शनिबार हायातमा हुने कार्यक्रमका लागि हनी सिंह आइपुगे काठमाडौँ

हिमाल प्रेस २४ चैत २०७९ १८:३४
20
SHARES
शनिबार हायातमा हुने कार्यक्रमका लागि हनी सिंह आइपुगे काठमाडौँ

काठमाडौँ– भारतीय गायक हनी सिंह नेपाल आइपुगेका छन्। सिंह चैत २५ गते ( अप्रिल ८, शनिबार) बौद्धस्थित होटल हायात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन शुक्रबार काठमाडौँ आइपुगेका हुन्।

युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन शुक्रबार सिंह नेपाल आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सिंहले नेपालमा पहिलोपटक नेपालमा कार्यक्रम गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिएका थिए।

‘धेरै समयदेखि नेपालमा कार्यक्रम गर्ने योजना रहे पनि यसपटक सफल भएको छ,’ विमानस्थलमा आयोजकसँगै कुरा गर्दै उनले भने, ‘भोलि हुने कार्यक्रमका लागि एकदमै उत्साहित भइरहेको छु।’

नेपाल भारतको छिमेकी मुलुक भएकाले आफूलाई धेरै मनपर्ने सिंहले बताए। ‘सांगीतिक कार्यक्रमले एकआपसमा जोड्न सहयोग पुर्याउने र संगीतले सबैलाई जोड्न सक्ने सन्देश प्रवाह गर्न आएको हुँ,’ उनले सुनाए।

युनिफाइले हायात रिजेन्सीमा हुने कार्यक्रमको पूर्ण रूपमा तयारी भइसकेको जानकारी दिएको छ। कार्यक्रमको टिकट मूल्य १५ सय, २५ र ६ हजार रूपैयाँ रहेको छ। ६ हजारको टिकटमा कम्प्लिमेन्ट्री स्वरूप गिफ्ट उपलब्ध हुनेछ।

हायातमा हुने सिंहको कार्यक्रमको अन्तिम तयारी सकिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए। ‘साधारण टिकटको १ हजार ५ सय माथि र भीआइपी टिकटको ६ हजार रूपैयाँसम्म रहेको छ,’ उनले भने, ‘अधिकांश टिकट बिक्री भइसकेका छन्। केही टिकट कार्यक्रमस्थलमा पनि खरिद गर्न सक्ने छन्।’‍

उनका अनुसार नेपाली कलाकारको समेत प्रस्तुति हुनेछ। डोङ द ग्रेट, यबेश थापा र विवेक लामाको प्रस्तुति रहेको छ। श्रेष्ठले कार्यक्रममा पूर्ण रूपमा सुरक्षाको व्यवस्था गरिएको बताए। दर्शक तथा कलाकारको सुरक्षामा आयोजक गम्भीर रहेको उनले प्रस्ट पारे। सिंहका ब्लु आइज, धिरे धिरे र चार बोतल भोडकालगायतका गीत चर्चित छन्।

उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिने श्रेष्ठले जानकारी दिए। यसअघि युनिफाइ नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जीतसँगको भारतमा भएको भेटमा सिंहले नेपाल जान आतुर रहेको बताएका थिए। सिंह भारतमा संगीत कम्पोजर, र्‍यापर, गायक, गीतकार र अभिनेताका रूपमा समेत परिचित छन्।

उनले सन् २००३ देखि रेकर्डिङ कलाकारको रूपमा आफ्नो करिअर सुरु गरेका थिए। उनी सांगीतिक क्षेत्रमा लागेपछि भांग्रा र हिप हप गीत पनि गाएका छन्। सिंह आफ्नै गीतले सफल भएपछि उनले बलिउडका लागि पनि गीत गाएका छन्। सन् २०१२ मा पन्जाबी फिल्म ‘अन टोल्ड स्टोरी’ मा उनले अभिनय गरेका छन्।

प्रकाशित: २४ चैत २०७९ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =