सुर्खेत- दैलेखको नौमूले गाउँपालिकामा बाँदरले खेतीबालीमा विनाश गर्दा स्थानीय बासिन्दा समस्यामा परेका छन्। बाली पाक्नुअगाडि नै नष्ट गर्न थालेपछि किसान मर्कामा परेका हुन्। बाली भित्र्याउने त परैको कुरा, जोगाउनै मुस्किल परेको गुनासो उनीहरूको छ।
बाँदरको बथान एकैसाथ आउन थालेपछि मानिस भाग्नुपरेको नौमूले एक तोलाकी कविता ढकाल बताउँछिन्। ढकालका अनुसार बाँदरले गहुँ, चना, केराउ, हरियो तरकारी केही पनि बाँकी राखेको छैन। उनी भन्छिन्, ‘काम गर्ने जाँगर हराउँदै गयो।’
खाई नखाई खेती किसानी गर्दा निकै दुःख भोग्नुपर्छ। बाली भित्र्याउँदा ती सबै दुःख हराउँछन्। तर पाक्न लागेको बाली खेतबारीमा सखाप भएपछि किसान निराश छन्। ढकाल भन्छिन्, ‘दुःख धेरै हुन्छ। बालीनाली पाक्दै जाँदा खुसी हुन थाल्छौँ। तर भित्र्याउन नपाउँदा साह्रै पीडा हुन्छ।’
बाँदरको बथानले गोलभेडा, मकैलगायतका तरकारीबाली खाएर सखाप पार्ने गरेको छ। घरभित्र राखेको अन्नपातसमेत लैजान थालेपछि आफूहरू हैरानीमा परेको दुल्लु नगरपालिका–९ का उदयराज उपाध्याय बताउँछन्। उनी भन्छन्, ‘बाँदरको साथै बँदेलका कारण पनि बालीनाली भित्र्याउन पाएका छैनौँ।’ वन्यजन्तुले दुःख दिएका कारण घर बस्ती छाड्नुपर्ने अवस्था उत्पन्न भएको दुल्लु नगरपालिकाकै नारायण रिजाल बताउँछन्।
पहिलेपहिले मान्छेलाई देख्दा बाँदर भाग्थ्यो। अहिले बाँदर देख्दा मान्छे भाग्नुपर्ने अवस्था आएको उनी बताउँछन्। बाली खान आएका बाँदरलाई एक्लैदुक्लै धपाउन जान डरमर्दो हुन्छ। झम्टिएर खाउँलाझैं गर्छ। रिजाल भन्छन्, ‘पछिल्लो समय बाँदरले मान्छेलाई हेप्न थालेको छ।’
बाँदरले पाकेको बालीमात्र नभई बोटै उखेलेर मिल्काउन थालेपछि बालीनाली देख्नै नपाउने स्थिति सिर्जना भएको किसान बताउँछन्। जंगल आसपास बसोबास गर्ने स्थानीयले पहिलापहिला भरुवा बन्दुक पड्काएर भए पनि बाँदर भगाउँथे। अचेल प्रशासनले भरुवा बन्दुक राख्न प्रतिबन्ध लगाएकाले बाँदरबाट अन्नबाली जोगाउन कठिनाइ भइरहेको छ।
खेतबारीमा लगाइएको बालीनाली जोगाउन बाँदरको पछि लाग्नुपर्दा दैनिकी नै चौपट बनेको किसानहरूको दुःखेसो छ। वन्यजन्तुबाट बालीनालीमा भइरहेको क्षतिपूर्तिका लागि भने पालिकाबाट पहल भएको पाइँदैन। क्षतिपूर्तिका लागि निवेदन आउने गरेको डिभिजन वन कार्यालय सुर्खेतका वन अधिकृत चित्रण शर्माले बताउँछन्।
ती जनावरले क्षति नगर्ने बाली लगाउने अवस्था नरहेको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदी बताउँछन्। बाँदरले मकै, गहुँ, धानलगायतका अन्न र मौसमी तरकारी बालीमा क्षति गर्दै आएको छ। गाउँमा यी बाली प्रमुख रूपमा उत्पादन हुँदै आएका छन्। सुवेदीका अनुसार बादँरले सताएपछि स्थानीयले राउटेहरूलाई गाउँमा डाकेर बाँदर नियन्त्रण गर्न सुझाव दिएको अध्यक्ष सुवेदी बताउँछन्।
निकुञ्ज आसपासका बस्तीमा पनि वन्यजन्तुले दुःख दिइरहेको पाइन्छ। रारा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा बँदेल, कस्तुरीमृगलगायतका जनावरले क्षति गरे पनि क्षतिपूर्तिको माग हुने गरेको छैन।
अहिलेसम्म वन्यजन्तुले यति क्षति गर्यो भनेर माग गर्दै कोही पनि नआएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए। उनका अनुसार केही समयअघि कालो भालुले मानिसलाई आक्रमण गरेको थियो। तर पछिल्ला दिनमा आक्रमण र क्षतिको विवरण नभएको उनको भनाइ छ। निकुञ्ज आसपासका क्षेत्रमा बाँदरले सताउने गरे पनि अन्नबालीमा क्षति नगरेको श्रेष्ठ बताउँछन्।