ए डिभिजन लिगमा खुमलटारको स्मरणीय ‘डेब्यु’

प्रविण बिक्रम कटवाल १९ फागुन २०७९ २१:३५
64
SHARES
ए डिभिजन लिगमा खुमलटारको स्मरणीय ‘डेब्यु’

काठमाडौँ- घरेलु फुटबलको शीर्ष श्रेणीको लिगमा पहिलो खेलमै जित, त्यो पनि ८९ औँ मिनेटमा गोल गरेर। खुमलटार युवा क्लब (एफसी खुमलटार)ले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा स्मरणीय ‘डेब्यु’ गरेको छ। फ्रेन्ड्स क्लबमाथि १–० को जित दर्ता गर्दा खुमलटारका लागि क्यामरुनी फरवार्ड मेसुके ओलौमौउ निर्णायक रहे।

बारम्बार गोलका अवसर खेर फालेका ओलौमौउलाई कप्तान जय गुरुङले लामो पास दिएका थिए। फ्रेन्ड्सको बक्सभित्र रहेका उनले नियन्त्रणमा लिए। फ्रेन्ड्सका केही खेलाडीलाई पन्छाए र प्रहार गरे। उनले १८ यार्ड बक्सभित्रको दायाँतिरबाट गरेको प्रहारलाई फ्रेन्ड्सका गोलरक्षक राजाबाबु थापाले रोक्न सकेनन्।

जितपछि एफसी खुमलटार सहायक प्रशिक्षक मदन सुब्बाले आफ्नो टिमले आगामी खेलहरूमा अझ राम्रो प्रदर्शन गर्ने बताए। ‘डेब्यु खेल भए पनि राम्रो खेल्यौँ। आगामी खेलमा योभन्दा राम्रो प्रदर्शन हुनेछ। पहिलो हाफमा खेलाडीबीच तालमेल मिलेन, दोस्रो हाफमा केही हदसम्म सुधारियो। सुधार हुँदै जानेछ,’ मदनले भने।

गत वर्ष सहिद स्मारक ‘बी’ डिभिजन लिगको उपविजेता बनेर शीर्ष श्रेणीको लिगमा उक्लिएको खुमलटारले दुवै हाफमा बग्रेल्ती अवसर सिर्जना गरेको थियो। ओलौमौउ र उनकै देशका स्टिफन बिनोङले मिलेर फ्रेन्ड्सलाई दुःख दिइरहे। खुमलटारले देखाएका आक्रामकताको मुख्य कारण यी दुई खेलाडी नै थिए।

ओलौमौउ र बिनोङ मिलेर पहिलो हाफमा मात्र कम्तीमा चार अवसर सिर्जजा गरेका थिए। तर ती कुनै पनि अवसर गोलमा परिणत हुन सकेनन्। पहिलो हाफको १३ औँ मिनेटमा ओलौमौउले गरेको प्रहार थोरैले बाहिरिएको थियो। त्यसको दुई मिनेटपछि नै ओलौमौउले बिनोङसँग वान-टु पास खेल्दै गरेको प्रहार फ्रेन्ड्सका असिम भुषाललाई लाग्दै बाहिर गएको थियो।

१५ औँ मिनेटमा ओलौमौउले गोलको अर्को अवसर खेल फाले। कप्तान जयले दिएको पासलाई नियन्त्रणमा लिएपछि गरेको प्रहार गोलपोस्टभन्दा माथि गयो। पहिलो हाफ सकिनै लाग्दा पाएको फ्रिकिक पनि विंगर ओलौमौउले खेर फाले।

दोस्रो हाफको ५३ औँ मिनेटमा बिनोङले १८ यार्डभन्दा बाहिरबाट आक्रमण बुनेका थिए। तर उनको गोल गर्ने प्रयास सफल हुन सकेन। त्यसको केही मिनेटपछि उनले फ्रिकिक प्रहार गर्ने मौका पाएका थिए। तर बल गोलपोस्टमा ठोक्कियो। ८४ औँ मिनेटमा ओलौमौउले गोलरक्षकलाई ‘बिट’ गरेर प्रहार गर्न खोज्दा फ्रेन्ड्सका असिम बाधक बने।

गोल खानसाथ फ्रेन्ड्सले गोलको सुनौलो अवसर पाएको थियो। मिडफिल्डबाट आएको बल भेट्न दौडिएका फ्रेन्ड्सका राजेश परियार र श्यामबाबु क्याप्पछाकीले खुमलटारका रक्षकहरुलाई ‘बिट’ गरिसकेका थिए। तर दुई एकआपसमा झसक्किएपछि बल नियन्त्रणमा आएन र लामो दौड आक्रमणमा परिणत हुन सकेन।

फ्रेन्ड्सले दोस्रो हाफमा गोलका दुई अवसर खेर फाल्यो। विपक्षी खेलाडीहरूका बीचबाट लक्ष्मण रुचालले ओभरहेड किक प्रहार गरेका थिए। तर यो प्रहार खुमलटारका देव लिम्बुले पन्च गरेर बाहिर पठाइदिए। ७० औँ मिनेटमा लक्ष्मणको फ्रिकिकबाट आएको बल उत्तम राईले हेडर गरेका थिए। तर सिक्किमे फरवार्डको हेडर थोरैले आकाशियो।

फ्रेन्ड्सका प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो टिमले ओलौमौउ र बिनोङको दबाब खेप्न नसकेको बताए। ‘खुमलटारले विशेषगरी दोस्रो हाफमा हामीमाथि अत्यधिक दबाब सिर्जना गर्‍यो। उसका दुई विदेशी खेलाडी हाबी भइरहे। ती दुईबाहेक खुमलटारका अरु खेलाडीको प्रदर्शन हाम्रोभन्दा राम्रो थिएन,’ गत सिजन थ्रीस्टार क्लबलाई प्रशिक्षण दिएका उर्जनले भने।

फ्रेन्ड्सबाट खेल्न केही विदेशी खेलाडी आउँदै गरेकाले आगामी खेलमा प्रदर्शनमा सुधारिने विश्वास उनले व्यक्त गरे। ‘आज हाम्रो प्रदर्शन ठिकै थियो। तर बल पोसेसनमा कमजोर देखियौँ। रक्षात्मक आकार नबिगारी खेल्दाखेल्दै पनि अन्तिममा दुर्भाग्यवश गोल खान पुगियो,’ उर्जनले भने, ‘खुमलटारका लागि विदेशी खेलाडी निर्णायक साबित भए। हामी पनि केही विदेशी खेलाडी ल्याउँदैछौँ। त्यसपछि टिमको प्रदर्शन थप निखारिने आश छ।’

प्रकाशित: १९ फागुन २०७९ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =