दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि छानबिन गर्दै माेदी सरकार

हिमाल प्रेस २ वैशाख २०८० २१:००
10
SHARES
दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि छानबिन गर्दै माेदी सरकार

नयाँ दिल्ली- भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवाले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि भ्रष्टाचारको आरोप लगाएपछि केजरीवालमाथि नै छानबिन हुने भएको छ। उनले शनिबार नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै आइतबार सीबीआईले सोधपुछका लागि बोलाएको जानकारी गराए। ‘भोलि उनीहरू (सीबीआई अधिकारी)ले मलाई बोलाएका छन्। म अवश्य जान्छु,’ उनले भने, ‘तर भाजपाले सीबीआईलाई मलाई पक्राउ गर्न आदेश दिएको छ र सीबीआईले पक्कै पनि उनीहरूको निर्देशन पालना गर्नेछ।’

केजरीवालले मोदी सरकारमाथि भ्रष्टाचारको आरोप लगाउँदै आएका छन्। भारतीय उद्योगपति गौतम अडानी देखाउने उद्योगी मात्रै भएको र अडानीको नाममा भएका व्यापार व्यवसाय मोदीको नै रहेको दाबी केजरीवाल गर्दै आएका छन्।

त्यसपछि भाजपा सरकारले आफूमाथि छानबिन गर्न सीबीआईलाई निर्देशन दिएको केजरीवालको भनाइ छ। ‘यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो संसारमा इमानदार कोही पनि छैन,’ उनले भने, ‘केन्द्रीय अनुसन्धान ब्युरो र इन्फोर्समेन्ट डाइरेक्टरेटका अधिकारीहरूविरुद्ध ‘झुटो बयान दिएको र अदालतमा झूटो प्रमाण पेश गरेको’ आरोपमा उपयुक्त मुद्दा दायर गरिनेछ।’

हामी सीबीआई र ईडीका अधिकारीहरूविरुद्ध झूटो बयान दिएको र अदालतमा झूटो प्रमाण पेश गरेकोमा उपयुक्त मुद्दा दायर गर्ने केजरीवालले बताए। आम आदमी पार्टी (आप) का अध्यक्षसमेत रहेका केजरीवालले दिल्ली विधानसभामा भ्रष्टाचारविरुद्ध बोलेको दिनदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले बोलाउने लाइनमा आफू रहेको आफूलाई थाहा भएको दाबी गरे।

मदिरा नीतिको छानबिनमा केन्द्रीय निकायहरूले आफूहरूविरुद्ध अदालतमा झूटो बोलिरहेका उनको भनाइ थियो। ‘पक्राउ परेकाहरूलाई यातना दिइँदैछ, उनीहरूमाथि हामीलाई नेल लगाउन दबाब सिर्जना भइरहेको छ,’ उनले भने, ‘सीबीआईले मनीष सिसोदियामाथि रक्सी नीतिको मुद्दामा झुटो आरोप लगाएको छ। झूटो बयान लिन मानिसहरूलाई पिटिएको छ।’

सीबीआईले केजरीवाललाई अप्रिल १६ मा एजेन्सीसमक्ष उपस्थित हुन बोलाएको छ। आम आदमी पार्टी (आप) का नेताहरू पनि केजरीवाललाई सोधपुछका लागि सीबीआईसमक्ष उपस्थित गराइने बताउँछन्।

दिल्लीका पूर्व उपमुख्यमन्त्री तथा केजरीवालका प्रमुख सहयोगी मनिष सिसोदिया आबकारी नीति प्रकरणमा अनियमितता गरेको आरोपमा जेलमा छन्। सिसोदियालाई ईडी र सीबीआईले दिल्लीमा आबकारी नीतिको निर्माण र कार्यान्वयनमा कथित अनियमिततासँग सम्बन्धित एक प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरेको थियो।

सीबीआईले सिसोदियालाई २६ फेब्रुअरीमा पक्राउ गरेको थियो। मार्च ९ मा ईडीले तिहाड जेलमा घन्टौँको सोधपुछपछि उनले अवैध धन्धा चलाएको आरोपबारे थप अनुसन्धान चलाइने बताएको थियो। रासस/एएनआई

प्रकाशित: २ वैशाख २०८० २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =