विश्वकप खेल्न लागेको भियतनामसामु निडर हुने नेपालको ध्येय

हिमाल प्रेस २१ चैत २०७९ २०:३९
64
SHARES
विश्वकप खेल्न लागेको भियतनामसामु निडर हुने नेपालको ध्येय

काठमाडौँ- फुटबल विकास कसरी हुन्छ? यो प्रश्नकाे निकै वा फरकफरक जबाफ हुनसक्छन्। ‘आफूभन्दा बलियो टिमसँग खेलेर’ जबाफको सूचीमा यो पनि पर्नसक्छ। नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक अनन्त थापाको पनि भनाइ यस्तै छ।

‘भियतनाम जस्तो बलियो टिमसँग खेल्न पाउँदा नै नेपाली फुटबलको विकास हुने हो,’ ओलिम्पिक २०२४ अन्तर्गतको महिला फुटबल छनोटमा भियतनामसँग भिड्नुअघि अनन्तले भने।

अनन्तले दिएको जबाफ बिरलै सुनिने खालको होइन। कुनै पनि देशको फुटबललाई माथि लैजाने हो भने, बलिया टिमसँग खेल्नै पर्छ। यो सामान्य तर महत्त्वपूर्ण तथ्य हो। फुटबल विकास गर्ने हो भने प्रक्रिया पनि यही हो। र यो प्रक्रियाले अल्पकालीन र दिर्घकालीन दुवै किसिमका नतिजा दिन्छ।

अल्पकालीन नतिजा तुरुन्तै आइहाल्छ। बुधबार साँझ दशरथ रंगशालामा आउने त्यो नतिजाले अनन्त मात्र होइन सबै नेपालीलाई खिन्न पनि बनाउन सक्छ। किनभने भियतनाम नेपालले २१ औँ शताब्दीमा महिला फुटबलमा सामना गर्ने सबैभन्दा माथिल्लो स्तरको विपक्षी हो।

सन् १९८० र ९० को दशकमा नेपाल जपानसँग पनि भिडेको हो। तर त्यसबेला महिला फुटबल देशभर फैलिसकेको थिएन। पूर्वकप्तान रमा सिंहको शब्द सापटी लिएर भन्दा, ‘एएफसीले अनिवार्य गरेकाले मात्र नेपाली महिला टिम बनाइने गरिन्थ्यो,’

कुरा फेरि अनन्तकै। उनलाई थाहा छ, फुटबल विकास र दिर्घकालीन नतिजाको कुरा गरिरहँदा बुधबारको नतिजाले वर्तमानमा फरक पार्नेछ नै। यसकारण उनले भियतनामलाई पन्छाएर छनोटको दोस्रो चरण पुग्ने लक्ष्य राखेका छन्। फेरि यो सम्भावित सफलता नेपालका लागि नयाँ होइन। किनभने नेपाल यसअघिको ओलिम्पक छनोटको दोस्रो चरणमा पुगेको थियो, समूह ‘सी’ बाट ‘उत्कृष्ट तेस्रो’ टिम बनेर।

‘हामीसँग प्रतिभावान् खेलाडी छन्। आशा छ उनीहरुले राम्रो खेल देखाउनेछन्। हाम्रो उद्देश्य दोस्रो चरण पुग्ने नै हो। पहिलो खेलको प्रदर्शन र नतिजापछि दोस्रो खेलका लागि रणनीति बनाउने छौँ,’ अनन्तले भनेका छन्।

नेपाल छनोटको समूह ‘सी’ मा छ। यो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र बाँकी रहेका हुन्। अब यी दुई टिम दुई खेलमा आमनेसामने हुनेछन्। दुईमध्ये एकले दोस्रो चरणमा स्थान बनाउनेछन्।

समूहमा दुई टिम मात्र रहँदा खासै फरक नपरेको अनन्तको जिकिर छ। ‘अरु टिम भइरहेको भए पनि हाम्रो मुख्य प्रतिस्पर्धा भियनामसँगै हुने थियो,’ अनन्तले भने।

एसियाली महिला फुटबलमा पाँच बलिया टिममध्येको एक हो, भियतनाम। फिफा वरीयता हेरेर मात्र यसो भनिएको होइन। भियतनाम महिला विश्वकप २०२३ मा छनोट भएकाले पनि यसो भन्न कर लागेको हो।अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा भियतनामले एसियाका बिग थ्री जापान, चीन र दक्षिण कोरिया अनि फिलिपिन्ससँगै सहभागिता जनाउँदैछ। आयाेजक अस्ट्रेलिया पनि एसियाकै प्रतिनिधि हाे। फिलिपिन्स भियतनाम जस्तै विश्वकपमा पहिलो पटक छनोट भएको हो।

ओलिम्पिक छनोटलाई मध्यनजर गर्दै नेपालले गत फेब्रुअरीमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। ती दुवै खेल बराबरीमा सकिएका थिए। फिफा वरीयतामा ६१ औँ स्थानमा रहेको भारतसँग खेल्दा नेपालले आफ्ना कमजोर र सबल पक्षबारे जान्ने मौका पाएको अनन्तको भनाइ छ। ‘खेलाडीले आफ्नो क्षमता जाँच्ने मौका पाए। उनीहरूको मनोबल पनि बढेको छ,’ अनन्तले भने।

नेपाली कप्तान एन्जिला लिम्बुले भियतनाम फिफा वरीयतामा माथि भए पनि आफूहरू नडराई खेल्ने बताइन्। ‘वरीयतामा भियतनाम माथि छ। तर यसले केही फरक पार्दैन। यसअघिको छनोटमा हामीले म्यानमारलाई बराबरीमा रोकेर यसको प्रमाण दिइसकेका छौँ,’ गोलरक्षक एन्जिलाले भनिन्, ‘मैदान प्रवेश गरेपछि हार्ने रहर कसैको हुँदैन। हामी जितकै लागि खेल्नेछौँ।’

भारतसँगको दुई खेल हेरेर नेपाली टिमको विश्लेषण गरेको छ, भियतनामले। त्यसबेला नेपाली खेलाडीले गरेको प्रदर्शनले आफू प्रभावित भएको भियतनामका मुख्य प्रशिक्षक माई डुक चुङको भनाइ छ। ‘यसअघि नेपालसँग खेलेका छैनौँ। तर नेपालको खेल भने हेरेका छौँ,’ उमेरले ७० नाघिसकेका चुङले भने, ‘नेपाल र भारतबीचको खेल हेर्‍यौँ। मलाई नेपाली टिमको प्रदर्शनले प्रभावित बनायो। नेपाली टिमको सबैभन्दा राम्रो चाहिँ नम्बर नौ (सावित्रा भण्डारी) लाग्यो।’

चुङले घरेलु टिमलाई कमजोर नआकेका बताए। यसको कारण खुलाउँदै उनले भने, ‘पछिल्ला केही वर्षयता नेपाली टिमको प्रदर्शन राम्रो भइरहेको छ। यसकारण हामी सतर्क छौँ।’ समूहका अन्य दुई टिमले नाम फिर्ता लिएकामा भने उनी खुसी छैनन्। ‘तीन वटा टिमसँग खेल्न पाएको भए राम्रो हुन्थ्यो। विश्वकपका लागि तयारी हुन्थ्यो,’ चुङले भने।

भियतनामकी कप्तान ह्यु नुले पनि मुख्य प्रशिक्षक चुङको जस्तै विचार राखिन्। ‘महिला फुटबल नेपाल क्रमशः बलियो बन्दै गइरहेको टिम हो। यसकारण नेपालसँगका खेल सजिला हुने छैनन्। तर हामी यहाँ जितका लागि आएका हौँ। जितका लागि सकेको मेहनत गर्नेछौँ,’ पोर्चुगलको लिग खेल्ने नुको भनाइ थियो।

भारतविरुद्ध गरेको प्रदर्शनले नेपाल कति बलियो टिम हो भन्ने देखाएको उनको भनाइ थियो। ‘फिफा वरीयतामा हामी माथि छौँ। तर हामी नेपाललाई सम्मान गर्छौँ। नेपालले भारतसँग खेलेको देखेका छौँ। यसकारण नेपाल कति बलियो छ, थाहा छ। यसकारण हामीले एकाग्र भएर खेल्न जरुरी छ,’ ३१ वर्षीय फरवार्ड नुले भनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 10 =