जितपछि भियतनामी प्रशिक्षककाे प्रतिक्रिया : नेपाली खेलाडीले उच्च मनोबलका साथ खेले

हिमाल प्रेस २२ चैत २०७९ २२:३५
74
SHARES
जितपछि भियतनामी प्रशिक्षककाे प्रतिक्रिया : नेपाली खेलाडीले उच्च मनोबलका साथ खेले नेपालविरुद्ध गाेल गरेपछि खुसीयाली मनाउँदै भियतनामका खेलाडी।

काठमाडौँ- ओलिम्पिक २०२४ को महिला फुटबलतर्फको छनोटमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको छ। फगत नतिजा मात्र हेर्ने हो भने भन्न सकिन्छ, नेपाली राष्ट्रिय महिला टिमले भियतनामविरुद्ध खराब प्रदर्शन गर्‍यो। यो धारणालाई नेपालले खाएको पाँच गोलले बल पुर्‍याउँछ।

तर फुटबललाई केवल गोल र नतिजामा मात्र सीमित नगर्ने हो भने नेपालले निराशाजनक खेलेन भन्दा गलत हुँदैन। दशरथ रंगशालामा बुधबार साँझ नेपालले जसरी खेल्यो, त्यसले समर्थकलाई खिन्न बनाएन। सावित्रा भण्डारीले ८० औँ मिनेटमा गोल फर्काउँदा सिर्जित क्षण सम्झनलायकको थियो।

खासमा भन्ने हो भने, नेपालले यस्ता क्षण निकै पटक सिर्जना गर्‍यो। सावित्रा र अमिषा कार्कीले नडराई भियतनामको बक्समा बल पुर्‍याउनु, दीपा शाहीले गोलमा परिणत हुनसक्ने क्रस निकाल्नु, मिडफिल्डमा सरु लिम्बु र अनिता केसी आत्मविश्वासी देखिनु आदि आहा भन्न लायकका क्षण थिए।

उसो त यी सबै कुरा फुटबलमा सामान्य हुन्। तर यहाँ स्मरणीय के छ भने, नेपाली खेलाडीले यी क्षण फिफा वरीयतामा आफूभन्दा ६७ स्थानमाथिको टिमसँग खेल्दा सिर्जना गरेका हुन्। भलै ती क्षण नतिजामा समेटिँदैनन्।

घरेलु समर्थकअगाडि खेलेको नेपालले गोलका केही अवसर पनि बनाएकै हो। यद्यपि एकभन्दा बढी गोल गर्न सकेन। यसले नेपालका मुख्य प्रशिक्षक अनन्त थापालाई केही हदसम्म निराश बनायो।

‘पाएका मौकामा गोल गर्न नसक्दा दण्डित हुनुपर्‍यो। त्यसमाथि हामीले खाएका गोल भियतनामले गरेको काउन्टरको नतिजा थिए। हाम्रो आक्रमण असफल हुनसाथ भियतनामी खेलाडी बल लिएर हाम्रो क्षेत्रमा पुगिहाल्थे,’ हारपछि अनन्तले भने।

मिडफिल्डर अमिषासँग पहिलो हाफको नवौँ मिनेटमा नेपाललाई अग्रता दिलाउने अवसर थियो। बक्समा कसैको नजरमा नरहेकी अमिषाका लागि दीपा शाहीले क्रस गरेकी थिइन्। तर अमिषाको हेडर बाहिरियो।

नेपालको प्रयास विफल भएको दुई मिनेटपछि नै भियतनामले गोलको खाता खोल्यो। फाम हाई येनले गुएन थी थुएट डुङको क्रसमा हेड गोल गरिन्। नेपालले दोस्रो गोल ३६ औँ मिनेटमा खायो। भियतनामकी कप्तान ह्युन नुले पेनाल्टीमा गोल गरेकी थिइन्। घरेलु टिमकी रक्षक अमृता जैशीले ह्यान्ड गरेपछि भियतनामले पेनाल्टी पाएको थियो।

दुई मिनेटपछि नै नेपालले तेस्रो गोल खाएको थियो। पाहुना टिमकी मिडफिल्डर गुएन थी बिच थुएले लेफ्ट विंगबाट गरेको प्रहार अमृतको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो।

दोस्रो हाफ सुरु भएको चार मिनेटपछि नै नेपाल चौथो गोल खानपुग्यो। फुलब्याक होआङ थी लोनले गरेको क्रसमा कप्तान नुले हेडर गोल गरेकी थिइन्।

४–० ले पछि परे पनि आक्रामकता र आत्मविश्वास नगुमाएको नेपालले निर्धारित समय सकिन १० मिनेट छँदा गोल फर्कायो। सरु लिम्बुको पासलाई सदुपयोग गर्दै सावित्राले सुन्दर गोल गरिन्। थपिएको समय पनि सकिनै लाग्दा भियतनामले पाँचौँ गोल गर्‍यो। सब्स्टिच्युट गुएन थी थान हाले राइट विंगबाट गरेको लामो प्रहार नेपाली गोलरक्षक तुम्बापो लिम्बुले भेउ पाइनन्।

‘विश्वकप खेल्न लागेको टिमको स्तर कस्तो हुँदो रहेछ, थाहा पाइयो। विश्वकपमा छनोट हुन कुनस्तरको मेहनत आवश्यक पर्छ भन्ने पनि थाहा भयो,’ अनन्तले भने। नेपालले गोल रक्षात्मक गल्तीका कारणले नखाएको जिकिर गरे। ‘गोल हाम्रो गल्तीमा भयो भन्नुभन्दा गोलको श्रेय भियतनामी खेलाडीहरूलाई दिनुपर्छ जस्तो लाग्छ। यस किसिमका गोल भइरहन्छन्,’ अनन्तले भने।

गत माघमा नेपाली महिला टिमको मुख्य प्रशिक्षक नियुक्त भएका अनन्तले विपक्षी टिमको तारिफ गरे। ‘भियतनामले तीव्र गतिमा खेल्यो। उसका खेलाडीहरू प्राविधिक रुपमा हामीभन्दा अब्बल थिए। उनीहरूको प्रेसिङ पनि प्रभावकारी थियो,’ अनन्तले भने।

नेपाली खेलाडीको तारिफ अनन्तले मात्र होइन, भियतनाम मुख्य प्रशिक्षक माइ डुक चुङले पनि गरे। ‘खेल हामीले जित्यौँ। तर नेपाली खेलाडीले राम्रो खेले भन्न कर लाग्छ। उनीहरूको मनोबल उच्च देखियो। उनीहरू शारीरिक रुपमा पनि बलिया छन्,’ भियतनामलाई यही वर्ष हुने महिला विश्वकपका लागि छनोट गराएका चुङले भने।

७४ वर्षीय चुङले तारिफसँगै नेपाली खेलाडीको कमजोर पक्ष पनि औलाए। ‘मलाई लाग्छ नेपाली खेलाडी प्राविधिक रुपमा कमजोर छन्। उनीहरूमा पर्याप्त कौशल विकास भएको छैन,’ चुङको भनाइ थियो।

उनले दशरथ रंगशालाको मैदानबारे पनि टिप्पणी गरे। ‘यो मैदान असाध्यै साह्रो छ। यसले हाम्रो प्रदर्शनमा असर गरेको छ। बल गुड्नै गाह्रो हुन्छ। हाम्रा खेलाडी यस्तो मैदानसँग अभ्यस्त छैनन्,’ चुङले भने।

नेपाल र भियतनाम दोस्रो तथा अन्तिम खेलमा शनिबार आमनेसामने हुनेछन्। अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि यो समूह ‘सी’ मा नेपाल र भियतनाम मात्र रहेका हुन्। दुई टिममध्ये एकले छनोटको दोस्रो चरणमा स्थान पक्का गर्नेछ।

प्रकाशित: २२ चैत २०७९ २२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =