याक गरेका हालान्डले ५७ औँ मिनेटमा गोल गरेरै छाडे। जारी सिजन यो उनको ४८ औँ गोल थियो। च्याम्पियन्स लिगको मात्र हिसाब गर्ने हो भने, १२ औँ।

गोल गरेपछि हालान्डले खुसीयाली मनाएको शैली हेर्न लायकको थियो। आक्रामक र उत्साहित देखिएका उनी बायर्नका समर्थक भएतिर पुगेका थिए। उनको एउटै उद्देश्य थियो, घरेलु टिमका समर्थकलाई उक्साउनु। पेनाल्टी खेर फाल्दा हालान्डको खिस्सी उडाएका बायर्न समर्थक अब चुप थिए।

युरोपेली क्लब फुटबलमा च्याम्पियन्स लिग जत्तिको महत्त्वपूर्ण प्रतियोगिता अर्को छैन। यत्तिको ओजिलो प्रतियोगिताको क्वार्टरफाइनलमा पेनाल्टी खेर फाल्दा सामान्यतया खेलाडीको मनोबल गिर्छ नै। तर हालान्डले हिम्मत हारेनन्। बरु उनी थप प्रतिबद्ध पो भए। झन् धेरै मेहनत गरे। उनको प्रेसिङले सिटीलाई थप बलियो आक्रामक बनाएको थियो।

अब पहिलो अनुच्छेदमा फर्किऊ। के हालान्ड मान्छे नै हुन्? यो प्रश्न किन गरिएको हो भन्दा, अन्ततः उनमा केही कमजोरी देखिँदैन। जस्तोसुकै अप्ठ्यारो परिस्थितिलाई पनि परास्त गर्नसक्ने हालान्ड कसरी मान्छे हुन सक्छन्?

यो सिजन च्याम्पियन्स लिगमा हालान्डले सिटीका लागि जति गोल गरेका छन्, त्यति गोल कुनै पनि खेलाडीले इंग्लिस क्लबका लागि गरेका छैनन्। यी २२ वर्षीय स्ट्राइकरले च्याम्पियन्स लिगमा गरेको गोल संख्या अब ३५ पुगेको छ। त्यो पनि २७ खेल खेलमा मात्र। यो आफैँमा कीर्तिमान हो। यसअघि सबैभन्दा थोरै खेलमा ३५ गोल गर्ने कीर्तिमान रुड भान निस्टोल्रोयको नाममा थियो। उनले ४२ खेलमा त्यति गोल गरेका थिए।

किलियान एम्बाप्पे, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीले ३५-३५ गोल गर्न क्रमशः ५४, ५५ र ५६ खेलसम्म पर्खनु परेको थियो। हालान्ड सर्वाधिक सानो उमेरमा ३५ गोल गर्ने खेलाडी पनि बनेका छन्। यसअघि यो कीर्तिमान एम्बाप्पेले २३ वर्षको उमेरमा राखेको थिए।

‘एर्लिङ विशेष खेलाड हुन्। सिटीमा उनी जस्ता खेलाडी पहिले देखिका थिएनन्। उनी यस्ता खेलाडी हुन् जो ८५ औँ मिनेटसम्म चुपचाप बस्छन्, त्यसपछि एक टचमा गोल गर्छन्,’ खेलपछि बनार्दो सिल्भाले भने।

जसरी सिल्भाले आफ्ना साथीको तारिफ गरे, त्यसरी नै तारिफ उपमेकानाले पनि गरेको हुनुपर्छ। तर मनमनै। हुन त उनी असाध्यै रिसाएका पनि हुनसक्छन्। तर यो चाहिँ सत्य हो, हालान्डले उपमेकानोलाई दुःख दिए।

उपमेकानोले हालान्डलाई कुनै पनि समय नियन्त्रणमा राख्न सकेनन्। पहिलो हाफमा त उनले रातो कार्ड नै पाए, नर्वेका यी स्ट्राइकरलाई लडाएवापत। भलै त्यो कार्ड पछि फिर्ता भयो। किनभने हालान्ड अफसाइड थिए। कार्ड फिर्ता भए पनि कुरा उही थियो, हालान्डलाई रोक्न मुस्किल छ।

हालान्ड शारीरिक रुपमा कति बलिया छन् भनेर थाहा पाउन उनी गोल गर्न दौडिएको दृश्य सम्झिए पुग्छ। किंग्स्ले कोमानले प्रहार गरेको कर्नरबाट आएको बललाई जोन स्टोन्सले मैदानको मध्यभागमा रहेका हालान्डलाई दिएका थिए। त्यसपछि हालान्डले बल डे ब्रुएनालाई दिएर र दौडिए। पासको अनुमान गरेर हालान्ड यसरी दौडिए कि, उपमेकानोले उनलाई रोक्नै सकेनन्।

हालान्डलाई ब्लक गर्न खोज्दा उपमेकानो लडेपछि अब गोलरक्षक यान सोमर एक्लै भए। जसलाई हालान्डले सजिलै ‘बिट’ गरे। लगभग वान भर्सेस वान रहेको स्थितिमा हालान्डलाई कमै गोलरक्षकले मात्र रोक्न सकेका छन्।

सिटीले यो सिजन अधिकतम १३ खेल खेल्न बाँकी छ। यी सबै खेल जिते सिटी प्रिमियर लिगबाहेक च्याम्पियन्स लिग र एफए कप च्याम्पियन बन्नेछ। यसअघि एक सिजन तीन उपाधि म्यानचेस्टर युनाइटेडले जितेको थियो, सन् १९८९/९९ मा।

सिटीले एफए कपको सेमिफाइनलमा सेफिल्ड युनाइटेडको सामना गर्दैछ। शनिबार सेफिल्डको सामना गरेपछि सिटीको ध्यान आर्सनलसँगको भिडन्तमा हुनेछ। यो खेल आउँदो बुधबार हुनेछ।

च्याम्पियन्स लिगबाट बाहिरिएपछि बायर्नले अब जित्नसक्ने उपाधि बुन्डेसलिगा मात्र हो। बायर्न त्यहाँ शीर्षस्थानमा छ। दोस्रो स्थानका बोरुसिया डर्टमन्डसँग बायर्नको दूरी दुई अंकको छ। युरोपेली क्लब फुटबलमा एउटा मुख्य शक्ति मानिने बायर्नले च्याम्पियन्स लिगमा भोगेको यो असफलता चानचुने होइन।

च्याम्पियन्स लिगमा सफल हुनै बायर्नले प्रशिक्षक परिवर्तन गरेको थियो। सन् २०२१ मा चेल्सीलाई च्याम्पियन्स लिग जिताएका थोमस टुकलले युलियान नागल्समनलाई प्रतिस्थापन गरेका हन्।

पहिलो लेगमा व्यहोरेको हारका बाबजुद बायर्नले बुधबार राति सक्दो मेहनत गरेको हो। आलियान्ज ऐरिनामा बायर्नका समर्थकले गजबको वातावरण सिर्जना गरेका थिए। यो वातावरण सिर्जना गर्नुको उद्देश्य थियो, बायर्नका खेलाडीको मनोबल बढाउने, सिटीका खेलाडीको मनोबल गिराउने। तर यो उद्देश्य पूरा भएन।

हालान्ड ८४ औँ मिनेटमा बेन्चमा बोलाइए। उनले मैदान छाड्नु एक मिनेटअघि बायर्नले बराबरी गोल फर्काएको थियो। साडियो मानेले प्रहार गरेको बलले म्यानुएल अकान्जीको हातलाई छोएपछि बायर्नले पेनाल्टी पायो। जसलाई कप्तान जोसुआ किमिकले सहजै गोलमा परिणत गरे।

‘हामी असाध्यै थाकेका छौँ। सेफिल्डसँगको खेलका लागि कसरी तयार हुने हो, थाहा छैन,’ खेलपछि पेप ग्वार्डिओलाले भने। ग्वार्डिओलाले संशय व्यक्त गरे पनि, सिटी सेफिल्डको सामना गर्न पूर्ण रुपमा तयार हुनेछ। किनभने सिटी अर्को एक उपाधिको सामीप्यमा पुग्न चाहन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =