पुलिसलाई चर्च ब्वाइजको चिन्ता ; थ्रीस्टार र मनाङ चाहन्छन् आक्रामक सुरुवात

हिमाल प्रेस २० फागुन २०७९ ११:२७
28
SHARES
पुलिसलाई चर्च ब्वाइजको चिन्ता ; थ्रीस्टार र मनाङ चाहन्छन् आक्रामक सुरुवात

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन्। शुक्रबारबाट सुरु लिगको दोस्रो दिन नेपाल पुलिस क्लबले च्यासल रंगशालामा चर्च ब्वाइज युनाइटेडको सामना गर्दा नेपाल एपीएफ क्लब र थ्रीस्टार क्लबबीचको प्रतिस्पर्धा दशरथ रंगशालमा हुनेछ।

त्यसैगरी दिनको अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब दशरथ रंगशालामा आमनेसामने हुनेछन्।

तीन पटक लिग जितेको पुलिस गत सिजन चार अंकले रेलिगेसनबाट बचेको थियो। यसपालि पनि पुलिस रेलिगेसनबाट बच्न संघर्षरत रहने अनुमान छ। कुनै समय घरेलु फुटबलमा ‘स्टार’ मानिने खेलाडीले भरिने पुलिस अचेल औसत खेलाडीको भरमा छ।

पूर्वखेलाडी चेतन घिमिरेलाई मुख्य प्रशिक्षक बनाएको पुलिसका लागि नवप्रवेशी चर्च ब्वाइज हलुका विपक्षी हुनेछैन। आफूसँगै ‘बि’ डिभिजनबाट शीर्ष श्रेणीमा उक्लिएको खुमलटार युवा क्लबले सम्झनलायकको डेब्यु गरिसकेकाले चर्च ब्वाइज पनि उत्साहित भएको हुनुपर्छ।

विदेशी खेलाडी अनुबन्ध नगर्ने भएकाले पनि पुलिसका लागि लिगमा सशक्त टिमको परिचय पुनः स्थापित गर्न सजिलो छैन। ‘आन्तरिक प्रतिस्पर्धाबाट आएका खेलाडीलाई समेटर टिम निर्माण गरेका छौँ। यी खेलाडी युवा र अनुभवविहीन छन्। यसकारण यो सिजन हामीलाई सजिलो हुनेछैन,’ चेतनले भनेका छन्।

राष्ट्रिय टिमका अनन्त तामाङको कप्तानीमा मैदान ओर्लने चर्च ब्वाइजसँग २० वर्षमुनिको राष्ट्रिय टिमका कप्तान प्रशान्त लक्षम, युवा स्ट्राइकर आशिष चौधरी, आशिष चापागाइ लगायतका खेलाडी छन्। अन्जन विष्ट हाल आई–लिगमा व्यस्त रहेकाले यी दुई आशिषले चर्च व्वाइजको अग्रपंक्ति सम्हाल्नेछन्।

युवा तथा अनुभवी खेलाडी समिश्रण रहेको यो टिमलाई अधिकतम खेल जिताउने जिम्मा प्रदीप हुमागाईंको काँधमा छ। ‘टिम राम्रो बनेको छ। लिग अघि बढ्दै जाँदा हाम्रो प्रदर्शनमा पनि निखार आउँदै जानेछ,’ अन्तिम समयमा चर्च ब्वाइजको मुख्य प्रशिक्षक बनेका प्रदीपले भने।

यसअघिको सिजन छैटौँ स्थानमा सीमित भएको थ्रीस्टार क्लब पुनरुत्थानको अभियानमा छ। २०६० को दशकमा घरेलु फुटबलको सबैभन्दा उम्दा टिम दरिएको थ्रीस्टार पछिल्लो समय ‘फलन जायन्ट’ बन्ने खतरामा छ। यो खतरा टार्न थ्रीस्टारले मेघराज केसीलाई क्लब फर्काएको छ।

थ्रीस्टारले यसपालि आफ्नो टिमलाई अनुभवी, युवा र विदेशी खेलाडीको साथमा सन्तुलित बनाउने प्रयास गरेको छ। राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनलाई अनुबन्ध गरेको थ्रीस्टारको कप्तानी अर्का अनुभवी खेलाडी विक्रम लामाले गर्नेछन्। करियरको उत्तराद्र्धमा रहेका विक्रम मिडफिल्डबाट रक्षापंक्तिमा झरेका छन्।

रक्षापंक्तिमा उनले पिटर सेगुन, अशोक खवासलगायतलाई सघाउनेछन्। मिडफिल्डमा भने थ्रीस्टारले युवा तथा कम नाम चलेका खेलाडीलाई मौका दिएको छ। अग्रपंक्तिको जिम्मा लामो नेपाली फुटबलको गहिरो अनुभव भएका अजायी मार्टिन्ससँगै आशिष राईलाई लगाइएको छ।

विभागीय प्रतिद्वन्द्वीद्वय पुलिस र त्रिभुवन आर्मी क्लब नेपाली खेलाडीमाथि भरपर्दा एपीएफले भने चार विदेशी खेलाडी भित्र्याएको छ। सायद यही कारण हौसिएको एपीएफले उपाधि जित्ने लक्ष्य राखेको छ। ‘हामीलाई विदेशी खेलाडीको साथ छ। तयारी पनि राम्रो गरेका छौँ। पछिल्लो पटक हाम्रो सुरुवात केही सुस्त थियो। यसपालि हामी सुरुबाटै आक्रामक खेल्नेछौँ। ताकि उपाधि जित्न सकियोस्,’ एपीएफका मुख्य प्रशिक्षक रत्नकाजी महर्जनको जिकिर छ।

२०७६ मा मछिन्द्र क्लबले लिग जित्दा उसलाई नजिकबाट पछ्याउने दुई क्लब थिए, आर्मी र मनाङ। त्यस सिजनले दिएको केही सन्देशमध्येको एक थियो, नेपाली फुटबलमा अब नयाँ ‘बिग थ्री’ समीकरण स्थापित हुन लागेको छ। ‘बिग थ्री’ का सदस्य मछिन्द्र, आर्मी र मनाङ थिए।

तर २०७८ मा मनाङ पाँचौँ स्थानमा सीमित भयो। लिग उपविजेता बनेको आर्मीसँग मनाङको दूरी दुई अंकको मात्र भए पनि च्याम्पियन मछिन्द्र भने १४ अंकले अघि रह्यो।

यसपालि मनाङलाई उपाधि दाबेदार मानिएको मछिन्द्रलाई टक्कर त दिनु नै छ, सँगसँगै अरु खर्चालु टिमको चुनौती पनि पन्छाउनु छ। मछिन्द्रको उदयअघि लगातार दुई पटक लिग जितेको मनाङले यो सिजनका लागि घरेलु फुटबलका स्टारभन्दा युवा खेलाडी रोजेको छ। अनि विदेशी खेलाडी निर्णायक बन्ने अपेक्षा राखेको छ।

मनाङले नयाँ सिजनका लागि बार्सिलोनाको ला मासिया एकेडेमीका उत्पादन डियावान्डौँ डियाग्ने, उज्वेकिस्तानको उमेर समूहका टिमबाट खेलिसकेका साइदजामोल डाब्लाजोनोभ, आई–लिग खेलेका याश मात्रे लगायतलाई अनुबन्ध गरेको छ।

कम्तीमा शीर्ष चारमा पर्ने लक्ष्य राखेको मनाङले नयाँ सिजनको आफ्नो पहिलो खेलका लागि पाएको विपक्षी हो, हिमलयन शेर्पा। यी दुई टिम केही समयअघि हेटाडौँमा आयोजित मकवानपुर गोल्डकपको उपाधिका लागि भिडेका थिए। जसमा मनाङ विजयी भएको थियो। दशरथ रंगशालामा हिमालयन शेर्पाको सामना गर्दा मनाङको उद्देश्य, लगातार दोस्रो जित हुनेछ।

शनिबारको खेल :
नेपाल पुलिस क्लबविरुद्ध चर्च ब्वाइज युनाइटेड क्लब, च्यासल रंगशाला, २ः३० बजे
नेपाल एपीएफ क्लबविरुद्ध थ्रीस्टार क्लब, दशरथ रंगशाला, २ः३० बजे
मनाङ मस्र्याङदी क्लबविरुद्ध हिमालयन शेर्पा कलब, दशरथ रंगशाला, ५ः३० बजे

प्रकाशित: २० फागुन २०७९ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =