क्लप चाहन्छन्, लिभरपुलमा स्थिर प्रदर्शन

हिमाल प्रेस ५ वैशाख २०८० ११:१८
8
SHARES
क्लप चाहन्छन्, लिभरपुलमा स्थिर प्रदर्शन

काठमाडौँ- लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार राति लिड्स युनाइटेडमाथि ६-१ को जित दर्ता गरेकाे छ। लिड्सको मैदानमा लिभरपुललाई फराकिलो जित दिलाउन मोहम्मद सलाह र डिएगो जोटाले दुई-दुई तथा कोडी ग्याक्पो र डार्विन नुनेजले एक-एक गोल गरे। लिड्सबाट लुइस सिनिस्टेराले एक गोल फर्काएका थिए।

जितपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लप स्वाभाविक रुपमा प्रशन्न देखिए। सँगसँगै उनले आफ्ना खेलाडीलाई आगामी खेलमा पनि यही लय जारी राख्न चुनौती दिए। ‘खेलाडीहरूमा आज जस्तो प्रतिबद्धता र जोश देखियो, यही स्तरको प्रतिबद्धता र जोश म आउँदा खेलमा पनि हेर्न चाहन्छु। हामीलाई स्थिर प्रदर्शन चाहिएको छ। र, अहिलेका लागि हाम्रो मुख्य जिम्मेवारी पनि स्थिर प्रदर्शन नै हो,’ क्लपलले भने।

क्लपले संकेत गरेझैँ लिभरपुलले यसपालि साँच्चै अस्थिर प्रदर्शन गरेको छ। मार्च ५ मा म्यानचेस्टर युनाइटेडलाई ७-० ले हराएयता लिभरपुल कुनै खेलमा विजयी हुन सकेको थिएन। बीचमा च्याम्पियन्स लिग क्वार्टरफाइनलका दुवै लेगमा रियल मयाड्रिडसँग हारेको लिभरपुल बर्नमाउथ र म्यानचेस्टर सिटीसँग पराजित भएको थियो। त्यसपछि चेल्सी र आर्सनलसँग बराबरी खेलेको लिभरपुललाई कमजोर लिड्समाथिको जितले राहत दिएको छ।

‘आर्सनलसँगको दोस्रो हाफमा हामीले गजबको खेल देखाएका थियौँ। आज पूरै खेलमा त्यो लय देखियो। एक र आधा खेलमा गरेको प्रदर्शनलाई हामीले बाँकी सिजनका लागि प्रेरणका रुपमा लिनुपर्छ,’ क्लपले भने।

गत सिजन प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको लिभरपुल यसपटक असाध्यै कमजोर देखिएको छ। लिगमा हाल आठौँ स्थानमा रहेको लिभरपुल शीर्ष चारको नजिक पुग्न संघर्षरत छ। लिगमा अब आठ खेल बाँकी रहँदा लिभरपुल चौथो स्थानको न्युकासल युनाइटेडभन्दा नौ अंकले पछि परिसकेको छ।

यस्तोमा लिभरपुलका लागि पाँचौँ र छैटौँ स्थान यथार्थपरक लक्ष्य हो। पाँचौँ भएर युरोपा लिग र छैटौँ भए युरोपा कन्फ्रेन्स लिग खेल्न पाइने व्यवस्था छ। अंक तालिकामा लिभरपुलको स्थानलाई तत्कालका लागि सोमबारको प्रदर्शनले बिर्साइदिएको छ। ‘हरेक पक्षलाई केलाउँदा के भन्न सकिन्छ भने, लिभरपुलल आज जारी सिजनकै उत्कृष्ट प्रदर्शन गर्‍यो। काउन्टर प्रेसिङ त आज साह्रै मजबुत थियो,’ क्लपले भने।

लिभरपुलसँगको हारपछि लिड्सका समर्थकले आफ्ना खेलाडी तथा प्रशिक्षकविरुद्ध नारा लगाएका थिए। आठ दिनअघि क्रिस्टल प्यालेससँग ५-१ ले हारेको लिड्स हाल १६ औँ स्थानमा छ। पाँच वा बढी गोल खाएर लगातार दोस्रो खेलमा पराजित हुने दोस्रो टिम बनेको लिड्ससँग ३१ खेलबाट २९ अंक छ। रेलिगेसन क्षेत्रबाट मात्र दुई अंकले माथि रहेको लिड्सले लिगमा अब सात खेल खेल्न बाँकी छ। मे महिनामा लिड्सले सिटी र न्युकासलसँग लगातर प्रतिस्पर्धा गर्नुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =