नेउवा महासंघ चुनाव : यस्तो छ वरिष्ठ उपाध्यक्षका प्रत्यासीको व्यवसाय

हिमाल प्रेस २६ चैत २०७९ २०:०३
6
SHARES
नेउवा महासंघ चुनाव : यस्तो छ वरिष्ठ उपाध्यक्षका प्रत्यासीको व्यवसाय अञ्जन श्रेष्ठ, रामचन्द्र सांघाई र उमेशलाल श्रेष्ठ। (बायाँबाट क्रमशः)

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभा मंगलबार सुरु हुँदैछ।  दुई दिनका लागि तय गरिएको साधारणसभामा बुधबार बिहान ८ बजेदेखि नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ।

विभिन्न ६४ पदका लागि ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दिनेमध्ये सबैभन्दा आकर्षणको पद वरिष्ठ उपाध्यक्ष छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ। सोहीअनुसार मंगलबार र बुधबारका लागि तय गरिएको साधारणसभाबाट अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष हुनेछन्।

महासंघ निर्वाचन समितिको कार्यालयकाअनुसार निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले दिएका छन्। आ–आफ्नो प्यानल नै बनाएर तीनै जनाले महासंघको निर्वाचमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएका छन्।

अन्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठ अहिले वस्तुगत उपाध्यक्ष हुन्। यसअघि उमेशलाल श्रेष्ठसँगको प्रतिस्पर्धाबाटै उनी वस्तुगततर्फको उपाध्यक्षमा निर्वाचित भएका थिए।

नेपालमा ठूलोमध्ये एकमा पर्ने औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक श्रेष्ठ नेपाल अटोमोबाइल्स डिलर्स एसोसियनका पूर्वअध्यक्ष हुन्। उनी निर्देशक रहेको लक्ष्मी समूहअन्तर्गत सुजल फुड, सुजल प्लास्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी सञ्चालित छन्।

सोही ग्रुपअन्तर्गत जाइमा लक्ष्मी ट्रेडिङ कम्पनी सञ्चालित छ। उक्त कम्पनीअन्तर्गत चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी, प्लास्टिक कच्चा पदार्थ, पाम आयललगायत उत्पादन र बिक्रीवितरण गरिन्छ।

अटोमोबाइल क्षेत्रमा लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता हो। विलासी गाडी बीएमडब्ल्यू साथै इसुजु एसएमएलका बस तथा ट्रक पनि सोही कम्पनीले बिक्री गर्दै आएको छ।

श्रेष्ठले आगामी निर्वाचनका लागि आफ्नो बाचापत्र सार्वजनिक गर्दै जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन्। स्थानीय उत्पादनको प्रवद्र्धन र औद्योगिक विकास श्रेष्ठका मुख्य एजेन्डा छन्।

उनले तीन दशकअघि साना तथा मझौला व्यवसायबाट उद्यम सुरु गरेका हुन्। साना तथा मझौला व्यवसायका समस्याबारे आफू जानकार रहेकाले सामाधानका लागि दह्रो पहल गर्ने संकल्प उनको छ। उनको प्यानलबाट एसोसिएट्स उपाध्यक्षमा साझा उम्मेदवार भरतराज आचार्य, जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फको उम्मेदवारमा मनीषलाल प्रधानले उम्मेदवारी दिएका छन्। सुमार्गी निर्माण क्षेत्रका व्यवसायी हुन् भने प्रधान सुनचाँदी व्यवसायी हुन्।

उमेशलाल श्रेष्ठ

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका अर्का व्यवसायी हुन् उमेशलाल श्रेष्ठ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका छोरा उमेशलालको लगानी औषधि उत्पादन क्षेत्रमा छ। वीरगन्जमा रहेको क्वेस्ट फर्मास्युटिकल्स औषधि कम्पनीका सञ्चालक श्रेष्ठ महासंघकै वस्तुगततर्फका पूर्वउपाध्यक्ष हुन्।

श्रेष्ठले हेक्सल फर्मास्युटिकल्स कम्पनीमा जागिरबाट औषधि क्षेत्रमा आफ्नो करियर सुरु गरेका हुन्। सात वर्षमा जागिर छाडेर उनले २०५६ सालमा औषधि उत्पादन कम्पनी खोलेका हुन्। क्वेस्ट फर्मास्युटिकल्स नेपालको एउटा प्रमुख औषधि उद्योग बनेको छ।

यसअघि तीन कार्यकाल उद्योग वाणिज्य महासंघको सदस्य रहिसकेका श्रेष्ठ महासंघका पूर्वउपाध्यक्षसमेत हुन्।

उनले तीन कार्यकाल नेपाल औषधि उत्पादक संघको अध्यक्ष भएर पनि काम गरिसकेका छन्। श्रेष्ठले व्यवसायीको समस्याबारे पूर्ण जानकार रहेकाले बिनासर्त व्यवसायीका समस्या सामाधानमा केन्द्रित रहने एजेन्डा अघि सारेका छन्। उनको प्यानलबाट जिल्ला नगरतर्फका उम्मेदवारमा दिनेश श्रेष्ठ छन्। त्यस्तै एसोसिएट्सतर्फ उपाध्यक्षमा साझा उम्मेदवार भरतराज आचार्य र वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल छन्।

रामचन्द्र संघाई

उद्योग वाणिज्य महासंघको निर्वाचनमा उम्मेदवारी दिएका अर्का व्यक्ति रामचन्द्र संघाई त्रिवेणी ग्रुपका निर्देशक हुन्। तीन पुस्तादेखि उनको परिवार व्यवसायमा संलग्न छ। उनको लगानी निर्माण सामग्री क्षेत्रमा छ। सिमेन्ट, त्रिवेणी स्पिनिङ, धागो उत्पादन, ग्यास, जडीबुटी प्रशोधन उद्योग, टोकला चियालगायतमा उनको लगानी छ।

उनी ट्रेडिङतर्फ डिटरजेन्ट, बिस्कुट, तेल, जुस, घरायसी उपकरणको विक्रेता हुन्। यस्तै मसलाजन्य वस्तुको उत्पादन तथा बिक्रीवितरणमा पनि उनको लगानी छ। बैंक तथा वित्तीय क्षेत्रअन्तर्गत एनआईसी एसिया बैंक, प्रुडेन्सियल इन्स्योरन्स, नेपाल लाइफ इन्स्योरन्स र महालक्ष्मी विकास बैंकमा उनको लगानी छ।

सांघाईको समूहबाट वस्तुगत उपाध्यक्षमा हालका कोषध्यक्ष सुकुन्तलाल हिराचनको उम्मेदवारी छ। हिराचन निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष हुन्।

संघाईको टिमबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैद्यको उम्मेदवारी छ। उनले महासंघमा दुई कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन्। उनले जिल्ला नगरका साना र मझौला व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =