गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नै चाहिन्छ भन्दै बैठकबाट बाहिरियो कांग्रेस

हिमाल प्रेस २६ चैत २०८० १५:३२
44
SHARES
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नै चाहिन्छ भन्दै बैठकबाट बाहिरियो कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ। सभामुख देवराज घिमिरेले राखेको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले छानबिनका लागि समिति बन्ने अवस्था नभए संसद् चल्न नसक्ने चेतावनी पनि दिएको छ।

सहकारीको रकम ठगी प्रकरणमा नाम जोडिएका उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम राख्दै कांग्रेस नेताहरू बैठकबाट बाहिरिएका छन्।

‘देशमा विभिन्न सहकारीको रकम दुरुपयोग भएको छ। बहालवाला मन्त्रीहरूको नाम जोडिएको छ। आफ्नो संसदीय छानबिन समिति गठनको माग हामीले यथावत् राखेका छौँ,’ बैठकबाट बाहिरिनेक्रममा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,’हाम्रो माग सम्बोधन गर्न सरकार तयार नभएकाले अब सदनमा के हुन्छ भन्ने कुरा सरकारकै कदममा भर पर्छ। भोलिको बैठकमा सरकार कसरी प्रस्तुत हुन्छ, हामी हेर्दै छौँ।’

छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायत नेता सहभागी थिए। कांग्रेसका नेताहरू बाहिरिएसँगै अहिले बैठक पनि सकिएको छ।

प्रकाशित: २६ चैत २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =