जाग्याे संकटाको लिग उपाधि आशा, पुलिस जस्ताको त्यस्तै

हिमाल प्रेस २० चैत २०७९ २१:०५
20
SHARES
जाग्याे संकटाको लिग उपाधि आशा, पुलिस जस्ताको त्यस्तै

काठमाडौँ- फिफा विश्राम सकिएपछि पुनः सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा सोमबार संकटा क्लबले खुमलटार युवा क्लबलाई १-० ले पराजित गरेको छ। एन्फा कम्पलेक्सको मैदानमा संकटालाई जित दिलाउन जुनियर ओंगुएने एन्केन्गुले पहिलो हाफको २७ औँ मिनेटमा गरेको गोल पर्याप्त रह्यो।

खुमलटारका राजीव लोप्चनले मिसपास गर्नु संकटाले ‘गोलमुभ’ बनाउनुको कारण रह्यो। राजीवले गरेको मिसपासबाट बल संकलन गरेका रोशन पहरीले गणेश हमालका लागि पास निकालेका थिए। गणेशको प्रहार खुमलटारका गोलरक्षक देव लिम्बुले बचाए पनि रिबाउन्डमा आएको बललाई एन्केन्गुले गोलमा परिणत गरेका थिए।

जितपछि संकटा छैटौँ स्थानमा उक्लिएको छ। पछिल्ला दुई खेल बराबरीमा टुंग्याएको संकटाका लागि यो दोस्रो जित हो। अब संकटासँग ६ खेलबाट नौ अंक भएको छ। पाँचौँ स्थानमा नेपाल एपीएफ क्लब छ।

सोमबार नै भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई पराजित गरेपछि एपीएफको १० अंक भएको हो। जुन एपीएफभन्दा एक खेल कम खेलेको जावलाखेल युथ क्लबसँग बराबर हो। गोल अन्तरमा जावलाखेलभन्दा एक स्थानभन्दा माथि रहेको हो। पुलिस भने पुछारमा छ। ६ खेल खेलिसक्दा पुलिसको खातामा एक अंक छ।

‘जितले आत्मविश्वास बढेको छ’
उपाधि जित्ने लक्ष्य बनाएको संकटा पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग १-० ले पराजित संकटाले सामना गर्नु परेको अर्को झट्का थियो, खेलाडी पलायन। कप्तान सुनिल बल पहिलो खेल खेलेर विदेसीए। त्यसपछि फुलब्याक सरोज दाहाल नयाँ कप्तान बने।

सुनिलको अनुपस्थितिमै तेस्रो खेलमा नेपाल पुलिस क्लबविरुद्ध तीन गोल गरेको संकटा त्यसपछिका दुई खेलमा भने रोकियो। नवप्रवेशी चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्न बाध्य भयो। छैटौँ खेलमा आइपुगेर संकटाले दोस्रो जित दर्ता गरेको हो।

यसरी विजय हासिल गर्दा संकटाले नयाँ सिजनका लागि बनाएको दोस्रो कप्तान थिएनन्। सरोज लिगको पाँचौँ चरण सकेर अस्ट्रेलिया लागेका थिए। यसरी एकपछिअर्को मुख्य खेलाडी गुमाएको संकटाले लिग च्याम्पियन बन्ने धोको छाडेको छैन। बरु यो जितले आफूहरूको आत्मविश्वास बढेको संकटाका मुख्य प्रशिक्षक सल्यान खड्गीको भनाइ थियो।

‘सुरुवाती खेलहरूमा सोचे अनुसारको नतिजा आएन। तर पनि हामीले आफूलाई लिग उपाधि दाबेदार मान्न छाडेको छैन। आशा छ यो जितले हामीमा आत्मविश्वास जगाउनेछ,’ सल्यानले भने।

सल्यानले सोमबारको खेलमा दुवै टिमले उही स्तरको प्रदर्शन गरेको बताए। ‘पहिलो हाफ हामीले र दोस्रो हाफ खुमलटारले नियन्त्रणमा राख्यो। पहिलो हाफ नसकिँदै गोल गरेकाले दोस्रो हाफमा त्यसलाई जोगाउनु थियो। त्यसकारण हामीले दोस्रो हाफ रक्षात्मक भएर खेल्यौँ। हामीलाई गोल अन्तर बढाउनुभन्दा जसरी हुन्छ तीन अंक बटुल्नु थियो,’ सल्यानको भनाइ थियो।

खुमलटारका सहायक प्रशिक्षक महेश श्रेष्ठले पाएको मौकामा गोल गर्न नसक्दा हार व्यहोर्नु परेको प्रतिक्रिया दिए। ‘पहिलो हाफमै हामीले पाँच-छ पटक गोलका अवसर सिर्जना गरेका थियौँ। तर फिनिसिङ फितलो भयो,’ महेशले भने।

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको खुमलटारका लागि यो लगातार दोस्रो हार हो। खुमलटारले फ्रेन्ड्स क्लबमाथि १-० को जित हासिल गरेर शीर्ष श्रेणीको लिग यात्रा सुरु गरेको थियो। त्यसपछि चर्च ब्वाइज र थ्रीस्टार क्लबसँग पराजित खुमलटारले चौथो खेलमा हिमालयन शेर्पालाई पन्छाएको थियो।

फिफा विश्रामअघि सातदोबाटो युथ क्लबसँग पराजय भोगेको खुमलटार चौथो पराजयपछि अंक तालिकाको मध्यतिर अड्किएको छ। लगातारको हारले खुमलटारको उपाधि जित्ने लक्ष्यमा असर गरेको महेशले स्वीकार गरे। तर अझै निकै खेल बाँकी रहेकाले उपाधि होडमा पुनरागमन गर्न सकिने आश महेशले व्यक्त गरे।

पुलिसको खराब लय निरन्तर
च्यासल रंगशालामा विभागीय प्रतिद्वन्द्वी पुलिसलाई २-० ले पन्छाउन एपीएफका हरि कार्कीले ५८ औँ मिनेट र सविन गुरुङले आतिरिक्त समयमा गोल गरेका थिए। एपीएफका लागि यो ६ खेलमा तेस्रो जित हो। फिफा विश्रामअघि मनाङसँग १-० ले हारेको एपीएफ छैटौँबाट पाँचौँ स्थानमा उक्लिएको छ।

लिगको पाँचौँ चरण सकिँदा सबैभन्दा खराब प्रदर्शन गर्ने टिम थियो, पुलिस। यसकारण दुई साताको ‘फिफा ब्रेक’ सबैभन्दा बढी पुलिसलाई नै चाहिएको थियो। ताकि टिमलाई ‘रिसेट’ गर्न सकियोस्। फेरि लिगमा विश्राम हुनुअघि न्युरोड टिम (एनआरटी) सँग बराबरी गरेका कारण पनि पुलिसले बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्ला कि भन्ने केही न केही आशा थियो। तर विश्रामपछि पनि पुलिसको प्रदर्शन उस्तै देखियो।

दुई साताअघि एनआरटीसँगको बराबरीमा पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरेले जुमानु राई र सुमन सुवेदीलाई मैदान छिराएका थिए। सोमबारको खेलमा जुमानुसँगै अर्का भेट्रान खेलाडी भोलानाथ सिलवाल पनि सब्स्टिच्युट बनेर मैदान प्रवेश गरेका थिए। यद्यपि पुलिसले हार टार्न सकेन।

प्रकाशित: २० चैत २०७९ २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =