जितपछि भियतनामी प्रशिक्षक भन्छन् : नेपाललाई हराउन सजिलो भएन

हिमाल प्रेस २५ चैत २०७९ २२:१७
14
SHARES
जितपछि भियतनामी प्रशिक्षक भन्छन् : नेपाललाई हराउन सजिलो भएन

काठमाडौँ- ओलिम्पिक २०२४ अन्तर्गतको महिला फुटबल छनोटमा नेपालले लगातार दोस्रो हारसँगै यात्रा अन्त्य गरेको छ। नेपाल दोस्रो तथा अन्तिम खेलमा शनिबार भियतनामसँग २-० ले पराजित भयो। पहिलो खेलमा नेपाल उही विपक्षीसँग ५-१ ले हारेको थियो।

दशरथ रंगशालामा भएका दुई खेलमा नेपाललाई हराएपछि भियतनाम समूह ‘सी’ विजेता बन्द्र दोस्रो चरणमा प्रवेश गर्‍यो। अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि यो समूहमा दुई टिमले मात्र प्रतिस्पर्धा गरेका हुन्।

घरेलु मैदानमा नेपालले सात मिनेटभित्रै २-० ले पछि परेको थियो। छैटौँ मिनेटमा फुलब्याक गुएन थी मनई एनको कर्नरमा फाम हाई येनले गोल गर्दै भियतनामलाई अग्रता दिलाएकी थिइन्। एक मिनेटपछि नै भियतनामले अग्रता दोब्बर बनाएको थियो। यसपालि पनि गोल येनले नै गरिनज्। ट्रान थी थु थाओको क्रसबाट आएको बललाई बक्समा रहेकी येनले सजिलै गोल गरिन्।

यी दुवै गोल नेपाली रक्षक तथा गोलरक्षकमा एकग्रताको कमीका कारण भएका थिए। रक्षापंक्तिमा नेपाली खेलाडीबीच तालमेलको पनि कमी देखियो। गोलकर्ता येनलाई पेनाल्टी बक्समा निगरानीमा नराखिनु नै नेपालले गोल खानुको मुख्य कारण रह्यो।

उसो त नेपालले पनि गोल गर्ने मौका नपाएको होइन। पहिलो र दोस्रो हाफमा गरेर नेपालले कम्तीमा चार अवसर खेर फाल्यो। पहिलो हाफको २८ औँ मिनेटमा स्ट्राइकर सावित्रा भण्डारीसँग बराबरी गोल गर्ने मौका थियो। विमला विकले दिएको लामो पासलाई नियन्त्रणमा लिएकी सावित्राले भियतनामको पोस्टमा प्रहार त गरिन्। तर उनको कमजोर प्रहार पाहुना टिमकी गोलरक्षक खोङ थी हाङले सजिलै नियन्त्रणमा लिइन्।

त्यसको दुई मिनेटपछि नै नेपालले अर्को अवसर पायो। सावित्राले भियतनामी रक्षकलाई छिचोलेर विमला चौधरीका लागि पास निकालिदिएकी थिइन्। तर बल पाएर पनि विमलाले प्रहार गर्नै सकिनन्।

दोस्रो हाफमा दीपा शाही अभागी साबित भइन्। उनले गरेको प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो। दोस्रो हाफको उत्तराद्र्धमा विमलाले दोस्रो पटक मौका खेर फालिन्। सरु लिम्बुले दिएको सटिक पासलाई उनले गोलमा परिणत गर्न सकिनन्। जबकि उनी कसैको निगरानीमा थिइनन्। बल पाउनसाथ आक्रमण बुन्नुको साटो उनले बल रोकर राखिन्। र आखिरमा प्रहार गर्नै सकिनन्।

‘खेलाडीको संख्या कम छ’
नेपाली टिमका मुख्य प्रशिक्षक अनन्त थापाले सुरुमै दुई गोल खाएपछि खेलाडीहरूको मनोबल कमजोर भएको र उनीहरूलाई पुनःसंगठित बनाएर खेलाउनु परेको बताए। ‘विश्वकपमा छनोट भएको टिमसँग सुरुमै गोल खाएपछि गाह्रो हुन्छ नै। खेलाडीहरूलाई मनोवैज्ञानिक असर पर्‍यो। तर हामीले पुनःसंगठित भएर खेल्यौँ। हिम्मत नहारी टोटल फुटबल खेल्यौँ,’ अनन्तले भने।

अनन्तले भियतनाम जस्ता बलिया टिमसँग खेलिरहे आफ्नो टिमको स्तर बढ्ने बताए। ‘नतिजा आफ्नो ठाउँमा छ, तर भियतनाम जस्ता बलिया टिमसँग वार्षिक १० देखि १५ मैत्रीपूर्ण खेल खेल्नुपर्छ। तब मात्र नेपालको स्तर बढ्छ। त्यसो भए साफ च्याम्पियनसिप हाम्रा लागि ठूलो चुनौती हुनेछैन,’ अनन्तको भनाइ थियो।

खेलाडीको संख्या नभएर पनि आफूहरूलाई कठिन भएको प्रतिक्रिया अनन्तले दिए। ‘विशेषगरी रक्षापंक्तिमा हामीसँग खेलाडी कम छन्। तर अग्रपंक्तिमा पर्याप्त विकल्प छ,’ अनन्तले भने, ‘तमाम चुनौतीका बाबजुद हामीले गोलका अवसर सिर्जना गर्‍यौँ। सावित्राले नै केही राम्रा मौका खेर फालिन्।’

‘कठिन जित’
भियतनामका मुख्य प्रशिक्षक माइ डुक चुङले नेपाललाई हराउन सजिलो नभएको प्रतिक्रिया दिए। ‘मैले पहिले पनि भनेको थियो। नेपालसँगको खेल सजिलो हुनेछैन भनेर। आखिरमा सजिलो भएन। विजय हासिल गर्न निकै कठिन भयो,’ चुङले भने।

नेपाली खेलाडीहरू शारीरिक रुपमा निकै बलियो रहेको चुङको भनाइ थियो। ‘हामीले जित्न त जित्यौँ। तर नेपालका प्रत्येक खेलाडीले मेहनत गरेर खेले। नेपाली फुटबलले राम्रो प्रगति गरेको छ। म नेपाललाई बधाई दिन चाहन्छु,’ चुङले थपे।

दुई गोल गरेकी फरवार्ड फाम हाई येनले दुवै टिमले उत्तिकै मेहनत गरेर खेलेको धारणा राखिन्। ‘हामीलाई जितको आवश्यकता थियो। यो लक्ष्यमा सफल भयौँ। तर सफलता सजिलै प्राप्त भएको होइन। दुवै टिमका खेलाडीहरूले उत्तिकै मेहनत गरेर। तर भियतनामलाई भाग्यले साथ दियो,’ येनले भनिन्।

प्रकाशित: २५ चैत २०७९ २२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =