मछिन्द्रले छाड्यो रेलिगेसन क्षेत्र, गहिरिँदै पुलिसको समस्या ; चर्च ब्वाइज शीर्षस्थानमा यथावत्

हिमाल प्रेस ३० फागुन २०७९ २२:२८
40
SHARES
मछिन्द्रले छाड्यो रेलिगेसन क्षेत्र, गहिरिँदै पुलिसको समस्या ; चर्च ब्वाइज शीर्षस्थानमा यथावत्

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यो सिजन सुरुवाती दुई खेल हार्ने तीन क्लबमध्येका हुन्, मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब। लगातारको दुई हारले मछिन्द्र र पुलिसलाई रेलिगेसन क्षेत्रमा पुर्‍यायो। तेस्रो खेलमा पुगेर पहिलो अंक बटुले पनि मछिन्द्र मंगलबारसम्म रेलिगेसनमै थियो।

दशरथ रंगशालामा मंगलबार आमनेसामने हुँदा मछिन्द्र र पुलिस दुवैको लक्ष्य उही थियो, पहिलो जित। यो लक्ष्यमा मछिन्द्र सफल भयो। लिगमा पहिलो जित हासिल गर्नसाथ मछिन्द्र १२ औँ स्थानमा उक्लिएको छ।

पछिल्ला दुई सिजन लिग जितेको मछिन्द्र यसपालि पहिलो खेलमा जावलाखेल युथ क्लबसँग ३–१ ले स्तब्ध बनेको थियो। दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएपछि मछिन्द्र अप्ठ्यारोमा पर्यो। तेस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेलेसँगै मछिन्द्रले पहिलो अंक कमायो।

त्यही एक अंकलाई जग मानेर अघि बढ्ने लक्ष्यमा रहेको मछिन्द्रले चौथो खेलमा यस्तो विपक्षीको सामना गर्नुपर्यो, जो लगातारको हारले रन्थनिएको थियो। जसरी भए पनि जित्ने लक्ष्यका साथ दशरथ रंगशाला पुगेको पुलिसले पहिलो हाफको नवौँ मिनेटमा अग्रता लियो। रविशंकर पासवानको क्रसमा अन्जन राईले गोल गरे।

सुरुका दुई खेलमा गोल खाएपछि पुनरागमन गर्न नसकेको मछिन्द्रले यसपालि भने लगातार दुई गोल फर्कायो। त्यो पनि पहिलो हाफमै। दुवै गोल अफिज ओलावाले ओलाडिपोले गरे।

‘वर्क पर्मिट’ नपाएका कारण तीन खेल गुमाएका ओलावालेका लागि यो पहिलो खेल थियो। पहिलो खेलमै प्रभाव जमाउने क्रममा उनले २० औँ मिनेटमा मछिन्द्रको गोलको खाता खोले। मछिन्द्रका लागि ‘टर्निङ प्वोइन्ट’ बनेको यो गोल सम्भव हुन धेरै पक्षको बराबर हिस्सा रह्यो। जस्तै, बक्समा ओलावाले जस्ता सेन्ट्रल फरवार्डको उपस्थिति, पुलिसका रक्षकले आफ्नो पेनालल्टी बक्सलाई सुरक्षित गर्न नसक्नु आदि।

मछिन्द्रको आक्रमण जापानी प्लेमेकर युटा सुजुकीबाट सुरु भएको थियो। तर उनको पासलाई सदुपयोग गर्दै उत्सव राईले गरेको प्रहार सन्तोष हेमरनले ब्लक गरे। रिबाउन्डमा आएको बललाई अभिषेक गुरुङले पुलिसको पोस्टमा फर्काए। यसपालि पुलिसका गोलरक्षक संजित श्रेष्ठ सही स्थानमा थिए। संजितले ब्लक गरेपछि बल ओलावालेको खुट्टामा पुग्यो। उनको प्रहार रोक्ने कोही भएन।

ओलावालेले गरेको दोस्रो गोल एक सेन्ट्रल फरवार्डको क्षमता झल्किने गोल थियो। सुजुकीबाटै आएको बललाई ओलावाले सुन्दर ढंगले नियन्त्रणमा लिए। उनको पहिलो टचले पुलिसका गोलरक्षक मंजित सजिलै बिट भयो। ओलावालेको दोस्रो टच गोलमा परिणत भयो।

नेपाली फुटबलमा स्थापित अफ्रिकी खेलाडीमध्येका एक ओलावालेको उपस्थिति मछिन्द्रका लागि निर्णायक साबित भयो। यो तथ्य मछिन्द्रका सहायक प्रशिक्षक सन्तोष न्यौपानेले सहजै स्वीकार गरे। ‘ओलावालेका कारण धेरै सजिलो भयो। हामी यो जितसँगै उपाधि दौडमा फर्किएका छौँ। हुन त सुरुका खेल हारे पनि हामीले उपाधि दाबेदार मान्न छाडेका थिएनौँ,’ सन्तोषले भने।

उता पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरेले पहिलो गोलले आफ्ना खेलाडीको आत्मविश्वास बढे पनि साना रक्षात्मक गल्तीका कारण गोल खाँदै हार व्यहोर्न बाध्य भएको प्रतिक्रिया दिए। यो हारपछि पुलिस १४ औँ स्थानमा यथावत् छ। लिगमा अंक जोड्न नसकेको टिम पुलिस मात्र हो।

यसैपालि मुख्य प्रशिक्षकका रुपमा लिगमा डेब्यु गरेका चेतन पुलिसले केही विदेशी खेलाडी ल्याउने तयारी गरिरहेको बताउँछन्। यद्यपि पुलिसले विदेशी खेलाडी ठ्याक्कै कहिले पाउँछ, टुंगो छैन। विदेशी खेलाडी नआइपुगे, चेतनसँग रहने विकल्प हो, भएका खेलाडीलाई उपयोग गरेर रेलिगेसनबाट बच्ने।

पुलिसले किन यति खराब प्रदर्शन गरिरहेको छ? सायद यसको जवाफ पुलिसको टिमको स्तरसँग जोडिएको छ। औसत खेलाडीले भरिएको पुलिसलाई लिग सुरु हुनुअघि नै रेलिगेसनमा पर्ने सम्भावित टिमको सूचीमा राखिएको थियो। चेतन आफैँले पनि पुलिसको प्राथमिक लक्ष्य रेलिगेसनबाट बच्ने भएको बताएका थिए।

यति हुँदाहुँदै पनि चेतनलाई सोधियो, पुलिस अहिले जुन अवस्थामा छ, यसबारे आकलन थियो? ‘चार खेलपछि हामी यत्तिको खराब स्थितिमा हुन्छौँ भनेर सोचेका थिएनौँ। हामीलाई लागेको थियो, खेलाडी पलायनको असर लगभग सबै टिमलाई परेको छ। यसले लिगको समीकरणमा फरक पार्नेछ,’ चेतनले भने।

पुलिसले अब आफ्नो पाँचौँ खेलमा एनआरटीको सामना गर्दैछ। तीन खेलबाट एक अंक बटुलेको एनआरटी पुलिससँग भिड्नुअघि बुधबार मनाङसँग प्रतिस्पर्धामा उत्रनेछ। एनआरटीसँगको खेल पुलिसका लागि ‘टर्निङ प्वोइन्ट’ बनाउने मौका हुनेछ। ‘हामी आफ्नो शैली छाड्दैनौँ। एनआरटीविरुद्ध पनि आक्रामक नै खेल्नेछौँ। जसरी हुन्छ तीन अंक बटुल्ने लक्ष्यका साथ मैदान उत्रनेछौँ,’ चेतनले भने।

मंगलबारका अन्य खेलमा फ्रेन्ड्स क्लबले जावलाखेललाई २–१ ले हराउँदा चर्च ब्वाइज युनाइटेड र संकटा क्लबले गोलरहित बराबरी खेले। फ्रेन्ड्सलाई पहिलो जित दिलाउन राफिक अमिनुले पहिलो हाफको १९ र प्रकाश बुढाथोकीले ४० औँ मिनेटमा गोल गरे। फोडे फोफानाले ८७ औँ मिनेटमा गोल गर्दै जावलाखेलको हार अन्तर घटाएका थिए।

दशरथ रंगशालामा यो जित हासिल गरेपछि फ्रेन्ड्स १० औँ स्थानमा उक्लिएको छ भने पहिलो पराजय भोगेको जावलाखेल सात अंकका साथ तेस्रो स्थानमा यथावत् छ।

एन्फा कम्प्लेक्सको मैदानमा संकटाका मनिष डाँगी पेनाल्टीमा गोल गर्नबाट चुकेपछि शीर्षस्थानको चर्च ब्वाइज हारबाट जोगियो। सुरुका तीन खेल जितेको चर्च ब्वाइजको चार खेलबाट १० अंक छ।

चर्च ब्वाइजलाई सातदोबाटो युथ क्लबले पछ्याइरहेको छ। सोमबार थ्रीस्टारसँग पराजित भए पनि सातदोबाटो नौ अंकका साथ दोस्रो स्थानमा छ। जम्मा एक खेल जितेको संकटा चार खेलबाट पाँच अंक जम्मा गरेर आठौँ स्थानमा छ।

प्रकाशित: ३० फागुन २०७९ २२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =