गठबन्धन उम्मेदवारका पक्षमा परिचालित हुन पाँच दलको आह्वान

हिमाल प्रेस २१ चैत २०७९ १७:४८
20
SHARES
गठबन्धन उम्मेदवारका पक्षमा परिचालित हुन पाँच दलको आह्वान

काठमाडौँ– पाँच दलीय गठबन्धनले उपनिर्वाचनका लागि  गठबन्धनका उम्मेदवारका पक्षमा जनपरिचालन गर्न आह्वान गरेको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी नेपालका अध्यक्ष महन्थ ठाकुरले मंगलबार संयुक्त रूपमा विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन्।

उनीहरूले भनेका छन्, ‘गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आआफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौँ।’

वैशाख १० गतेका लागि तोकिएको उपनिर्वाचनमा गठबन्धनका तर्फबाट तनहुँ-१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन-२ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र बारा जिल्ला निर्वाचन-२ मा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव मैदानमा छन्।

नेताहरूले गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रूपमा परिचालित हुन निर्देशन दिएका छन्। यसका लागि गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था/संगठनका प्रतिनिधि तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नसमेत उनीहरूले आग्रह गरेका छन्।

गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उपनिर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी गर्न पनि उनीहरूले आह्वान गरेका छन्।

प्रकाशित: २१ चैत २०७९ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =