रास्वपाका सांसद ढाकाकुमारको अडियो प्रकरणबारे संसद्‌मा कसले के भने?

हिमाल प्रेस २७ चैत २०७९ १६:५२
10
SHARES
रास्वपाका सांसद ढाकाकुमारको अडियो प्रकरणबारे संसद्‌मा कसले के भने? फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठको टेलिफोन संवादका विषयमा संघीय संसद्को दुवै सदनको बैठकमा अधिकांश सांसदहरूले प्रश्न उठाएका छन्। सोमबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सांसद श्रेष्ठको टेलिफोन संवादको विषयमा सांसदहरूले छानबिन गर्न माग गरेका छन्।

आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएको थियो। अधिकांश सांसदहरूले बैठकमा सांसद श्रेष्ठलाई कारबाही गरी छानबिन गर्न सरकारसँग माग गरेका छन्। सांसदहरूले सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप पनि लगाएका छन्।

सांसदहरूले मन्त्री बन्नका लागि घुस माग्ने सांसदलाई सरकारले त्यसै छाड्न नहुने भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद छानबिन गर्न संसदीय समिति गठनको माग गरे। उनले श्रेष्ठको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित रहेको भन्दै संसद्ले संसदीय समिति बनाएर निष्पक्ष छानबिन हुनुपर्ने बताए।

फोन संवादमा भनिएको ‘कोर टिम’बारे पनि छानबिन हुनुपर्ने माग उनको छ। सांसद गुरुङले संसद् सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद् चुप लागेर बस्न नहुने भन्दै संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गरे।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजेको बताए। उनले गठबन्धन सरकारकै सांसदले स्वास्थ्य मन्त्री हुन मेडिकल व्यवसायीसँग दुई करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको बताए।

उनले गठबन्धनका नेताहरूले घुस काण्डका विषयमा संसद्मा जानकारी दिन मागसमेत गरे। त्यस्तै, राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद दिलकुमारी थापा रावल (पार्वती)ले दुई करोड घुस माग्ने सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरे। उनले घुस लिने र दिने दुवै राष्ट्रको सत्रु भएकाले सांसद श्रेष्ठले घुस माग गरे/नगरेको सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने बताए।

त्यस्तै, नेकपा (एमाले)का सांसद ऋषिकेश पाखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुगेछ भन्दै व्यङ्ग्य गरे। उनले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुग्दा अरू मालदार मन्त्रीहरूको कति होला ? भन्दै प्रश्न गरे।

उनले भ्रष्टाचारकै कारण नेताहरू सामाजिक रूपमै बहिष्कारमा पर्नसक्ने चेतावनी दिए। त्यस्तै, राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहोराले ८७५ जना नेपालीलाई भुटानी बनाउने राजनीतिक संलग्नता ५० लाख असुल गरिएको विषयहरू बाहिर आउन नपाउँदै सांसदले दुई करोड घुस मागेको अडियो बाहिर आएको बताए। उनले स्वास्थ्यमन्त्री बन्ने सांसद श्रेष्ठले व्यवसायीलाई मन्त्री बनेर अस्पताललाई दिने ‘लेटर अफ इन्टेन’ शिक्षा मन्त्रालयले दिन्छ भन्ने ज्ञान समेत नभएको देखिएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका सांसद श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागे। उनले अडियो सार्वजनिक घटनाले प्रतिनिधि सभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचना गरे।

प्रकाशित: २७ चैत २०७९ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =