स्वास्थ्य क्षेत्र र सहकारीमा पनि ‘बदनाम’ ढाकाकुमार

विजय नेपाल २७ चैत २०७९ १२:३८
62
SHARES
स्वास्थ्य क्षेत्र र सहकारीमा पनि ‘बदनाम’ ढाकाकुमार

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीबाट प्रतिनिधिसभामा समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो काण्डले उनको गृहजिल्ला कास्की तरंगित छ।

४ मंसिरको चुनावपछि सरकार गठन प्रक्रियामा आफू रास्वपाबाट स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो बाहिरिएपछि यसको सर्वत्र आलोचना भइरहेको छ। पार्टीले उनलाई निलम्बनमा राखेको छ।

ढाकाकुमारले भने अडियोकाण्ड गलत रहेको भन्दै आफूलाई फसाउन खोजेको दाबी गरेका छन्। उक्त अडियोमा उनको स्वर वा अन्य व्यक्तिको स्वर हो भन्ने छानबिन भइरहेको छ। यो प्रकरणले विवादमा तानिएका ढाकाकुमारले विगतमा गरेको व्यवसाय पनि आलोचनामुक्त छैन। त्यसैले  व्यवसायमा पनि उनको विवादास्पद छवि देखिएको छ।

पोखरा महानगरपालिका-२४ कास्कीकोटस्थित मौला निवासी डा. श्रेष्ठ राजनीतिमा आउनुअघि पोलिक्लिनिक चलाउँथे। पोखराको व्यस्त बजार पृथ्वीचोकमा उनको शुभबिहानी पोलिक्लिनिक राम्रै चल्थ्यो। बिरामीको भीड थामिनसक्नुहुन्थ्यो। त्यहीँबाट उनले मनग्गे आम्दानी गरेर पोखरामा घर बनाइसकेका छन्।

औषधि पसलको अनुमति लिएर गैरकानुनी रूपमा अस्पताल चलाएको भन्दै पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी सिल गरेको थियो। उक्त क्लिनिकमा उनको लगानी कायमै छ।

उनले चलाएको साथी किसान सहकारी संस्था लिमिटेड पोखरा-७ रत्नचोकमा छ। कुखुरापालक किसानलाई बिचौलियाबाट मुक्त बनाउने भन्दै पुरानो एक सहकारीको स्वामित्व लिएर उनले २०७६ मा सहकारी खोले। तर कात्तिकदेखि सहकारी बन्द छ।

गत पुसमा पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार सहकारीले बजारबाट एक करोड रुपैयाँ उठाउन बाँकी छ। तर कोसँग कति उठाउनुपर्ने हो स्पष्ट हिसाब दिन सकेको छैन। एक सय पाँच सेयर सदस्य रहेको सहकारीमा बचतकर्ताको ८२ लाख बढी फिर्ता हुन सकेको छैन।

रौतहटका अभयकुमार साह रत्नचोकमै हार्डवेयर पसल चलाउँछन्। दैनिक बचतमा उनको ५ हजार रुपैयाँ सहकारीमा जम्मा भएको थियो। तर उनले उक्त निक्षेप फिर्ता पाउन सकेका छैनन्। ‘६ महिना भो सहकारी बन्द भएको, सञ्चालक पनि सम्पर्कमा आउँदैनन्,’ साहले भने।

सहकारी अध्यक्ष रहेका ढाकाकुमारले गत ७ कात्तिकको साधारणसभाबाट जिम्मेवारी डा. शनि पाठकलाई सुम्पेका थिए। ढाकाले सहकारीको सम्पूर्ण बुझबुझारथ नगरेको भन्दै नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको छैन। उनीहरू कसैले पनि फोन उठाउँदैनन्। आफू नेतृत्वमा हुँदा डा. ढाकाकुमारले बचतकर्ताको मोटो रकम आफ्नै व्यवसायमा लगेर फसाएको आरोप छ।

विगतमा पनि सहकारीले निक्षेपकर्ताको बचत फिर्ता नगरेपछि सहकारी घेर्न पुगेका थिए। यो विवादपछि पोखरा महानगर सहकारी विभागसम्म पुग्यो। महानगरले बचतकर्ताको निक्षेप आगामी वैशाखसम्म फिर्ता गर्न निर्देशन दिएको छ। तर बचतकर्ताहरू सहकारीले रकम फिर्ता देला भन्नेमा आशावादी छन्।

ढाकाकुमार स्वास्थ्य, सहकारी हुँदै उनी पछिल्लो समय राजनीतिमा जोडिए। रास्वपाको गण्डकी प्रदेश सभापति हुँदै संघीय सांसद बनेका डा. ढाकाकुमार यति बेला सबैतिर ‘बदनाम’ बनेको भन्दै पोखरेलीहरू आलोचना गर्न थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =