ए डिभिजन लिग : सुरुवाती चरणमै राेचक बन्दै शीर्षस्थानकाे हाेड

हिमाल प्रेस २१ चैत २०७९ २२:०६
44
SHARES
ए डिभिजन लिग : सुरुवाती चरणमै राेचक बन्दै शीर्षस्थानकाे हाेड

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरुवाती चरणमै छ। छैटौँ चरणका खेल भइरहेका छन्। सम्भावित च्याम्पियनबारे अनुमान गर्ने बेला भइसकेको छैन। तर यति चाहिँ ढुक्कले भन्न सकिन्छ, यो सिजन उपाधि दौड रोचक हुनेवाला छ। कम्तीमा मंगलबारका दुई खेलले यही संकेत गरे।

शीर्ष चारमा रहेका तीन क्लब मंगलबार मैदान उत्रिए। जावलाखेल युथ क्लब शीर्षस्थानको सातदोबाटो युथ क्लबको सामना गर्नुअघि चौथो स्थानमा थियो। अनि रेलिगेसन क्षेत्रमा रहेको न्युरोड टिम एनआरटीसँग आमनेसामने हुनुअगाडि चर्च ब्वाइज युनाइटेडको स्थान थियो, तेस्रो।

एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा भएका दुई खेलका नतिजाले शीर्ष चारमा हेरफेर गरिदिए। जावलाखेल सातदोबाटोलाई २-१ ले हराउँदै शीर्षस्थानमा पुग्यो भने चर्च ब्वाइज एनआरटीसँग २-२ को बराबरी खेलेपछि दोस्रो स्थानमा उक्लियो। आतिरिक्त समयमा गोल नखाएको भए चर्च ब्वाइजले शीर्षस्थानमाथि कब्जा गर्ने थियो।

च्यासल रंगशालामा आशिषले चौधरीले २० औँ मिनेटमा गोल गरेपछि चर्च ब्वाइज खेलमा अघि बढेको थियो। दोस्रो हाफको ६२ औँ मिनेटमा कप्तान अनन्त तामाङले फ्रिकिक गोल गर्दै चर्च ब्वाइजलाई तीन अंकनजिक पुर्‍याए।

तर यो सिजन जितविहीन रहेको एनआरटी अन्तिम २३ मिनेटभित्र खेलमा फर्कियो। रोहन खड्गीले ७१ औँ मिनेटमा एनआरटीको पहिलो गोल गरेका थिए। थपिएको समय पनि सकिनै लाग्दा सब्स्टिच्युट सरोज तामाङले बराबरी गोल गरे।

यो बराबरीपछि चर्च ब्वाइजको ६ खेलबाट १२ अंक भएको छ। जुन शीर्षस्थानको जावलाखेलको भन्दा एक अंक कम हो। उता १३ औँ स्थानको एनआरटीको तीन अंक छ। लिगमा ६ खेल खेल्दा तेस्रो पटक बराबरी खेलेपछि एनआरटीले १२ औँ स्थानको फ्रेन्ड्ससँगको दूरी एक अंकमा झारेको हो। यद्यपि फ्रेन्ड्सले पाँच खेल मात्र खेलेको छ।

‘उपाधिबारे सोचेका छैनौँ’
जावालाखेलले ललितपुरको अर्को क्लब सातदोबाटोलाई २-१ ले हराउँदा दुवै गोल विदेशी खेलाडीले गरे। पहिलो हाफको उत्तराद्र्धमा फोडे फोफानाको गोलमार्फत अग्रता लिएको जावलाखेल दोस्रो हाफमा थप एक गोल बोकेर फर्कियो। दोस्रो हाफको ५० औँ मिनेटमा एन्कोटो सिनोस मासोओबीले जावलाखेलको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको ७५ औँ मिनेटमा दीपक राज सिंह ठकुरीले गोल गरेपछि सातदोबाटोले खेलमा फर्कने संकेत गरेको थियो। उनले १८ यार्डबक्सको बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। पहिलो गोल गरेपछि सातदोबाटो जावलाखेलमाथि हाबी भएको थियो। तर बराबरी गोल भने गर्न सकेन।

सातदोबाटोका गोलरक्षक अभिषेक बरालले हरिषराज भट्टलाई लडाएपछि जावलाखेलले पेनाल्टी पाएको थियो। जसमा फोफाना चुकेनन्। जावलाखेलको दोस्रो गोल फ्रिकिकका कारण सम्भव भएको थियो। हिसुब थपलियाको फ्रिकिकबाट आएको बललाई मासोओबीले जाली चुमाएका थिए।

जितपछि जावलाखेलका मुख्यप्रशिक्षक सुनिल कुमार श्रेष्ठले फिनिसिङमा सुधार हुँदै गएको र विदेशी खेलाडी पनि अभ्यस्त हुँदै भएको प्रतिक्रिया दिए। ‘सुरुवाती खेलहरूमा हामी फिनिसिङमा चुकिरहेका थियौँ। त्यही कारण दुई खेलमा अंक पनि गुमायौँ,’ सुनिलले भने, ‘तर अब यो पक्षमा सुधार भइरहेको छ। अझ सुधार हुने आशा छ। विदेशी खेलाडी पनि अभ्यस्त हुँदै गएका छन्।’

लिगमा भर्खर छैटौँ चरण चलिरहेकाले उपाधि सम्भावनाबारे टिप्पणी गर्ने बेला भइनसकेको पनि उनको भनाइ थियो। ‘अहिले हामी उपाधिबारे सोचिरहेका छैनौँ। समय पनि भएको छैन। फेरि लिगमा सबै टिमको स्तर लगभग उस्तै छ। अहिलेका लागि हाम्रो उद्देश्य आउँदा खेलमा सुधारिएको प्रदर्शन गर्ने हो,’ सुनिलले भने।

उता सातदोबाटोका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पराजयका बाबजुद समग्र प्रदर्शनलाई लिएर सन्तुष्टि व्यक्त गरे। ‘लिग भनेकै यही हो। कतिपय खेल हारिन्छ तर पुनरागमन गर्ने मौका सकिएको हुँदैन। हामी अर्को खेलमा जित लयमा फर्कने कोसिस गर्नेछौँ,’ लिगमा दोस्रो पटक हारेपछि सनोजले भने। यसअघि सातदोबाटोले एक मात्र हार थ्रीस्टार क्लबसँग व्यहोरेको थियो। आठौँ स्थानको थ्रीस्टारले सातदोबाटोलाई १-० ले पराजित भएको गरेको थियो।

प्रकाशित: २१ चैत २०७९ २२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =