कम्पनीको क्रान्ति : प्रिमियर लिग फर्कियो बर्नली

हिमाल प्रेस २५ चैत २०७९ ११:४३
10
SHARES
कम्पनीको क्रान्ति : प्रिमियर लिग फर्कियो बर्नली प्रिमियर लिगमा बढुवा भएपछि खुसीयाली मनाउँदै बर्नलीका खेलाडी।

काठमाडौँ- बर्नली एक सिजनकै अन्तरालमै इंग्लिस प्रिमियर लिग फर्किएकाे छ। गत सिजन इंग्लिस फुटबलको दोस्रो श्रेणी च्याम्पियनसिपमा झरेको बर्नली म्यानचेस्टर सिटीका पूर्वकप्तान भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा बढुवा भएको हो।

शुक्रबार राति मिडल्सब्रोलाई २-१ ले हराएसँगै बर्नलीले शीर्षस्थानमा ११ अंकको अग्रता कायम गर्‍यो। लिगमा अब सात खेल खेल्न बाँकी रहँदा बर्नलीले ३९ खेलबाट ८७ अंक छ। उति नै खेल खेलेको सेफिल्ड युनाइटेडको ७६ अंक छ। च्याम्पियनसिपको शीर्ष दुईमा रहने टिम प्रिमियर लिगमा स्वतः बढुवा हुने व्यवस्था छ।

तेस्रोदेखि छैटौँ स्थानमा रहने टिमहरूले प्लेअफ खेल्नेछन्। हाल तेस्रो स्थानमा लुटन टाउन, चौथोमा मडिल्स्रबो, पाँचौँमा मिलवाल र छैटौँमा ब्लाकबर्न रोभर्स छन्।

मिडल्ब्रोमाथि बर्नलीलाई जित दिलाउन आस्ले बार्न्सले १२ औँ र कोनर रोबर्ट्सले ६६ औँ मिनेटमा गोल गरेका थिए। पराजित टिम मिडल्सब्रोबाट चुबा एक्पोमले एक गोल फर्काए।

लगातार १९ खेलमा अपराजित रहेको बर्नलीले सर्वाधिक थोरै खेलमा बढुवा पक्का गर्ने कीर्तिमान बनायो। अपेक्षा गरेभन्दा चाँडो प्रिमियर लिगमा उक्लिन सफल भएकोमा कम्पनी आफैँ आश्चर्यमा परेका छन्।

‘हामीले अझै सात खेल खेल्न बाँकी छ। तर खुसीयाली मनाउने मौका पाइसक्यौँ। म छक्क परेको छु। यत्तिका खेल बाँकी छँदै प्रिमियर लिगमा बढुवा भइन्छ भन्ने कल्पना नै गरेको थिइनँ,’ बेल्जियमका पूर्वरक्षक कम्पनीले भने।

प्रशिक्षक भएकाे दुई वर्षमै कम्पनीले सम्झनलायकको सफलता पाएका हुन्। सन् २००८ देखि २०१९ सम्म सिटीबाट खेलेका कम्पनी पुरानो क्लब एन्डरलेक्ट फर्किएका थिए। मे, २०१९ मा खेलाडीसँगै प्रशिक्षकको पनि भूमिका निभाउने गरि एन्डरलेक्टसँग आबद्ध भएका उनी अगस्ट, २०२० मा पूर्णकालिन प्रशिक्षक बने।

एन्डरलेक्टमा एक सिजन रहेपछि कम्पनी इंग्ल्यान्ड फर्किएका थिए। लगातार ६ सिजन प्रिमियर लिग खेलेर च्याम्पियनसिपमा झरेको बर्नलीको प्रशिक्षकमा कम्पनीलाई नियुक्त गरिँदा धेरैको जिकिर थियो, लांकासियरकाे क्लबले खराब निर्णय गर्‍याे। उसो त कम्पनीले पनि इंग्ल्यान्डमा प्रशिक्षक बन्न अलि हतार गरे जस्तो देखिएकै थियाे।

बर्नली आफैँ पनि खराब परिस्थितिबाट गुज्रिरहेको थियो। एक त प्रिमियर लिगबाट घटुवा भएको क्लब, त्यसमाथि लागेको ऋण, यी दुईका कारण बर्नलीको भविष्य सुखद् रहने देखिएको थिएन।

सन् २०२० मा अमेरिकी समूहले स्वामित्वमा लिँदा बर्नलीको ऋण ६ करोड ५० लाख पाउन्ड थियो। यो ऋणको धेरैजसो हिस्सा नयाँ व्यवस्थापन समूहको भागमा पर्‍यो। त्यही बेला अनुभवी खेलाडीले बर्नली छाडे। अब कम्पनीको काँधमा नयाँ खेलाडीको बाहुल्य भएको टिम थियो।

1480650895

कम्पनी व्यक्तिगत सम्बन्धको उपयोग गर्दै खेलाडी बजार छिरे। आफूलाई चाहिएको प्रतिभा पहिचान गरे। र, बलियो टिम निर्माण गरे। उनको यो खुबीले आखिरमा बर्नलीलाई प्रिमियर लिगमा फर्काएको छ। यति चाँडो प्रिमियर लिगमा फर्कदा बर्नलीका अध्यक्ष एलन पेस पनि छक्क परेका छन्।

‘मेरा लागि यो सफलता आचश्चर्यजनक छ। हामीले चार वर्षभित्र प्रिमियर लिग फर्कने योजना बनाएका थियौँ। तर यहाँ त जादु भयो,’ पेसले भनेका छन्, ‘यो टिम असाध्यै बलियो छ। भिन्सेन्ट आफैँ पनि प्रत्येक साता टिमको तारिफ गरिरहेका हुन्छन्। सबै खेलाडी प्रतिभावान् छन्।’

प्रिमियर लिगमा कयौँ वर्ष उत्कृष्ट रक्षकका रुपमा स्थापित कम्पनी लगातार खेलाडी ‘स्काउटिङ’ गरिरहन्छन्। केही दिनअघि मात्र पनि उनी डेनमार्कमा थिए। उनले यो सिजनको सुरुवातमा आफ्नै देशबाट पनि पाँच खेलाडीलाई बर्नली ल्याएका थिए। त्यसमध्येका एक हुन्, जोस कुलन।

आयरल्यान्डका कुलन कम्पनीकै पूर्वक्लब एन्डरलेक्टमा थिए। ब्रसेल्समा कम्पनीसँग केही समय सँगै खेलेका कारण कुलन र कम्पनीबीच गजबको सम्बन्ध छ। यही सम्बन्धको कारण पनि हुनसक्छ, सेन्ट्रल मिडफिल्डरबाट कम्पनी के चाहन्छन्, त्यो कुलनले बुझेका छन्। तब त कुलन बर्नलीका लागि यो सिजन महत्त्वपूर्ण साबित भएका हुन्।

‘कुलन सधैँ व्यक्तिगतभन्दा टिमको प्रर्दशनलाई बढी महत्त्व दिएर खेल्छन्,’ कम्पनी २७ वर्षीय मिडफिल्डरको तारिफ गर्छन्।

कम्पनीले फरवार्डद्वय एनास जरौरी र म्यानुएल बेन्सनलाई बेल्जियमका दुई क्लब चालएरेरोई र एन्टर्पबाट अनुबन्ध गरेका थिए। यी दुईका लागि बर्नलील गरेको खर्च थियो, ७५ लाख पाउन्ड। अब जरौरी र बेन्सनको मोल दोब्बरभन्दा बढी भइसकेको छ। किनभने यी दुई विंगरले सात–सात गोल गरिसकेका छन्।

बर्नलीका उच्च गोलकर्ता भने, नाथन टेल्ला हुन्। साउथह्याम्पटनबाट ऋण सम्झौतामा बर्नली आएका उनले १७ गोल गरेका छन्। हाल प्रिमियर लिगको पुछारमा रहेको साउथह्याम्पटन रेलिगेसनमा पर्ने सम्भावना बलियो छ। यसकारण टेल्ला अर्को सिजन पनि च्याम्पियनसिपमा हुनेछन्। इंग्ल्यान्डका यी फरवार्डले गोल लयलाई निरन्तरता दिए साउथह्याम्पटन पनि बर्नली जस्तो एकै सिजनमा बढुवा हुनसक्छ।

बर्नलीका मुख्य दुई रक्षक जोर्डन बेयर र टेयलर हारउड बेलिस पनि सिजनको अन्त्यमा अभिभावक क्लब फर्कनेछन्। बेयर जर्मनीको बोरुससिया मन्चुनग्लाडबाग र बेलिस सिटीका खेलाडी हुन्। यी दुई आआफ्नो क्लब फर्कदा बर्नली नयाँ रक्षकका लागि खेलाडी बजार पस्नेछ।

कम्पनीको खेल रणनीतिमा गोलरक्षक र दुई रक्षकको भूमिका अहम् हुने गरेको छ। किनभने अन्य आधुनिक प्रशिक्षकले जस्तै पनि उनी पनि मुभ रक्षापंक्तिबाट सुरु होस् भन्ने चाहन्छन्। यसका लागि रक्षापंक्तिमा तीक्ष्ण खेलाडीको आवश्यकता पर्छ। जसको ‘डिफेन्सिभ’ सँगै ‘पासिङ’ क्षमता गजबको होस्।

कम्पनीको यो खेल दर्शनलाई सफल बनाउन पूर्वक्लब सिटीबाट आएका दुई खेलाडीले सकेको भूमिका निर्वाह गरे। बेसिलस सिटी नै फर्कने भए पनि गोलरक्षक आरो मुरिक भने बर्नलीमै रहनेछन् र अर्को सिजन प्रिमियर लिग खेल्नेछन्।

कम्पनीलाई यो यात्रामा साथ दिने अर्का व्यक्ति हुन्, क्रेग बेलामी। संयोगवश उनी सिटीका पूर्वखेलाडी हुन्। कम्पनी र बेलामीले इत्तिहादमा केही समय सँगै खेलेका थिए। लिभरपुल, वेस्टह्याम युनाइटेड र न्युकासल युनाइटेड जस्ता क्लबबाट लामो समय प्रिमियर लिग खेलेका बेलामीको करियर भने च्याम्पियनसिपबाट सुरु भएको थियो।

यसकारण बेलामीको च्याम्पियनसिप अनुभव बर्नलीका लागि काम लागेको छ। बर्नलीको सफलतामा कम्पनीको जति भूमिका छ, त्यति नै भूमिका बेलामीको पनि छ भनिन्छ। सहायक प्रशिक्षकका रुपमा बेलामीको रणनीतिले बर्नलीलाई आक्रामक टिम बनाएको छ।

क्लबलाई लक्ष्यमा सफल बनाएपछि प्रशिक्षक र उनका सहायकहरुको स्वाभाविक प्रशंसा हुन्छ। तर सुरुवातमा उनीहरुको क्षमता र शैलीमाथि प्रश्न पनि उठाइएको हुन्छ। क्लब फुटबलमा यो कहिल्यै अन्त्य नहुन् चलन हो। कम्पनीमाथि पनि प्रश्न नउठेको होइन। उठेका प्रश्न मूलतः उनको खेलाडी अनुबन्धन रणानीतिमाथि थियो। लामो समय सिन डाइचको प्रशिक्षणमा फरक किसिमको फुटबल खेलेको बर्नलीमा परिवर्तन एकै सिजनमा सम्भव छ त? प्रश्न यो पनि थियो।

बर्नलीमा देखिएको यो संक्रमणकालीन परिस्थितिलाई पार लगाउन कम्पनीलाई भेट्रान खेलाडीहरुको साथ रह्यो। डाइचको नेतृत्वमा लामो समय खेलेका जोस ब्राउनहिल, ज्याक कोर्क र जेय रोड्रिगेजले कम्पनीले भनेजस्तै भूमिका निर्वाह गरे। उनीहरुले नयाँ शैलीमा अभ्यस्त हुन समय लगाएनन्।

बर्नली समर्थक डाइचको प्रशंसक थिए। यसको कारण थियो, प्रिमियर लिगमा टिकाइरहनु। समर्थकमाझ नायकको छवि बनाएका डाइकलाई प्रतिस्थापन गर्नु कम्पनीका लागि कम चुनौतीपूर्ण थिएन। उनले यसो गर्न आक्रामक खेल शैलीको सहारा लिए।

कम्पनीको रणनीतिमा घरेलु मैदानमा बर्नलीले २० खेल खेलिसक्दा ४३ गोल गर्‍यो। लिगका कुल ३८ खेलमा बर्नलीले गरेको गोल संख्या हो, ७४। गोल गर्ने मामलामा बर्नलीले छलाङ नै मारेको हो। किनभने बर्नलीले प्रिमियर लिगमा गरेको सर्वाधिक गोल नै ४५ थियो।

समर्थकले यो पनि महसुस गरेका छन्, टिमका प्रत्येक खेलाडी कम्पनीका लागि मरिमेट्छन्। लागू गरिएको खेल शैलीबाट अलिकति पनि यताउती हुँदैनन्। यसकै कारण हो, बर्नलीले जारी सिजन जम्मा दुई खेलमा मात्र पराजय भोगेको छ। च्याम्पियनसिपमा यो लय कायम राख्नु चानचुने सफलता होइन। किनभने च्याम्पियनसिप यस्तो लिग हो, जहाँ टिमहरूको स्तरमा भिन्नता न्यून हुनेगर्छ।

यति हुँदाहुँदै पनि बर्नलीले आफूलाई सबैभन्दा बलियो टिमका रुपमा स्थापित गरेको छ। तर तमाम सकारात्मक पक्षका बाबजुद स्वीकार गर्नुपर्ने तीतो सत्य छ। जुन हो, प्रिमियर लिगमा भने अहिलेको स्तरले काम दिँदैन। कम्पनीले पनि यो तथ्य बुझेका छन्। एएफए कपमा सिटीसँग भोगेको ६-० को हारले पनि यस्तो तथ्यलाई स्थापित गरिसकेको छ। यसकारण प्रिमियर लिगमा होमिनुअघि बर्नलीले टिम पुनः निर्माण गर्नेछ। त्यसपछि भरोसा कम्पनी र बेलामीमाथि हुनेछ।

प्रकाशित: २५ चैत २०७९ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =