डा. अधिकारीका तीन पुस्तक एकसाथ लोकार्पण

हिमाल प्रेस २५ चैत २०७९ ६:०८
16
SHARES
डा. अधिकारीका तीन पुस्तक एकसाथ लोकार्पण

काठमाडौँ- जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षक डा. राजु अधिकारीद्वारा लिखित तीन पुस्तक ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ एकसाथ लोकार्पण गरिएको छ।

काठमाडौँको पेप्सीकोलास्थित अक्षरा स्कुलमा शुक्रबार आयोजित कार्यक्रममा संस्कृतिविद् डा. गोविन्द टन्डन, साहित्यकार डा. तुलसी भट्टराई र प्रमुख निर्वाचन आयुक्त एवम् साहित्यकार दिनेश थपलियाले पुस्तक लोकार्पण गरे।

कार्यक्रममा डा. गोविन्द टन्डनले अधिकारीको पुस्तक ‘संस्कारी बन्ने काइदा’माथि आफ्ना विचार राखेका थिए। यो पुस्तक अहिलेको समयमा अति नै सान्दर्भिक रहेको उनको भनाइ छ। ‘किनभने हामीले आफ्नो संस्कृति अनि धर्म-परम्परा बिर्संंदै गएका छौँ’, उनले भने, ‘यसमा राज्यले पनि ध्यान दिएको छैन। अहिलेको शिक्षाले सूचना त दिएको छ। यसले मानिसलाई सफल पनि बनाउला। तर असल बनाउँदैन। अधिकारीजीको ‘संस्कारी बन्ने काइदा’ले सफल मात्र होइन, मानिसलाई असल पनि बनाउँछ।’

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अधिकारीको पुस्तक ‘हजुरलाई विशेष उपहार’बारे समीक्षा गरे। पुस्तक पढ्दै गर्दा उपहार होस् त यस्तो भन्ने अनुभूति हुने उनले बताए। कुनै पनि उपहारको मूल्य त्यसको उपयोगितामा निहित हुने र आवरणमा मात्र ध्यान दिन नहुनेमा पुस्तकले जोड दिएको थपलियाको भनाइ छ।

‘तर हामी देखावटी अर्थात् चिरिच्याँट्ट परेको उपहारमा मात्र सीमित छौँ,’ थपलियाले भने, ‘डा. अधिकारीजीको पुस्तक ‘हजुरलाई विशेष उपहार’ले साजसज्जामा मात्र ध्यान केन्द्रित गरिरहेको समाजलाई गतिलो सुझाव छ। यो सबैका लागि बहुउपयोगी छ।’

साहित्यकार डा. तुलसी भट्टराईले अधिकारीको पुस्तक ‘परिवार सुख’को समीक्षा गरे। पछिल्लो समय परिवारमा आइरहेको बेमेलले समाजलाई भड्खालोतिर लगिरहेको अवस्थामा अधिकारीको यस पुस्तकले आदर्श परिवार निर्माणमा सघाउ पुग्ने उनको भनाइ छ।

‘पारिवारिक सुखलाई प्राथमिकता दिइएर लेखिएको यो पुस्तक साँच्चिकै उदाहरणीय छ,’ उनले भने, ‘झनै अहिलेका प्रत्येक व्यक्तिले यो पुस्तकबाट प्रशस्त फाइदा लिन सक्छन्।’

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय हरेक क्षेत्रमा संस्कार हराउँदै गएका बेला यस्तो पुस्तक आउनु महत्वपूर्ण भएको बताए । उनले विश्वले नेपाल चिने पनि नेपालीले नेपाल चिन्न नसकेको भन्दै दुःख व्यक्त गरे।

लेखक डा. राजु अधिकारीले लोकार्पित किताबहरूमा एउटाले भित्री जीवनलाई सिँगार्ने, अर्काेले बाहिरी जीवन सिँगार्ने र तेस्रोले सबैले सबैलाई जोड्ने अर्थात् आफूले अरुसँग जोड्ने काम गर्छन्।

‘परिवार सुख आजको सबैको ठूलो चाहना हो,’ उनले भने, ‘त्यसलाई सम्बोधन गर्न मैले ‘परिवार सुख’ पुस्तक लेखेँ। संस्कारको खडेरीलाई थोरै शान्त गर्न ‘संस्कारी बन्ने काइदा’ लेखेको हुँ। र कालजयी उपहार अर्थात् स्थायी उपहार दिन सजिलो होस् भनेर ‘हजुरलाई विशेष उपहार’ पुस्तक लेखेँ।’

‘परिवार सुख’

त्यो नै परिवार हो, जसले हामीलाई जिउन सिकाउँछ। गरिखाने ढङ्ग सिकाउँछ। समस्या समाधान गर्ने आत्मबल दिन्छ। तनाव र पीडालाई खुसीमा बदल्ने प्रेरणा दिन्छ। हर परिस्थितिमा साथ र अपनत्व दिन्छ। दुःखको क्षणमा सहारा दिन्छ। जीवनभरि काम लाग्ने संस्कार सिकाउँछ अनि शुभ भावनाको पोषण दिन्छ।

परिवार नै त्यो प्रेमालय हो, जहाँ सम्बन्धहरू हुर्कन्छन्। क्षमताहरू मौलाउँछन्। भावनाहरू पल्लवित हुन्छन्। विश्वासहरू परिपोषित हुन्छन् र व्यक्तिको आन्तरिक क्षमता प्रस्फुटित हुन्छ। जहाँ सबै आफ्ना हुन्छन् र सबैबीच अपनत्वको विनिमय हुन्छ, त्यो नै परिवार हो। र यस्तै परिवार सुखी परिवार हो। यस्तै सुखी परिवारको कुण्डली चित्रण गर्ने पुस्तक हो, परिवार सुख।

‘संस्कारी बन्ने काइदा’

जुन किसिमको संस्कार हामी सञ्चय गर्छौँ, त्यसैअनुरुप हाम्रो चरित्रको निर्माण हुन्छ। संस्कार मनुष्यको तिनै विचारहरूको परिपक्व स्वरुप हो, जसले लामो समयसम्म मस्तिष्कमा रहेर स्थायी स्थान बनाएका हुन्छन्।

मस्तिष्कमा असल विचार अपनाएर त्यसैको चिन्तन र मनन गर्ने हो भने त्यसैअनुरुप संस्कार पनि शुभ र सुन्दर हुन्छ। यसको विपरीत यदि नराम्रो विचार ग्रहण गरेर मस्तिष्कमा राखिरहने र मनन गर्ने गरियो भने त्यसैअनुरुप संस्कारका रुपमा फोहोरमैला मात्रै एकठ्ठा गर्ने काम गरिन्छ।

‘हजुरलाई विशेष उपहार’

नासिएर जाने, हराएर जाने, बिर्सिएर जाने उपहार के उपहार? उपहार होस् त कालजयी। उपहार त्यस्तो हुनुपर्छ, जो सदा स्मरणीय होस्। उपहार त्यस्तो हुनुपर्छ, जो साँच्चिकै अक्षय होस्। जीवनमा कैयौं उपहार लिइन्छन् र कैयौँ दिइन्छन्। कुनै पनि उपहारको मूल्य त्यसको उपयोगितामा निहित हुन्छ न कि साजसज्जामा।

को हुन् राजु अधिकारी?

जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षण, पुस्तक लेखन एवम् वातावरण संरक्षणका क्षेत्रमा परिचित नाम हो, डा. राजु अधिकारी।

हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योगविज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारी नेपाल, भारत र अमेरिकामा ‘मोटिभेसनल ट्रेनर’ तथा ‘लाइफ कोच’को भूमिकामा रमाइरहेका छन्।

खाने कसरी पिउने कसरी, योग पनि गरौँ भोग पनि गरौँ, यस्तो होस् जीवनशैली, आखिर रोज्ने के?, तपाईंका लागि योग, जिन्दगी रिल्याक्स प्लिज!, संस्कारी बन्ने काइदा, परिवार सुख, हजुरलाई विशेष उपहार, विवाहअगाडि विवाहपछाडि, बालबालिका र योगाभ्यास, सुयोग्य सन्तति, नैतिक सुखवाद र जीवन मूल्यहरू पुस्तक प्रकाशन गरिसकेका अधिकारी बागमती सफाइ महाअभियानका अवधारणाकारसमेत हुन्।

प्रकाशित: २५ चैत २०७९ ६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =